गहुँ बालीमा लाग्ने प्रमुख रोगहरु र तिनको व्यवस्थापन

  • 2.3K
  •  
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

नेपालमा क्षेत्रफल एवं उत्पादनका हिसाबले धान, मकै र गंहुलाई प्रमुख खाद्यान्न बालीको रुपमा लिइन्छ । हाम्रो देशमा पछिल्लो आंकडा (आ.व.  २०७५/७६) लाइ हेर्दा धान, मकै र गंहु क्रमशः  १४ लाख ९१ हजार ७ सय चौवालीस, ९ लाख ५६ हजार ४ सय सच्चालिस र ७ लाख ३९ हजार ९२ हेक्टर जमिनमा खेती गरिन्छ भने यीनीहरुको औषत् उत्पादन क्रमशः ३.७७, २.८४ र २.८५ मे.ट. प्रति हेक्टर छ, जुन अन्य देशहरुको तुलनामा साह्रै न्यून मानिन्छ । यी बालीमा पनि विभिन्न प्रकारका रोग–कीराहरुले आक्रमण गर्ने गर्दछन् जसले गर्दा बालीको उत्पादन र उत्पादित फसलको गुणस्तरमा नकारात्मक प्रभाव पारेको देखिन्छ ।

यी समस्याहरु समाधान गरीे उत्पादन बढाउन साथै आर्थिक लाभ लिनका लागि गर्नुपर्ने कर्महरु मध्ये बालीमा लाग्ने प्रमुख रोग किराहरुको चिनारी, क्षतीको मात्रा पहिचान, स्थानीय स्तरमा उपलब्ध वैकल्पिक बाली संरक्षणका उपायहरु पहिचान गरी प्रयोग गर्ने साथै आवश्यकता अनुसार उपयूक्त विषादीको छनोट गरी सही तरिकाबाट प्रयोग गर्नु इत्यादी महत्वपूर्ण छन । रोग–कीराको आक्रमणबाट बाली–नालीमा पर्ने असर, समय र स्थान अनुसार फरक फरक पर्न सक्दछ ।

बाली–विरुवामा लाग्ने रोगको मानव जीवनमा आफ्नै छुट्टै महत्व रहँदै आएको छ । यसको कारण संसारमा पटक–पटक मानिसले ठूलो क्षती तथा दुःख भोग्दै आएको तथ्य हामी सामु छर्लङ्ग छ । विशेष गरी खाधान्न बालीमा धेरै जसो ढुसी जन्य रोगहरुले आक्रमण गरेको पाइन्छ भने केही मात्रामा साकाणु (व्याक्टेरीया), विषाणु (भाइरस) र जुका (निमाटोड) ले पनि आक्रमण गर्दछन् ।

रोग

कुनै प्राथमिक कारणहरुले गर्दा लगातार रुपमा उत्पन्न हुने गडवडी, जसले गर्दा जव कुनै जिवित वस्तुमा हुनुपर्ने एक वा धेरै प्रकृया (शक्ति उपयोग) मा हानिकारक परिवर्तन आउँछ, त्यसलाइ नै रोग भनिन्छ ।

बिरुवामा रोग कसरी लाग्छ ?

१.शक्तिशाली रोग

कारक तत्वहरुको उपस्थिति (Virulent pathogen)
– ढुषि (Fungus)
– जिवाणु ( Bacteria)
– विषाणु ( Virus)
– जुका ( Nematode)

२.उपयूक्त वातावरण (Favorable environment)
-तापक्रम (Temperature)

– सापेक्षिक आद्रता (Relative Humidity)
– बर्षा (Rainfall)
– सुर्यको प्रकाश (Solar Radiation)

३. संक्रमित बिरुवा (Susceptible Host)

उत्पादन तह

१) सिंदुरे रोगहरु ( Rusts)
क) पहेंलो सिन्दुरे (Yellow rust or stripe rust)

ख) खैरो सिन्दुरे (Brown rust or orange rust)

ग) कालो सिन्दुरे  (Black rust or stem rust)

रोगको कारणः पहेंलो सिन्दुरे रोग (Puccinia striiformis) ढुसीको कारणले गर्दा लाग्दछ । यो रोग पहाडी क्षेत्रमा बढी लाग्दछ । अगौटे गहुँबालीमा यो रोग तराई क्षेत्रमा पनि लाग्दछ । खैरो सिन्दुरे रोग (Puccinia recondita f.sp. tritici) नामको ढुसीको कारणले गर्दा लाग्दछ । यो रोग विशेष तराई क्षेत्रमा बढी लाग्दछ तापनि तराईको जस्तै गर्मी हावापानी भएका पहाडका बेंसी र टारहरुमा पनि देखिन सक्दछ । र कालो सिन्दुर रोग (Puccinia graminis tritici) ढुसीको कारणले गर्दा लाग्दछ । यो रोग ढिला पाक्ने जातमा र पछौटे गहुँमा मात्र क्षति गर्न सक्छ ।

