रसुवाको गत्लाङमा २५ मेट्रिक टन सिमी उत्पादन

रसुवा – स्थानीय जातको सिमीले राम्रो बजार पाउन थालेपछि रसुवाको गत्लाङका कृषक त्यसतर्फ आकर्षित भएका छन् ।

सिमी उत्पादन गर्ने कृषकको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । यो वर्ष करिब २५ मेट्रिक टन सिमी उत्पादन भएको छ । गत वर्ष १७ मेट्रिक टन सिमी उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रसुवाको तथ्याङ्क छ ।

आमाछोदिङ्मो गाउँपालिका–३ मा पर्ने पर्यटकीय क्षेत्र गत्लाङमा स्थानीय जातका दलहन बाली लगाउने गरिएको छ । स्थानीय कृषि उपजको माग बढी भएको र मूल्य पनि राम्रो पाउने भएपछि कृषक स्थानीय जातको उत्पादनतिर आकर्षिक हुन थालेका गत्लाङका नबिन लामाले बताउनुभयो ।

‘सिमीले राम्रो बजार पाउन थालेपछि सिमी उत्पादनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ, लामाले भन्नुभयो, यसले यहाँको जीविकोपार्जनमा धेरै सहयोग पुगेको छ ।’ कृषकले खेती विस्तार गरेका कारण सिमी उत्पादन बढेको कृषक तथा व्यावसायी पेम्बा छेवाङ तामाङले बताउनुभयो ।

‘गाउँमा ५ वर्षअघि मैले सिमी संकलन गर्दा १५ मेट्रिक टन थियो, तामाङले भन्नुभयो, अहिले २५ मेट्रिक टन पुग्दा खेती गर्ने कृषक पनि बढेका छन् ।’ अहिले त्यहाँ करिब डेड सय कृषकले सिमी उत्पादन गर्ने गरेका छन् । गत्लाङमा करिब १५ हेक्टर क्षेत्रफलमा सिमी खेती हुँदै आएको छ  ।

यो वर्ष करिब ३० लाख बराबरको सिमी बिक्री गरेको उहाँको भनाई थियो । असार मसान्तसम्ममा सिमी रोपी सकिन्छ । कार्तिक मसान्तसम्ममा बिक्रिको लागि तयार हुने गर्दछ । गत्लाङे सिमी बिक्री गर्दा कृषकले प्रतिकिलो ९० देखि सय रुपयाँसम्म पाउने गरेका छन् ।

समयमा पानी परेको र कृषकले क्षेत्र विस्तार गरेका कारण जिल्लामा उत्पादन बढ्दै गएको कार्यालयका प्राविधिक सहायक भिष्मबहादुर बस्नेतले बताउनुभयो ।

गत्लाङमा उत्पादन भएको सिमी जिल्ला बाहिर लैजाने गरिएको कृषक तथा व्यावसायीले बताएका छन् । ‘जिल्लामा स्थानीय जातको सिमीको खपत कम हन्छ, तामाङले भन्नुभयो, हामीले गाउँमा उत्पादन भएको सिमी संकलन गरेर नुवाकोटको त्रिशुली, काठमाण्डौ भक्तपुर लगायतको क्षेत्रमा लैजाने गरेका छौँ ।’

गत्लाङमा स्थानीय जातका सिमी, केराउ, कालो मुसुरो, भटमासको व्यावसायीक खेती हुने गरेको छ । जिल्लामा करिब ३८ हेक्टर क्षेत्रफलमा सिमी खेती हुँदै आएको छ । वार्षिक रुपमा झन्डै ४० मेट्रिक टन सिमी उत्पादन हुने कार्यालयले जनाएको छ ।

जिल्लाको गत्लाङ, हाकु, गोेल्जुङ, स्याफ्रु, चिलिमेलगायतका क्षेत्रमा व्यावसायिक रुपमा सिमी खेती हुँदै आएको छ ।

error: Content is protected !!