कर्णालीमा व्यावसायिक फलफूल खेती

मध्य र सुदूर पश्चिमका जुम्ला, मुगु, मुस्ताङ, बझाङ, कालिकोट, हुम्लासहितका जिल्लाहरूमा पछिल्ला केही वर्षयता व्यावसायिक स्याउ खेती फस्टाउँदै गएको छ ।विगत लामो समयदेखि कर्णालीको विकास र त्यहाँका आर्थिक पछौटेपनबारे विभिन्न किमिसका बहस भइरहेका छन् । विशेषतः हिउँदयाममा कर्णालीसहित मध्य र सुदूर पश्चिमका उच्च पहाडी भूभागमा खाद्यान्नको अभाव चर्कने गरेको छ ।

त्यहाँको खाद्यान्न अभाव पूर्ति गर्न दशकौंदेखि राज्यले अनुदानको चामल हेलिकप्टर, प्लेन वा गधा–खच्चरलाई बोकाएर त्यहाँ लगेर बाँडिँदै आएको छ । यसका साथै विश्व खाद्य कार्यक्रमसहित दातृ निकायहरूमार्फत पनि कामका लागि खाद्यान्नसहितका कार्यक्रमहरूबाट त्यहाँ खाद्यान्न बाँड्ने काम हुँदै आएको छ । आफ्नो खेतीपाती र आयले वर्षभरि खान नपुग्ने भएकाले मध्य तथा सुदूर पहाडी जिल्लाहरूमा विगत लामो समयदेखि नै मौसमी रोजगारीका लागि भारत पस्ने चलन रहँदै आएको छ ।

त्यस क्षेत्रबाट अल्पकालीन आप्रवासनमा जाने नेपालीहरू दिल्लीमा चौकीदारी गर्नेदेखि लिएर सिमलामा स्याउ टिप्नेसम्म काम गर्छन् । मध्य र सुदूर पश्चिमी क्षेत्रको गरिबीलाई लिएर अहिलेसम्म चलेका कार्यक्रमहरू कतिको प्रभावकारी भए र तिनले के–कस्ता प्रतिफल दिन सके भन्ने विषयमा अब गम्भीरतापूर्वक पुनरावलोकन गरिनु जरुरी भइसकेको छ । समस्या भौगोलिक अवस्था होइन, लक्षित कार्यक्रमहरू कुन ढंगले सञ्चालन गरिए भन्ने कुराले विशेष महŒव राख्छ । यदि कसैलाई गरिबीबाट उकास्नु छ भने माछा बाँड्ने होइन, माछा मार्ने कला सिकाऊ भन्ने चिनियाँ भनाइ कर्णालीसहितका मध्य तथा सुदूर पश्चिमी क्षेत्रमा सञ्चालित कार्यक्रमहरूसँग सोझै मिल्छ । त्यस क्षेत्रमा अनुदानको चामल बाँड्ने प्रवृत्तिले त्यहाँका जनतालाई उल्टै परनिर्भर मात्र बनायो । जुम्लाको मार्सी धान नै अहिले खेती हुन छाडेर लगभग लोप हुनै अवस्थामै पुग्नु यसको उदाहरण हो ।

मध्य तथा सुदूर पश्चिमी क्षेत्रको समस्या भनेको उत्पादन नै नहुने समस्या भने होइन । परम्परागत कृषि उत्पादनलाई विविधीकरण गर्न नसक्नु र नयाँ उत्पादनलाई व्यावसायिक बनाउन नसक्नु नै त्यहाँको समस्या देखिएको छ । कृषि मन्त्रालयअन्तर्गत विगत लामो समयदेखि वागबानी विकास केन्द्र खोलिए पनि उक्त केन्द्रमार्फत देशका विभिन्न स्थानमा बागबानी विकासका कार्यक्रम लगिए पनि भौगोलिकताअनुसारको नहुँदा यस्ता कार्यक्रमहरू सफल नभएको देखिन्छ । नमुनाकै रूपमा भए पनि सिन्धुलीमा सुरु गरिएको जुनार खेती, जुम्लाको स्याउ खेतीसहित विभिन्न जिल्लामा सञ्चालित फलफूल खेतीहरूको सफलताबाट पाठ सिक्नुपर्ने बेला भएको छ ।

मध्य र सुदूर पश्चिमका जुम्ला, मुगु, मुस्ताङ, बझाङ, कालिकोट, हुम्लासहितका जिल्लाहरूमा पछिल्ला केही वर्षयता व्यावसायिक स्याउ खेती फस्टाउँदै गएको छ । जसले त्यस क्षेत्रका कृषकको आयस्तर मात्र वृद्धि गरेको छैन, रोजगारीका लागि कालापहाड जानुपर्ने बाध्यता पनि कम गर्न थालेको छ । यद्यपि अझै पनि त्यस भेगमा उत्पादित स्याउले व्यावसायिक बजार पाउन सकेको छैन ।

उत्पादित स्याउ न्यून मूल्यमा बिक्री गर्नु परिरहेको वा त्यसै खेरफाल्नु परिरहेको अवस्थामा काठमाडौंलगायतका प्रमुख सहरी क्षेत्रहरूमा भने भारत, चीनदेखि अन्य मुलुकबाट आयात गरिएको स्याउ खपत हुने गरेको छ । अहिले सडक यातायातले अधिकांश स्थानलाई जोडिसकेको परिप्रेक्ष्यमा त्यहाँ उत्पादित स्याउसहितका अन्य फलफूल नजिकको सुगम स्थानमा शीतभण्डार बनाई सहरी बजारहरूमा आपूर्ति गरिनु आवश्यक भइसकेको छ ।

error: Content is protected !!