प्रमुख लक्षणहरुः

पहेंलो सिन्दुरे (Yellow rust or stripe rust)

 पातमा साना, अण्डाकार, र कागती पहेंला रङ्गका फोकाहरु लामा धर्सा वा पङ्क्तिका रुपमा देखा पर्दछ । यसैले यसलाई धर्के सिन्दुरे पनि भनिन्छ ।
 पङ्क्तिका फोकाहरु पृथक्पृथक् (आपसमा नजोडिएको) रहेका हुन्छन् । यो रोग लागेका पातको हरियो रङ्ग क्रमशः मासिदै जान्छ ।
 पहेंलो सिन्दुरेका फोकाहरु अन्य सिन्दुरे झै छिट्टै फुटदैनन् तर फोका फुटेपछि पहेलो रङ्गको बीजाणुयुक्त धुलो प्रकट हुन्छ जुन हावाको माध्यमद्वारा चारैतिर पैmलिन्छ ।
 कालान्तरमा बालीको पछिल्लो अवस्थामा पातको तल्लो सतहमा वा अन्य भागमा निस्तेज कालो रङ्गका थोप्ला वा फोका देखिन्छन् ।
 यस रोगको ब्यापक प्रकोप भएमा पातहरु क्षतिग्रस्त हुन्छन्, ज्यादै चाउरिएका दाना लाग्ने हुनाले उब्जनी हस हुन्छ ।

खैरो सिन्दुरे (Brown rust or orange rust)

 यो रोग लाग्दा सुरु सुरुमा पातको माथील्लो सतहमा स–साना गोलाकार सुन्तला वा खैरो रंगका फोकाहरु छरिएर वा थोरथोरैको समुहमा निस्कन्छ ।
 खैरो सिन्दुरेका फोकाहरु पहेंलो सिन्दुरेका भन्दा अलि ठुला हुन्छन् ।
 फोका सुन्तले रङ्गका हुन्छन र पछि खैरा रङ्गका बन्छन् ।
 पछि ती फोकाहरु फुटेपछि पातको माथिल्लो सतहमा टल्कने सुन्तले रङ्गको धुलो देखा पर्छ ।
 यो रोगको प्रकोप बढि भएमा बाला निस्कन र बाली पाक्न बढी समय लाग्छ ।

कालो सिन्दुरे (Black rust or stem rust)

 रोगी बिरुवाको बिशेषतः डाँठमा र सामान्यतः पातको सतहमा खैरा वा राता खैरा रङ्गका लाम्चा फोका प्रकट हुन्छन् ।
 यी लाम्चा फोकाहरु एकआपसमा जोडिएका वा एकअर्कालाई नाघेका हुन्छन् ।
 यस बीजाणुले भरिएका फोका प्रारम्भिक अवस्थामा नै फुट्दछन् र खैरो धुलोका रुपमा अनेकौं बीजाणु युक्त हुन्छन् ।
 ब्यापक प्रकोप भएमा पात टाढैबाट स्पष्टतः खैरा देखिन्छन् ।
 रोगको उग्रप्रकोप भएमा बिरुवा रोगी देखिन्छन्, बाला उत्पन्न हुदैनन् वा चाउरिएका र हलुका दान लाग्छन् ।

व्यवस्थापन विधि
 रोग अवरोधक जातहरु जस्तैः भृकुटी, अन्नपूर्ण –१,३,४, त्रिवेणी, भाष्कर, एन.एल. ६६५, ७६४ र वि.एल.१५३० आदी लगाउने ।
 सामान्यतया सिफारीस गरेको समय भन्दा १५ दिन अगाडी गहूं छर्नाले रोगको प्रकोप कम हुन्छ ।
 संवेदनसिल समयमा मात्र सिंचाई गर्ने र नाइट्रेजन युक्त मलको प्रयोग ठिक मात्रामा गर्नाले पनि रोग प्रकोप कम हुन्छ ।
 खडा बालीमा यो शुरुको अवस्थामा रोग नियन्त्रण गर्न म्याङ्कोजेब (Endofil M-45) वा जिनेव (Dithane M-78) को ०.२५% घोलमा ०.१%का दरले छर्कनुपर्छ र पछिल्लो अवस्थामा वाइलेटन विषादी २ ग्राम प्रति लि. पानीमा राखी छर्नाले रोग नियन्त्रण हुन्छ । बीउ बालीमा ०.०७५% टिल्ट (Propiconalzole) रोग देखा पर्नासाथ छर्नाले रोगको प्रभाबकारी नियन्त्रण हुन्छ ।

