प्रकृति, वातावरण र हाम्रो सम्बन्ध

 हेमचन्द्र महतो

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यसाथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।  सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलोपटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

त्यसैअनुरूप नेपालले पनि पक्षराष्ट्रका रूपमा सन् २००० देखि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।  वातावरणसम्बन्धी सोचाइ र बुझाइमा सकारात्मक परिवर्तन ल्याउनु वातावरण दिवसको महŒवपूर्ण उद्देश्य रहेको हो ।  हरेक वर्ष यो दिवस एउटा नारा तय गरी मनाउने प्रचलन रहेको देखिन्छ ।  विश्व वातावरण दिवस–२०७४ को नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध  रहिरहोस् अनन्त’ रहेको छ ।  नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक र उपयोगी छ ।

प्रकृति एक जटिल संरचना हो ।  प्रकृति, वातावरण र मानव जातिबीच अन्तर्सम्बन्ध हुन्छ । यसप्रकारको उचित सम्बन्धले मानव सभ्यतालाई दीर्घायु प्रदान गर्छ ।  मानव सभ्यताको आधार नै प्रकृति हो ।  प्रकृति र मानव एक रथका दुई पाङ्ग्रा हुन् ।  यी दुवैबीचको सम्बन्ध एक अर्कामा आश्रित रहेको हुन्छ ।  प्रकृतिविना मानवको जीवन कल्पनासमेत गर्न सकिँदैन ।  हामीले दिनानुदिन यो वा त्यो बहानाले प्रकृतिको दोहन गरिरहेका छौँ ।  फलस्वरूप प्रकृतिमा देखिने हरेक परिवर्तनले मानवजीवनमा गम्भीर प्रभाव पार्दै आएको छ ।

हाम्रो आसपासका प्राकृतिक र मानवनिर्मित भौतिक, सामाजिक र साँस्कृतिक संरचनाहरू हाम्रा वातावरण हुन् ।  वातावरण भन्नाले पृथ्वीमा कायम जलमण्डल, वायुमण्डल र भूमण्डलबीचको अन्तरसम्बन्ध बुझिन्छ ।  प्राणी बाँच्नका लागि अनुपयुक्त परिस्थिति निर्माण हुनुलाई प्रदूषण भनिन्छ ।  वातावरणीय प्रदूषणले वातावरणीय समस्या निम्त्याउँछ ।

बढ्दो तापक्रम र असन्तुलित रूपमा भएको मौसम परिवर्तनका कारण (धरती र प्रकृति) वातावरण, पर्यावरण र मानव समुदायबीचको सम्बन्धमा असन्तुलित परिवर्तन देखापरेको छ ।  भौतिकविज्ञान र विकासको असन्तुलित प्रयोगले रैथाने बोटबिरुवा र जीवजन्तुहरू लोपोन्मुख अवस्थामा पुगेका त छन् नै, प्राकृतिक सन्तुलनलाई कायम नराख्ने हो भने केही वर्षभित्र ती लोपोन्मुख जीवजन्तुहरू यस धरतीबाट लोप हुनेछन् ।  तसर्थ, मानवले वातावरणीय समस्याहरू तत्काल महसुस नगरे पनि कालान्तरमा जटिल समस्याहरू भोग्नुपर्छ ।

नेपालमा अतिवृष्टि, अनावृष्टि, हिमशिखरहरू पग्लेर कालापत्थर हुँदै जानु, नदी सतहहरू गणितीय रूपमै घट्दै जानु, अस्वाभाविक ऋतु परिवर्तन हुनु, हिमतालहरू फुट्नु, वनस्पति र जीवजन्तु लोप हँुदै जानुजस्ता वातावरणीय असरहरू वातावरणीय चुनौतीका रूपमा देखिएका छन् ।  यस्ता चुनौतीहरूको सामाना गर्न मानव समुदायले वातावरण संरक्षणबारे साझा चासो बढाउनुपर्ने आवश्यकतालाई विश्व वातावरण दिवसले महसुस गराउँछ ।

नेपालमा देखिएका वर्तमान वातावरणीय असरहरूलाई न्यूनीकरण गर्न सर्वप्रथम मानिसमा वातावरणीय चेतनाको जरुरी पर्छ ।  प्राकृतिक वातावरण र विकासका अवयवलाई वैज्ञानिक तवरले बुझ्नु या थाहा पाउनु वातावरणीय चेतना हो ।  वातावरणीय चेतना मानिसको थाहा पाउने नैसर्गिक अधिकार हो र उक्त चेतनाको उपयोग व्यवहारमा लागू गर्नु नागरिक दायित्व हो ।  वातावरणीय चेतना भएको मानिसले मात्र आफ्ना क्रियाकलापको वातावरणीय प्रभावका बारेमा सुझबुझ राख्छ ।

