विदेशबाट रित्तो हात फर्केका वीरबहादुर स्वदेशमै कमाउँछन् वार्षिक १० लाख

  •  
  •  
  •  
  •  
  •  
  •  

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिका – ९, सोल्माका वीरबहादुर बस्नेत एक दशक देखि चिया खेती गरेर जीविकोपार्जन गरिरहनुभएको छ ।रोजगारीका लागि कतार पुग्नुभएका बस्नेत सोचेजस्तो आर्थिक प्रगति गर्न नसकेपछि पुनः गाउँ नै फर्किएर चिया खेतीबाट आम्दानी गरिरहनुभएको हो ।

बुवाले लगाएको बगानबाटै पनि वीरबहादुरले आम्दानी लिइरहेको बताउनुभयो । चिया खेतीमा आधुनिक प्रविधि भित्रिसकेको भए पनि उहाँलाई त्यसबारे थाहा छैन, न त शारीरिक सुरक्षा र स्वास्थ्यमा हुने जोखिमको जानकारी नै । बस्नेतले परम्परागत पद्धतिको चिया खेतीबाट आम्दानी गरिरहे पनि त्यसबाट हुने जोखिमबारे जानकारी नपाउँदा समस्या भोग्दै आउनुभएको छ ।

गाउँमा रोजगारी नपाउँदा कृषि पेशाबाट भन्दा धेरै कमाउने उदेश्यले परदेसिएका वीरबहादुर त्यहाँ देखे÷भोगेका अनुभवलाई संगाल्दै अहिले गाउँ फर्किएर विरता देखाइ रहनुभएको छ । बस्नेत ०६१ सालमा रोजगारीका लागि कतार जानुभएको थियो ।

‘धेरै कमाउने सोचेर अलिअलि भएको पनि मेनपावरलाई बुझाएर परदेश पुगियो,’ उहाँ भन्नुहुन्छ, ‘तर त्यहाँ धेरै कमाउनु त हैन, मेनपावरलाई बुझाएको रकम कमाउन पनि धेरै दुःख गर्नुप¥यो ।’ परदेश पुगेर त्यहाँको दुःख भोगेपछि स्वदेशमा गरिने कृषि कर्ममै सुख र सफलता देख्न थालेँ, र फर्किएँ, उहाँ भन्नुहुन्छ ।

विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही गर्न सकिन्छ भन्ने आँटले चिया खेतीमा लागेको उहाँको भनाइ छ । बाबुले थालेको चिया खेतीलाई क्षेत्र बढाएर भएको सबै जमिनमा चिया खेती लगाएर व्यवसायिक बनेका वीरबहादुरको दैनिकी चिया खेतीमै बित्ने गरेको छ । चिया रोप्ने, गोडमेल गर्ने, रोग किराको नियन्त्रण गर्ने, फँडानी गर्ने, मुना टिप्ने, प्रशोधन गर्ने, प्याकेङि गर्ने, बजारसम्म पुर्‍याउने लगायत सबै काम वीरबहादुर आफै गर्नुहुन्छ ।

‘विदेशबाट फर्किएर चिया खेतीमै भविष्य खोजिरहेको छु,’ उहाँले भन्नुभयोे, ‘अहिले मेरो २४ रोपनी जमिन सबैमा चिया खेती छ, सामान्य तरकारी, फलफूल खेतीबाहेक अन्य खेती छैन, मेरो सबैथोक चिया मात्रै हो ।’

एसएलसीसम्म पढ्नुभएका वीरबहादुर जसरी परदेश जाँदा बिना सीप र दक्षता पुग्नुभयो, त्यसरी नै चिया खेतीमा पनि लागिरहनुभएको छ । चिया खेतीको विषयमा उहाँले प्राविधिक ज्ञान पाउनुभएको छैन । ‘सामान्य तालिम र गोष्ठीहरु बाहेक अन्य केही ज्ञान छैन, सबै काम गरेकै आधारमा काम गर्ने हो, ‘कामले काम सिकाउँछ भन्ने उखानै छ नि,’ मेरो पनि त्यस्तै हो’ उहाँ भन्नुहुन्छ ।

चिया खेतीबाट वीरबहादुरले वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताउनुभयो । यहाँ उत्पादित हरियो पत्ती ५६ रुपैयाँ प्रति केजीले बिक्री हुँदै आएको छ । जिल्लाभित्र प्रशोधन मेसिन नहुँदा धनकुटाको गुराँसे टि–स्टेटले खरिद गर्दै आएको हरियो पत्ती यो वर्षबाट भने गाउँमै प्रशोधन हुन थालेको उहाँले बताउनुभयो ।