२) खराने ढुसी रोग  (Powdery mildew)

यो रोग इराइसीफे ग्रामीनीस ट्रिटिसी (Erysiphe graminis tritici) नामको ढुसीको कारणले गर्दा हुन्छ । यो रोग विशेष गरी पहाडी क्षेत्रमा बढी देखिन्छ । यो रोग वाला लाग्नु भन्दा अगाडी लागेमा वाला नलाग्ने, लागे पनि सानो हुने र भएका वालामा पनि दाना स–साना लाग्दछन् ।

लक्षणहरु
 यो रोग लाग्दा विरुवाको पातको माथील्लो सतहमा खरानी छरे जस्तो गरी ढुसीका बीउहरु प्रसस्त देखिन्छन् । प्रकोप बढ्दै गएपछि जरा भन्दा माथीको सम्र्पुण भाग सेतै हुन्छ ।
 बिरुवाको सतहमा धुलो (पाउडर) जस्तो ढुसी बिकसित हुन्छ । सुरुमा ढुसीको रङ्ग सेतो त्यसपछि खरानेदेखि रातो–खैरो रङ्गको देखिन्छ ।
 रोगी बिरुवाको बृद्धि रोकिन्छ, पातको सङ्ख्या र साइज न्यून रहन्छ, पातहरु झर्छन् र नझेरेका पात खुम्चिएका वा विकृत हुन्छन् ।
 दाना चाउरिएका हुन्छन् र उत्पादन कम हुन्छ ।

व्यवस्थापन विधि
 गहुँ काटेपछि बाली अबशेष जलाएर नष्ट गर्ने ।
 रोग अबरोधक जातहरु जस्तै अच्युत, रोहिणी, बीएल १४७३, अन्नपुर्ण १ र ४, डब्लुएच ५४२ आदी लगाउने ।
 यो रोग मुख्यतया हावावाट एक वोटवाट अर्कोवोटमा सर्दछ तापनि वाला लाग्ने बेलामा वालामा पनि आक्रमण भएमा बीउवाट पनि एक पुस्तावाट अर्को पुस्तामा सर्ने भएकोले स्वस्थ बीउ प्रयोग गर्नु नै सर्वोत्तम उपाय हो ।
 गहँु बाक्लो रोपेमा ओसिलोपनाका कारण रोग बढ्ने सम्भावना हुन्छ । यस कारण गहुँ पङ्क्तिमा र उचित दुरीमा राप्ने र सन्तुलित मात्रामा मलखाद प्रयोग गर्ने ।
 यस वाहेक रोगको सुरु सुरुको अवस्थामा गाई, भैसीको गहुँतमा ४ र ३ भाग पानी मिसाई छरेमा पनि रोगको प्रकोप घट्दछ ।
 खडाबालीमा रोग नियन्त्रण गर्न रोगको प्रथम लक्षण देखिनासाथ ५०० ग्राम बेलेटन प्रतिहेक्टरका दरले १००० ली. पानीमा मिसाएर छर्ने वा क्याराथेन विषादी १ की.ग्रा. वा सल्फेक्स २.५ की.ग्रा. प्रतिहेक्टरका दरले १०–१५ दिनको अन्तरालमा आबश्यकता अनुसार छर्ने ।

३) कालो पोके रोग (Loose smut)

रोगको कारणः अस्टीलागो नुडा ट्रिटीसी (Ustilago nuda tritici) नामको ढुसीको कारणले गर्दा हुन्छ । यो रोग प्रमुख रुपमा बीउवाट एक पुस्तावाट अर्को पुस्तामा सर्दछ । उही बालीमा भने हावाको माध्यम वाट रोगी वोटवाट निरोगी बोटमा सर्दछ ।

