जलवायु मैत्री स्मार्ट पशुपालन र रिमोट सेन्सर प्रविधि

  • 519
  •  
  •  
  •  
  •  
  •  
    519
    Shares

पशुपालनमा जलवायु परिवर्तनको प्रभाव
जलवायु परिवर्तन कृषि र पशुपालन, खाद्य सुरक्षा र जिविकोपार्जनमा मुख्य चुनौतिको रुपमा देखा परिरहेको छ । विभिन्न अनुसन्धान रिपोर्ट अनुसार अनुसार जलवायु परिवर्तनले पशुपालन जुन इकोसिस्टम र प्राकृतिक स्रोत साधनमा आश्रित छ, त्यसमा नकारात्मक प्रभाव परि रहेको छ । जलवायु परिवर्तनमा विशेष गरी तापक्रम वृद्धी, वर्षाको समय र मात्रामा बदलाब, मनसुन सुरु हुने समयमा परिवर्तनले गर्दा पशुपालन क्षेत्रलाई प्रत्यक्ष रुपमा नकारात्मक असर पारिरहेको छ । जसले गर्दा पशुहरुको उत्पादन क्षमतामा र उत्पादकत्वमा ह्रास हुने, नयाँ–नयाँ रोगहरु फैलिने हुँदा पशुपालन ब्यवसाय नै घाटामा जाने अवस्था सिर्जना भई रहेको छ । यसै गरि जलवायु परिवर्तनको अप्रत्यक्ष असरमा तापक्रम वृद्धी हुने र कम पानी पर्ने हुँदा इकोसिस्टममा असर पर्ने, पानी कम पर्ने हुँदा घाँस उत्पादन र यसको गुणस्तर कम हुने, पशुमा खपत हुँने दानाजन्य बालीहरुको उत्पादन कम हुने हुँदा पशुपालन ब्यवसाय महँगो पर्न जान्छ । घाँसं उत्पादन कम हुने र दानाको प्रयोग बढ्ने हुँदा पशुपालन क्षेत्रद्वारा ग्रीनहाउस ग्यास उत्सर्जन समेत बढ्न जान्छ ।
जलवायु परिवर्तनले गर्दा पशुपालन पर्ने असर

जलवायु मैत्री स्मार्ट प्रविधि र अभ्यासहरु पशुपालनमा जलवायु मैत्री स्मार्ट प्रविधि किन ?
दिगो कृषि र खाद्यान्न उत्पादनको आवश्यकता एकातिर छ भने अर्कातिर जनसङ्ख्या वृद्धी, जलवायु परिवर्तनको जोखिम र प्राकृतिक स्रोत साधनको अत्याधिक दोहानले गर्दा मानव जीवनको लागि आगामी दिनमा खाद्य सुरक्षामा नकारात्मक असर पर्ने निश्चित छ र आगामी सन् २०५० मा विश्वको जनसङ्ख्या ९ खर्ब पुग्ने अनुमान गरिएको छ र अहिले कै अनुपातमा उपभोग र आम्दानी बढ्दै जादा खाद्यान्न उत्पादन ६० प्रतिशत बढाउनु पर्ने एफ.ए.ओको अनुमान छ र अफ.ए.ओकै एक अर्को अध्ययन अनुसार मासुको प्रति व्यक्ति खपत १९९९ मा विकसित र विकासोन्मुख देशमा क्रमशः ८८ के.जी र २५.५ के.जी रहेको छ भने २०३० मा प्रति व्यक्ति खपत क्रमशः १०० के.जी र ३७ के.जी पुग्ने अनुमान गरिएको छ । यसै गरि दुध एव्म दुधजन्य पदार्थको खपत प्रति व्यक्ति बिकशित र विकासोन्मुख देशमा क्रमशः २१२ के. जी बाट २२१ के.जी र ४५ के.जी बाट ६६ के.जी पुग्ने अनुमान गरिएको छ । साथै प्रति व्यक्ति अण्डा खपत विकशित र विकासोन्मुख १३.५ के.जी बाट १३.८ के.जी र विकासोन्मुख देशमा ६.५ के.जी बाट ८.९ के.जी पुग्ने अनुमान छ ।

