अब कुखुराकाे सुलीबाट बिजुली

मासुका लागि कुखुरापालन व्यवसाय फस्टाइरहेका अब सुलीबाट बिजुली पनि निकाल्न थालिएको छ । सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएका बेला अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ ।

सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौती रहेपछि त्यसबाट जैविक मलसँगै ग्यास र विद्युत् उत्पादन गरेर स्याङ्जाका एक व्यवसायीले नेपालमै पहिलो उदाहरण प्रस्तुत गरेका छन् ।

पुतलीबजार नगरपालिका -४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमिटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्टबाट ४०० किलोवाट विद्युत् उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ ।

एग्रो फर्मबाट निस्केको सुलीको व्यस्थापन गर्न र प्लान्टका लागि आवश्यक ऊर्जा व्यवस्थापन गर्न पावर प्लान्ट सञ्चालनमा ल्याएको प्लान्टका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले बताए।

३५ रोपनी क्षेत्रफलमा बनाएको बायोग्यास प्लान्टमा फिडिङ, ग्यास डाइजेस्टर, फटिलोरी टयाङ्क, बी क्यान्टर निर्माण गरिएको छ । जसबाट मल फिट्ने, ग्यास बनाउने, बिजुली निर्माण, बाँकी रहेको मल सुकाउने र मललाई प्याकिङ गर्ने काम सहज भएको छ ।

झण्डै २५ करोडको लगानीमा स्थापना भएको यस प्लान्टबाट दैनिक एक हजार २०० किलो बायोग्यास, ४०० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन हुने गरेको छ । भिरकोट नगरपालिका-७ मा रहेको खिलुङकालिका कुखुरा फर्मबाट ल्याइएको कुखुराको सुली नै यस बायोग्यासको मुख्य कच्चा पदार्थ हो ।

यसबाहेक गाईभैँसीको मल र खेर गएका तरकारी र अन्य जैविक पदार्थलाई पनि राख्ने गरिएको बताइएको छ । दुई लाखभन्दा बढी कुखुरा रहेको एग्रो फर्मबाट दैनिक निस्कने १२ टन कुखुराको सुली कच्चा पदार्थको मुख्य स्रोत रहेको प्लान्टलाई चार टन गाईभैँसीको मल र दैनिक करिब दुई टन जैविक पदार्थको मिश्रणपछि तीनथरिका वस्तु उत्पादन भएको ढकालले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here