लक्षण
 नेपालमा विउको उपचार नगरेको अवस्थामा यस रोगले ४०% सम्म नोक्सानी गरेको पाइएको छ
 यो रोगले ग्रसित विरुवाहरु वाला नआउन्जेल सम्म चिन्ह सकिंदैन ।
 धेरैजसो जातहरुमा बाहीरी देखावट र बृद्धिमा केही फरक पाइदैन ।
 आर.आर.२१ जातमा भने केही लक्षण देखिएको हुन्छ जुन अनुभबी व्यक्तिले मात्र छुट्याउन सक्दछ जस्तै, पातहरुमा लाम्चा धर्साहरु, बोटको उचाइमा कमी, गांजको संख्यामा कमी आदी देख्न सकिन्छ ।
 वाला निस्केपछि वालामा दाना लाग्नुको सटृा कालो रंगको धूलो ढुसी पातलो झिल्लीले ढाकेको हुन्छ । जब हावा चल्छ तब उक्त झील्ली फुटेर हावामा तैरिन्छ र अरु वाला मा ढुसीको विउ खसेर अर्को पुस्ताको लागी विउमा आन्तरीक वा बाह्य रुपमा विउमा स्थापीत हुन्छ ।
 यसरी रोगले ग्रस्त वालामा सबै ढुसीको विउ उडेर नाङ्गो हुन्छ । दाना लागेको हुंदैन ।

व्यवस्थापन विधि
 रोग अवरोधक जातहरु जस्तै अन्नपूर्ण ३, ४ भी.एल. ४२१ लगाउने ।
 रोगरहित प्रमाणीत बीउमात्र लगाउने ।
 यस रोग नियन्त्रणको लागि सबैभन्दा प्रभावी उपाय बीजोपचार नै हो । विउलाई भाइटाभेक्स (Carboxin 75 WP) वा बेभिष्टिन (Carbendazim) २.५ ग्रा. प्रति की.ग्रा. बीउका दरले उपचार गरेर मात्र लगाउने ।
 बीउ उत्पादन क्षेत्रमा यस रोगको प्रकोप नियन्त्रण गर्ने ।
 खडा बालीमा नियमित अबलोकन गरेर रोगी बाला देख्नेबित्तिकै त्यसलाई कागजको थैलोमा बन्द गरेपछि चुँडालेर खेतबाहिर ल्याई जलाएर वा गाडेर नष्ट गर्नुपर्दछ । रोगी बालाबाट कालो धुलो उडेर यताउति पैmलिन दिनु हुदैन । रोगी विरुवा उखेलेर नष्ट गर्दा विहानको समयमा राम्रो हुन्छ

४) हेल्मिन्थोस्पोरियम पातडढुवा रोग (Helminthosporium leaf blight)

रोगको जिवाणुः

हेल्मिन्थोस्पोरियम सटीभम (Helminthosporium sativum ) नामको ढुसीको कारणले गर्दा हुन्छ । हाम्रो देशमा यो गहुँको मुख्य रोगको रुपमा देखा परेको छ । यो रोग बिशेषतः तराई, भित्री मधेस र बेंसी क्षेत्रमा र सामान्यतः २३०० मी. उचाईसम्मका पहाडी क्षेत्रमा देखा पर्दछ । यसको प्रकोपले उब्जनी ३०% सम्म घट्न सक्छ ।

रोगका लक्षणहरु
 बेर्ना अवस्थामा अङ्कुरणपछि कलिला बिरुवा कुहिने र ठुला बिरुवाहरुमा पात थोप्ले रोगका रुपमा देखा पर्छ ।
 पातमा सर्वप्रथम खैरा रङ्गका ससाना थोप्ला देखिन्छन् जुन पछि ठुला, अनियमित आकारका वा लेन्स आकारका बन्छन् ।
 रोगको उग्र अवस्थामा थोप्लाहरु परिवर्धन भई एक आपसमा मिल्छन् र ठुला धब्बा बन्छन् ।
 अनुकुल वातावरणमा धब्बाहरु बृद्धि र बिस्तार भई पुरै पात डढेजस्तो देखिन्छ । पातहरु समय अगावै र्झछन् । दाना साना र चाउरिने भएकोले उब्जनी कम हुन्छ ।
 आक्रान्त बिरुवाहरु ओइलाउने वा डढेको जस्ता देखिन्छन् ।