‘जिल्लाबाहिर पठाउँदा धेरै समस्या थियो, अहिले गाउँमै प्रशोधन मेसिन जडान भएको छ, मैले पनि सामान्य सीप प्राप्त गरेको छु,’ उहाँले भन्नुभयो । चिया खेतीमा प्रशस्त सम्भावना देख्ने वीरबहादुरको चिया खेतीबाट आएको आम्दानीले घर  त चलेको छ, तर उहाँले व्यवस्थित रुपमा चिया खेती गर्न सक्नुभएको छैन ।

चिया खेतीमा काम गर्दा लगाउने सुरक्षाका साधन र उपकरणहरुका विषयमा उहाँलाई थाहा छैन । ‘चिया बगानमा काम गर्दै भेटिएका वीरबहादुरले हात देखाउँदै भन्नुभयो, ‘दुःख त धेरै छ नि, हेर्नुस् यी हातमा कति ठेला उठेका छन्, यो काँडाले घोचेको डोब ।’

‘गोडमेल गर्दा त कतिपय दिनमा हात रक्ताम्य हुन्छ, तर पनि गर्नै पर्‍या छ,’ उहाँले भन्नुभयो । चिया टिप्दा लगाउने एप्रोन, हातमा लगाउने ग्लोब, आँखामा चस्मा, खुट्टा लगाउने बुट, टाउकोमा लगाउने हेल्मेट केही पनि छैन उहाँसँग । त्यस्ता सामाग्रीहरु लगाउनुपर्छ भन्ने थाहा भएर पनि खरिद नगरेको उहाँले बताउनुभयो । उहाँले बुट भने निरन्तर जसो लगाउने गर्नुभएको छ । चिया प्रशोधन मेसिन चलाउन पनि सिक्नुभएको छ बीर बहादुरले ।

 

तर उहाँलाई प्रशोधन मेसिनमा काम गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने सबै कुरा थाहा छैन । निरन्तर चिया खेतीमै काम गर्दा सामान्य लाग्ने घाउ चोटबाट पनि शरीरलाई धेरै असर गर्ने गरेको उहाँ बताउनुहुन्छ । तर त्यस्ता जोखिमबाट बच्न प्रयोग हुने उपकरणहरु सजिलै प्राप्त गर्न मुस्किल हुने भएकाले पनि प्रयोग नगरेको उहाँ बताउनुहुन्छ । ‘नजिकका बजारमा खरिद गर्न पाइदैनँ, टाढा गएर ल्याउन पैसा हुदैनँ,’ उहाँले भन्नुभयो ।

चियाको हरियो पत्तीको मुल्य अत्यन्तै कम रहेको उहाँले बताउनुभयो । ‘हरियो पत्तीको मूल्य लागत मूल्यभन्दा कम छ, हामीलाई लागत मुल्यको तुलनामा झण्डै २० रुपैयाँ घाटा पर्छ,’ उहाँ भन्नुहुन्छ । तर अन्य खाद्यान्न बालीको खेतीभन्दा चिया खेतीबाट फाइदा हुने भएकाले चिया खेतीमा निरन्तर लागिरहेको उहाँले बताउनुभयो । ‘आधुनिक प्रविधिको खेतीले त राम्रै हुन्थ्यो होला, हामीलाई त्यस्तो ज्ञान छैन, अहिले बरु अलि अलि सिक्न पाइदैछ,’ उहाँले भन्नुभयो ।

विदेशबाट फर्किँदा रित्तो हात फर्किएका बस्नेतले कृषि विकास बैंकबाट १० हजार ऋण निकालेर ४ रोपनी जमीनमा खेती सुरु गरेको सम्झिदै अहिले परदेशिने युवाहरुलाई स्वदेशकै माटोमा भिजेर काम गर्न सुझाव दिनुभयो ।  ‘बरु खेती प्रविधिको सीप सिक्नु, तर विदेश कोही पनि नजानु,’ उहाँ भन्नुहुन्छ, ‘त्यहाँ गएर सास्ती बेहोर्नु भन्दा यहाँ आफ्नै देशको माटोसँग खेल्नुमा धेरै मज्जा छ ।’

– साभार उज्यालाेबाट


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!