समग्रतामा नागरिकको चेतना नै त्यो समाज या राज्यको चेतना हो ।  उसो त नेपालमा सरकारी तथा गैरसरकारी सरोकारवाला पक्षबाट वातावरणीय चेतनाका लागि विश्व वातावरण दिवसका अवसरमा सहभागितामूलक, जनचेतनामूलक, रचनात्मक तथा अभियानमुखी कार्यक्रमहरू जस्तै चेतनामूलक ¥याली, वृक्षरोपण, चित्रकला, निबन्ध प्रतियोगिता, काठमाडाँैमा बागमती सफाइ इत्यादि प्रत्येक वर्ष गरिँदै नआएका होइनन् ।

तर, नेपालको वातावरणीय चेतनाको स्तर कति ? यसको ठोस मापदण्ड खोज्न कठिन हुन्छ ।  जे भए पनि प्रायः सबैजसो वातावरण, स्वास्थ्य र मानवअधिकारका अभिसन्धिमा नेपालले हस्ताक्षर गरेको छ ।  यसका आधारमा नेपाल विश्वसामु आफू स्वस्थ वातावरणप्रति चेतनशील भएको बताएको छ ।

वास्तवमा नेपालमा वातावरण संरक्षणका कार्यहरू दृढसङ्कल्पित भएर गरियो भने यहाँ प्रचुर सम्भावनाहरू छन् ।  प्रकृतिले हामीलाई ठगेको पटक्कै छैन ।  हाम्रो देश प्रकृतिमा धनी छ ।  अपार जलस्रोत, वनजङ्गल, जडीबुटीको भण्डार, प्रकृतिको गर्भमा सुन, चाँदी, तामा, फलाम, ग्यास, पेट्रोल, खनिज पदार्थ हामीसँग छन् ।  सही नीति नियम बनाई उचित सदुपयोग गर्न सके उद्योगधन्दा फस्टाउनुको साथै रोजगारी वृद्धि गरी देश आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने प्रचुर सम्भावनाहरू छन् ।

मानवीय क्रियाकलापका कारण वातावरणमा परिरहेको असर न्यूनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महŒवपूर्ण अवसर हो ।  वातावरण संरक्षणका लागि आफू सचेत भई अरूलाई पनि सचेत गराउँदा मात्र यो दिवस मनाउनुको सार्थकता हुन्छ ।

पृथ्वीमा रहेका सबै मानिसले वातावरण संरक्षणका लागि जिम्मेवारी बोध गर्नुपर्छ र प्रत्येक व्यक्तिले वातावरण संरक्षणका कार्यबारे जानकारी लिने र सोच्ने बानीको विकास गरेको खण्डमा वातावरण दिवस मनाएको औचित्य पूरा हुन्छ ।  विश्वभरिका मानिसले साझा चिन्ता र चासो लिंदै वातावरण दिवस मनाउनुपर्छ ।  आफ्नो लागिभन्दा पहिला प्रकृति संरक्षणका लागि एकजुट हुनुपर्छ ।

वैज्ञानिक चमत्कार र मानवीय उन्नतिभित्र प्रकृतिको विनाश समेटिनुहुँदैन ।  यी दुवै फरक–फरक विषय हुन् ।  विज्ञानको चमत्कार र मान्छेको उन्नतिको सार प्रकृतिभित्रै रहेको छ ।  विज्ञानले एकपछि अर्को चमत्कार गर्दै गइरहेको छ ।  त्यसैले मानवीय उन्नति गरिरहेको छ ।

आज मानवीय जीवनलाई सहज, सुविधायुक्त, छिटो, छरितो बनाउने वैज्ञानिक चमत्कार हो ।  बढ्दो जनसङ्ख्या, अव्यवस्थित संरचना, जथाभावी प्राकृतिक स्रोत साधनको प्रयोग, दुरूपयोग आदिले प्रकृतिको विनाश हुँदै गइरहेको छ ।

सबैले दीर्घकालीन सोच बनाएर प्रकृतिको विनाश रोक्नुपर्छ ।  प्रकृति, वातावरण र मानिस भन्दा फरक सुनिए पनि यी एक–अर्कासँग अन्योन्याश्रित छन् ।  वातावरण सुरक्षित बनाई प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयम् सङ्कटमुक्त हुनु हो ।  – गाेरखापत्रबाट  साभार

error: Content is protected !!