तसर्थ सिमित उत्पादनका साधन, जलवायु परिवर्तनको जोखिम र बढ्दो जनसङ्ख्यालाई खुवाउनको पशुपालनको उत्पादन र उत्पादकत्व वृद्धी गरि दिगो विकासको लागि जलवायु मैत्री स्मार्ट प्रविधिको प्रयोग अनिवार्य छ ।
जलवायु मैत्री स्मार्ट पशुपालन
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङ्गठन (एफ.ए.ओ) का अनुसार जलवायु मैत्री स्मार्ट पशुपालन प्रविधि भन्नाले पशुपालनमा दिगो उत्पादन र उत्पादकत्व वृद्धी गर्ने, पशुहरुको जलवायु अनुकुलन क्षमता बढाउने र ग्रीन हाउस ग्यासको उत्सर्जन घटाउनुको साथै देशको खाद्य सुरक्षा र दिगो विकासमा जोड दिने भन्ने बुझिन्छ । एफ.ए.ओ कै एक अर्काे रिपोर्ट अनुसार पशुपालन क्षेत्रले एक खर्ब मानिसहरुलाई रोजगारी सिर्जना गरेको छ भने संसारकै कृषि क्षेत्रको जी.डी.पीमा पशुपालनले ४० प्रतिशत हिस्सा ओगटेको छ । समग्र प्रोटिन खपतमा पशुपालन क्षेत्र एक्लैले ३३ प्रतिशत योगदान गरेको छ ।

पशुजन्य उत्पादनको माग बढी रहेको र सो उत्पादन गर्न प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन भई रहेकोले स्मार्ट पशुपालन प्रविधिले दिगो पशुपालनमा ध्यान दिँदै प्राकृतिक स्रोत साधनको प्रयोग कम गर्नुको साथै वातावरण बिनास हुन नदिन विशेष जोड दिइन्छ । स्मार्ट पशुपालन प्रविधिमा प्रति इकाई जमिनबाट बढी पशु उत्पादन लिने गरि कम पानीको प्रयोग (सिंचाई स्मार्ट प्रविधि), गुणस्तरीय दाना र घाँसको प्रयोग गरि बढी उत्पादन लिने (न्यूत्रियनंट स्मार्ट), सुधारिएको गोठ खोर ब्यवस्थापन (जलबायु मैत्री गोठ) साथै गोबर र मुत्रको उचित ब्यवस्थापन गरि ग्रीन हाउस ग्यासको उत्सर्जन कम गराउने जस्ता प्रविधिहरुको प्रयोग गरिन्छ । साथै पशु पालन क्षेत्रमा हाल भई रहेका अत्याधुनिक बैज्ञानिक आविष्कारहरु समेतको प्रयोग स्मार्ट प्रविधिको प्रयोगमा जोड दिइन्छ ।
सजिलो भाषामा भन्नु पर्दा वातावरण बिनाश हुन नदिई कम लागतमा दानाबाट पशुजन्य खाना उत्पादन गर्ने प्रविधि नै जलबायु मैत्री स्मार्ट पशु पालन प्रविधि हो । खाना उत्पादन पछी पनि यसको समुचित उपभोग हुन नसकी खेर जाने र वातावरणमा नकारात्मक असर परि रहेको छ । एफ.ए.ओको एक अध्ययनले एक तिहाई खाना प्रयोग हुन नपाउँदै खेर गएको पाईएको छ जसले खाद्य शृंखलामा असर पुर्याउने, उत्पादनका स्रोत साधनको बिनास मात्र भई रहेको छ । खेर गएका पदार्थबाट ग्रीन हाउस ग्यासको उत्सर्जन अत्याधिक भई रहेको छ तसर्थ स्मार्ट पशुपालन प्रविधिले उत्पादनका स्रोत साधनको कम प्रयोग गरि दिगो विकासमा ध्यान दिइन्छ । उत्पादनका स्रोतहरु जस्तैः जमिन, पानि, जंगल, उर्जाको कम खपत गर्ने र जलवायु मैत्री स्मार्ट प्रविधि मार्फत बढी उत्पादन वृद्धीमा जोड दिइन्छ ।

जलवायु परिवर्तनका जोखिम कम गर्न अपनाउनु पर्ने अनुकुलनका उपायहरु

परम्परागत रुपमा पशुपालक कृषकहरुले आफ्नै ज्ञान सिपले पशुपालनमा अनुकुलनका उपायहरु अपनाई रहेका छन । तथापी दिनहुँ बढ्दो जनसंख्या, शहरीकरण, पशुजन्य पदार्थको बढ्दो खपत र बजारीकरणले गर्दा प्राकृतिक साधनको अत्याधिक दोहन हुने तर परम्परागत जलवायु अनुकुलन प्रभावकारी हुन नसकी वातावरण बिनास डर लाग्दो भई रहेको छ जसले गर्दा भोलिको संसार असुरक्षित हुनेछ भनि सहज अनुमान गर्न सकिन्छ ।
विशेष गरि पशुपालनमा परम्परागत रुपमा रहेका घुम्ती गोठ प्रणाली, खुल्ला चरण क्षेत्र, बन जंगल, खुल्ला चरी चरण गरिब तथा निम्न मध्यम बर्गीय पशुपालक कृषकको आधार हो तर जलवायु परिवर्तनले गर्दा यो उत्पादनका स्रोतमा असर पुर्याउने र कृषक वर्ग नराम्ररी प्रभावित भई रहेका छन । यदि उचित अनुकुलनका उपाय समयमै नअपनाउने हो भने यो कृषक वर्ग पशुपालन पेशाबाट बिस्थापित हुने र गिरिबीको रेखा मुनि जाने र उनीहरुको जिबिकोपार्जनमा नकारात्मक असर पर्ने निश्चित छ । नेपाल जस्ता गरिब देशहरुमा यो समस्या झन बिकराल हुनेछ र समाजको संरचनामै बदलाब ल्याउने छ ।