व्यवस्थापन विधि
 खाद्यतत्व कमी भएको जमिनमा डढुवा रोग बढी लाग्ने भएकोले प्रशस्त प्राङ्गारिक मलहरु हालेको जमिनमा सन्तुलित मात्रामा रासायनिक मलहरु प्रयोग गरेर गहुँखेती गर्नु बेस हुन्छ । पोटासियम तत्वले रोग सहने क्षमता बृद्धि गर्छ ।
 रोग अबरोधक जातहरुको खेती गर्नुपर्छ । बी.एल. १४७३, अच्चुत, भृकुटी, बिजय, त्रिवेणीमा यो रोग कम लाग्दछ ।
 रोप्नुभन्दा पहिले २.५ ग्रा. भाइटाभ्याक्स–२०० प्रति की.ग्रा. का दरले बीउ उपचार गर्नुपर्छ । तातोपानीमा पनि बीउ उपचार गर्न सकिन्छ । बीउलाई ४ घण्टासम्म पानीमा भिजाउने र त्यसपछि ५२० से तापक्रम भएको पानीमा १० मिनेटसम्म डुवाएर उपचार गरेमा बीउ रोगमुक्त हुन्छ ।
 रोगका जीवाणुहरु बाली अबशेषमा पनि जीवित रहने हुँदा बालीअबशेष जलाई ग्रीष्मकालीन जोताई गर्नुपर्छ ।
 टिल्ट (Tilt, Propiconazole) १ ली. प्रतिहेक्टरका दरले छर्केमा पात डढुवा र सिन्दुरे रोगहरुको ज्यादै प्रभावकारी नियन्त्रण हुन्छ । अथवा खडा बालीमा यस रोग नियन्त्रणको लागि इन्डोफिल एम–४५ वा जिरम वा डाइथेन जेड–७८ को २.५ ग्राम प्रति लि. पानीमा मिसाएर छर्ने ।

५) एयर कोकल (Ear cockle)

यो रोग एनगुइना र्टिटिसी (Anguina tritici) नामको जुकाको आक्रमणवाट हुन्छ । जुका माटोमा बस्ने र जराबाट आक्रमण सुरु गर्ने भएकोले नियन्त्रणको लागि पनि माटोको उपचार नै गर्नु पर्ने हुन्छ । हुन त यो रोग बढी चिसो हावापानी भएको र चिम्टयाइलो माटोमा मात्र लाग्दछ । यो रोग नेपालको लागी त्यती हानीकारक छैन ।

रोगका लक्षण
 रोगले ग्रस्त बिरुवाहरु पुड्का हुन्छन् ।
 पातहरु बटारिएर मुजा परेका हुन्छन् जसले गर्दा नयाँ पातहरु सामान्य रुपमा निस्कन सक्दैनन् र यिनको आकार चौडा र छोटा देखिन्छ ।
 बाला छोटा एंव चौडा र लामो समयसम्म हरियो रहने हुन्छन् ।
 बालामा दाना आंशिक वा पुर्णरुपले गाढा खैरा वा काला रङ्गका, साना र ज्यादै गोला  (gall or cockle) का रुपमा परिवर्तन भएका हुन्छन् ।

व्यवस्थापन विधि
 बैशाख–जेष्ठ महिनामा माटो पल्टाउने हलोद्वारा गहिरो गरेर माटोमा रहेका रोगका जिवाणुहरु सतहमा प्रकट गराई गर्मी र निर्मलीकरणद्वारा नष्ट गर्न सकिन्छ ।
 विश्वसनीय स्रोतबाट मात्र प्रमाणित बीउ लाई लगाउनु पर्दछ ।
 नुनपानीको घोलमा डुबाएको बीउलाई ३–४ पटक सादा पानीले राम्ररी धोई पखालेर मात्र रोप्नको लागि प्रयोग गर्नुपर्दछ । उपचारित बीउलाई सुकाएपछि २.५ ग्राम थिराम प्रति के.जी. बीउका दरले प्रयोग गरी उपचार गर्नुपर्दछ ।
 रोगग्रस्त बाला वा बिरुवाहरु पहिचान गरी उखेलेर एकत्र गरी खेत बाहिर ल्याई जलाएर नष्ट गर्नुपर्दछ ।
 नेमाफोस गेडा ११ के.जी. प्रतिहेक्टरका दरले माटोमा प्रयोग गरेमा रोगको प्रभावकारी नियन्त्रण हुन्छ । वा अल्डिकार्ब सल्फोन (Aldicarb sulfone) २ की.ग्रा. सक्रिय पदार्थ प्रतिहेक्टरका दरले माटोमा प्रयोग गर्ने र यही बिषादीद्वारा बीउ पनि उपचार गरेमा इयर कोकल र बालाको पीत सडन रोग नियन्त्रण हुन्छन् ।

लेखक डा. सुवेदी पहाडे बाली अनुसन्धान कार्यक्रम, दोलखामा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ


  • 2.3K
  •  
  •  
  •  
  •  
  •  
    2.3K
    Shares
error: Content is protected !!