पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत

  •  
  •  
  •  
  •  
  •  
  •  

पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ ।

अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् । बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरेको उनीहरुले बताएका छन् ।

प्लाज्मोडियम विवाक्स परजीविका कारण लाग्ने मलेरिया एकै व्यक्तिमा बारम्बार देखिने गरेको छ ।  यो परजीवि कलेजोमा निष्क्रिय अवस्थामा रहन्छ र सक्रिय हुन मिल्ने वातावरण पाए लगत्तै संक्रमण देखिन्छ । यस्तो खालको मलेरिया विशेष गरी अफ्रिकाको सब–साहारा क्षेत्रमा पाइन्छ ।

एकपटक यो मलेरियाको संक्रमण भएका व्यक्तिलाई लामखुट्टेले एकपटक मात्रै टोक्दा पनि मलेरिया सक्रिय बनाउने दर बढी हुन्छ । विशेष गरी बालबालिकामा यस्तो खतरा ज्यादा रहेको पाइन्छ । यसले गर्दा हरेक पटक संक्रमित हुँदा बालबालिका कमजोर हुने र पढाई पनि छुट्ने गरेको छ ।

यस्तो मलेरियाको संक्रमण भएका व्यक्ति नजानिदो रुपमा रोग फैलाउने माध्यमका रुपमा रहेका हुन्छन् । उनीहरुलाई टोकेको लामखुट्टेले अरुलाई टोकेमा रोग फैलिन्छ । यसले गर्दा मलेरिया नियन्त्रणमा समस्या हुँदै आएको छ ।

अब त्यसको उपायको रुपमा टाफानोक्वाइन औषधि आउने भएको छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग, एफडिएले टाफानोक्वाइनलाई स्वीकृति दिएको छ ।

यो औषधिले संक्रमित व्यक्तिको कलेजोमा निष्क्रिय अवस्थामा रहेको मलेरिया फैलाउने परजीविलाई पनि निमिट्यान्न पार्नेछ । यो औषधिले फेरि मलेरिया लाग्न दिने छैन । यो औषधि तत्काल भएको मलेरिया संक्रमणको उपचारका लागि अरु औषधिसँगै लिन सकिने वैज्ञानिकले बताएका छन् ।

कलेजोमा लुकेर रहेको मलेरियाको उपचारका लागि अहिले प्रिमाक्वाइन नामको औषधि प्रयोग हुँदै आएको छ । तर टाफानोक्वाइन एकपटक मात्रै खाँदा रोग पूर्णरुपमा निको हुन्छ भने प्रिमाक्वाइन १४ दिनसम्म खानु पर्छ । धेरै व्यक्तिले प्रिमाक्वाइन केही दिन खाएपछि निको भएजस्तो मानेर खान छोड्ने गरेकाले फेरि संक्रमण देखिने गरेको छ ।

तर टाफानोक्वाइन एकपटक मात्रै खाए हुने भएकाले दोहोरिने खालको मलेरियाको उपचारका लागि अचुक औषधि हुने वैज्ञानिकले बताएका छन् ।

टाफानोक्वाइन इन्जाइम सम्बन्धी समस्या भएका व्यक्तिले खान नमिल्ने एफडिएले बताएको छ । यस्ता व्यक्तिले यो औषधि खाएमा गम्भीर खालको एनिमिया हुने खतरा रहन्छ । यस्तै मानसिक समस्या भएका व्यत्तिलाई पनि यो औषधिले साइड इफेक्ट गर्ने देखिएको छ ।

यो औषधि विश्वभरका बिरामीलाई दिन सकिने विकल्प तयार भएको अधिकारीले बताएका छन् । अहिले बजारमा उपलब्ध प्राइमाक्विन भनिने औषधि बिरामीले १४ दिनसम्म लिनु पर्ने हुन्छ । तर त्यो लिएपछि पनि औलो रोग बल्झिने गरेको भन्दै विज्ञहरूले चिन्ता  जनाएका थिए ।

विज्ञहरूले नयाँ औषधि प्रभावकारी छ तर ग्रन्थीको समस्या र मानसिक रोग भएका बिरामीलाई टाफेनोक्वाइनले साइड इफेक्ट अर्थात् नकारात्मक असर पु¥याउन सक्ने बताएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!