पशुपालनमा प्रयोग भएका स्मार्ट सेन्सर प्रविधिहरु
बढ्दो जनसङ्ख्या सँगै पशुजन्य पदार्थको अधिक माग, उत्पादनका साधनहरु जमिन एव्म पानीको चरम अभावले एव्म जलवायुको जोखिम कम गर्न पशुपालनमा स्मार्ट प्रविधिको प्रयोग नगरी सुखै छैन । आजभोली पशुपालनमा रिमोट वा पशुको शरिरमा जडित यन्त्र, सेन्सरबाट सूचना संकलन गर्ने प्रविधि अत्यन्त लोकप्रिय छ । डिजिटल प्रविधिको प्रयोगले पशुपालन आकर्षणको पेशा बन्दै गई रहेको छ । पशुको शरिरमा जडित अत्याधुनिक तर सानो यन्त्र मार्फत कृषकले आफ्नो पशुको दाना घाँस खाए नखाएको, पशुचक्र, तनाबमा रहे नरहेको, पशु स्वास्थ्यको अवस्था लगायत थुप्रै सूचना आफ्नो मोबाइल वा कम्युटरमा प्राप्त गर्न सक्छ । निश्चित समयमा सेन्सर जडित यन्त्रले दिएको पूर्व सुचनाको आधारमा पशुको दैनिक अनुगमन गर्न सकिने हुँदा रोगको संक्रमणबाट बचाउन सकिने र ब्यवस्थापनमा सुधार गरी उत्पादन क्षमता बढाउन सकिने हुदा पशुपालन ब्यवसाय नाफा मुलक हुन जान्छ र सेन्सर प्रविधिको प्रयोगले पशुपालनमा विभिन्न भ्याक्सिनको प्रयोग कम हुने जसले स्वास्थ पशु उत्पादन र पशु कल्र्याणमा समेत योगदान पुग्दछ ।

अन्तमा,
एक अध्ययन अनुसार विश्वलाई सन् २०५० मा अहिलेको पशुजन्य प्रोटिनको उत्पादन भन्दा ३० प्रतिशत बढी उत्पादन गर्नुपर्ने अनुमान छ । सन् २०५० मा मासु जन्य र दुधजन्य पदार्थ क्रमश ७३ प्रतिशत र ५८ प्रतिशत बढी उत्पादन गर्नु पर्ने अनुमान गरिएको छ र यसैले बजारमा पशुजन्य पदार्थको बढ्दो माग पूर्ति गर्न प्राकृतिक स्रोत साधनको अघि दोहन र जलवायु परिवर्तनको जोखिम कम गर्न कृषि क्षेत्रमा स्मार्ट प्रविधिको प्रयोग गरि पशुपालन प्रणालीमा रुपान्तरण गर्नु अनिवार्य छ । त्यसकारण जलवायु परिवर्तनले पानीका स्रोतहरूमा असर पुर्याउने साथै गर्मी र अधिक चिसो, वर्षाको समय समयमा फेरबदल हुने जसले गर्दा बालि प्रणाली र पशु उत्पादनमा नराम्रो असर पर्ने हुँदा जलवायु मैत्री स्मार्ट प्रविधिको प्रयोग अपरिहार्य छ । नेपाल जस्ता अति कम बिकसित र गरिब मुलुकमा रहेका साना किसानहरु झन बढी जलवायु परिवर्तनको मारमा पर्दछन । तसर्थ जलवायु मैत्री स्मार्ट प्रविधि मार्फत जलबायु अनुकुलन र समकुलनमा ध्यान दिनु जरुरी छ ।
डा. कडरिया कृषि बन बिज्ञान बिश्वविद्यालयका पशु प्रजनन तथा बायोटेक्नोलोजी विभागका सह प्राध्यापक एव्म जैविक प्रविधि केन्द्रका निर्देशक हुनुहुन्छ ।


  • 519
  •  
  •  
  •  
  •  
  •  
    519
    Shares
error: Content is protected !!