जर्सी गाईपालनमा आकर्षित बन्दै बझाङका कृषक

  •  
  •  
  •  
  •  
  •  
  •  

बझाङ – बझाङका कृषकहरु जर्सी गाई पालनमा लागेका छन् । जर्सी गाईबाट स्थानिय गाई र भैँसीको भन्दा बढी दुध उत्पादन हुने र फाइदा निकै भएपछि देवल गाउँका प्राय सबै मानिसहरु गाई पालनतर्फ आकर्षित भएका छन् ।

जयपृथ्वी नगरपालिका – २ की सीता खड्का २ वर्ष अघिसम्म घरधन्दामै व्यस्त रहनु हुन्थ्यो । जर्सीगाई नदेखेकी सीताले आफैँ जर्सी गाई पालौँला र महिनामा ४०/५० हजार आम्दानी गरौँला भनेर कहिले सोच्नु भएको थिएन । गाउँका दिदी बहिनीहरुले जर्सी गाईपालन गरौं भनेर भने, सीताले भन्नुभयो ‘जर्सी गाईले त दुध मात्रै हैन नगद पैसै दिँदो रहेछ’  गाउँको लालिगुराँस सामुदायिक संस्थाबाट सुरुमा ४५ हजार क्रृण लिएर एउटा गाई किन्नुभएकी उहाँले डेढ वर्षमा संस्थाको ऋण तिरेर थप तीन वटा गाई जोडिसक्नु भएको छ ।

अहिले उहाँ दैनिक १५ लिटर दही र २७ लिटरसम्म दुध नजिकै रहेको बजारमा बेचेर महिनामा ४० देखि ५० हजारसम्म आम्दानी गरि रहेकी छन् । सामान्य आर्थिक हैसियतको उहाँको परिवारले अहिले छोरा छोरीलाई उच्च शिक्षा अध्ययनको लागि राजधानी काठमाडौंमा पठाएको उनले बताइन् । उहाँको यस काममा श्रीमान् लेखक खड्का पनि खटेर लाग्नु भएको छ । उहाँको एउटा गाईले दैनिक सरदर १३ लिटरसम्म दुध दिने गरेको छ ।

जर्सी गाई पालनबाट मनग्य फाइदा हुने देखेपछि सीता मात्र नभई उहाँका गाउँका प्राय जसो मानिसहरु गाई पालन तिर आकर्षीत भएका छन् । देवल गाउँमा मात्र अहिले २५ परिवारले गाई पालन गरि रहेका छन् । बैशाखको अन्तिमसम्म थप १५ वटा जर्सी गाई ल्याउने तयारी भैरहेको गाईपालनको लागि ऋण सहयोग गरिरहेको एकता सामुदायिक संस्थाकी सचिव आसा धामीले बताउनुभयो ।

यस गाउँमा मात्र ४० वटा जर्सी गाई ल्याई सकेका छौँ । दुईवर्ष भित्र एक घर एक जर्सी गाई बनाउने हाम्रो योजना रहेको छ’ उहाँले भन्नुभयो ‘सुरुमा पहाडी ठाउँमा जर्सी गाईपालन सफल हुँदैन की भन्ने लागेको थियो तर सोचे भन्दा राम्रो भयो । तीन वटा सामुदायिक संस्थामार्फत यस गाउँका ६५ परिवारले एक वर्ष भित्र गाई पालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । यहाँ गठन भएका सामुदायिक संस्थालाई स्थानीय सहयोगी संस्था सामाजिक विकास केन्द्रमार्फत गरीबी निवारण कोषले आर्थिक तथा प्रविधिक सहयोग गरीरहेको स्थानीयको भनाई छ ।

यहाँ सबै गरेर ६० भन्दा बढी जर्सी गाई पालन भैरहेको र यो गाउँलाई जिल्लाकै दुग्ध उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्ने जिल्ला पशु सेवा कार्यलयको लक्ष्य रहेको पशु विकास अधिकृत पशुपति नाथले बताउनु भयो । उहाँले भन्नुभयो ‘पहिला कहिल्यै नपालेको भए पनि जर्सी गाईबाट पर्याप्त फाइदा गर्न सकिन्छ भन्ने विश्वास किसानहरुलाई भैसकेको छ । यहाँ गाइपाल्ने प्रतिस्पर्धा जस्तै चलेको छ ।

जिल्ला पशुसेवा कार्यालयले यो गाउँमा ढुवानी अनुदान, गाईको विमा, गोठ तथा आहारा सुधार, औषधी उपचार र कृत्रिम गर्भाधानलगायतका सुविधाहरु दिँदै आएको उहाँले बताउनुभयो । दुधको बजार व्यवस्थापनको लागिसमेत कार्यालयले सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । नवलपरासी र चितवन जिल्लाबाट बझाङमा १ सय भन्दा बढी उन्नत जर्सी गाई भित्र्याइ सकेको यो वर्ष यो संख्या अझै बृद्धी गर्ने योजना रहेको पशु विकास अधिकृत नाथले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!