शत्रुजीव व्यवस्थापनमा उत्साहित बागलुङका किसान

  •  
  •  
  •  
  •  
  •  
  •  

बागलुङ

 ः बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका किसान गत शनिबार एकै ठाउँमा आलु लगाउँदै गरेको अवस्थामा भेटिए । निकै उत्साहका साथ आलु लगाइरहेका किसानको अनुहारमा एक खालको उत्साह र आशाको अनुभूति गर्न सकिन्थ्यो । जैमिनी नगरपालिकाअन्र्तगत कृषि सेवा शाखा कुश्मीशेराले सञ्चालन गरेको शत्रुजीब व्यवस्थापन कृषक पाठशालामा उपस्थित सबैले कृषि प्राविधिकले दिएको जानकारीलाई निकै चाख दिएर सुनिरहेका थिएभने उनीहरुले भने अनुसारनै माटोमा काम गर्दै थिए । जैमिनी नगरपालिका कृषि सेवा शाखा कुश्मीशेराका प्रमुख अर्जुनप्रसाद श्रेष्ठ र कृषि प्राविधिक रवीन्द्र शर्माले आलुखेती गर्दा माटोको व्यवस्थापनको बारेमा जानकारी गराइरहनुभएको थियो । उहाँहरुको भनाइ अनुसारनै नमूना कृषक समूहमा रहेका २५ जना किसानको कुटो र कोदालो चलाइरहेका थिए ।

खेतीपातीमा परजीवी र बिनाशकारी जीवका कारण हैरान परेका किसानले शत्रुजीवको व्यवस्थापनको विषयमा चासो देखाएका हुन् । नगरपालिकाले शुरु गरेको १६ हप्ते शत्रुजीव व्यवस्थापन कृषक पाठशालामा किसानको उत्साहजनक उपस्थिति रहेको छ । पहिलोपटक बिनामारेमा आलुखेतीमा लाग्ने शत्रुजीवको व्यवस्थापनका लागि कृषक पाठशाला शुरु भएको छ । पहिलो चरणमा माटोको व्यवस्थापन र बीउ तथा मलको प्रयोगका विषयमा जानकारीसहित आलु लगाइएको छ ।

किसानकै सक्रियतामा समूहमा रहेका केही किसानको जग्गालाई एकीकृत गरेर एक रोपनी जमीनमा आलुखेती गरिएको नमूना कृषक समूहले जनाएको छ । रासायनिक मलको मितव्ययी प्रयोग र प्राङ्गारिक मलको प्रयोगबाट बालीमा लाग्ने शत्रुजीवको व्यवस्थापन गर्न पाइने सुनेर पाठशालामा उत्साहका साथ सहभागी भएको समूहका उपाध्यक्ष कृषक उपेन्द्र गिरीले बताउनुभयो ।

‘घरेलु उपाय अपनाएरनै रोगकीराको सङ्क्रमण कम गर्न सकिँदो रहेछ’ गिरीले भन्नुभयोे, “मित्रुजीव हुन्छन् र तीनले खेतपातीमा सहयोग गर्छन् भन्ने कुरा पाठशालाबाट जानकारी पाइयो ।” समूहमा कृषि कर्म गर्दा धेरै ज्ञान लिने मौका पाइने उहाँले बताउनुभयो । एक अर्काका अनुभव साटासाट गर्ने र आफ्नो व्यक्तिगत उत्पादनका बेला प्रयोग गर्न सकिने सीप पाठशालाले किसानलाई सिकाएको छ ।

पाठशाला अवधिभर प्रत्येक हप्ताको एक दिन समूहमा आवद्ध किसानलाई खेतीबाली लगाइएको क्षेत्रमा नै लगेर तालीम दिने र अनुसन्धान गर्न लगाइने शाखाले जनाएको छ । ‘पहिलोचरणमा हामीले आलु लगायौं, अब त्यही बालीमा कस्तो खालको सङ्क्रमण हुन्छ र कसरी व्यवस्थापन गर्ने भनेर कार्यक्षेत्रमा नै सिकाउँछौं’ शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भन्नुभयो, “बीउ लगाउँदादेखि फसल लिने बेलासम्मको सुरक्षित तरिका किसानले सिक्नुहुने छ ।
पाठशालामा बीउको छनोट, मलखाद व्यवस्थापन, मलको प्रयोग, माटोको व्यवस्थापन, पानीको प्रयोग, शत्रुजीवको पहिचान, मित्रुजीवको विकासलगायतका विषयमा जानकारी गराइन्छ । ‘आलु लगाएपछि छेउछाउँमा मुलासँगै लगाउन सिकाउँछौं, जसका कारण कमिलाले आलु खान जाँदैन्’ कृषि प्राविधिक रवीन्द्र शर्माले भन्नुभयोे, “माकुरा, गाइने कीरा लगायतका जीव हाम्रा मित्रु हुन भनेर किसानलाई सिकाउने गरेका छौं ।” घरेलु उपाय बताउँदा किसान उत्साहित हुने गरेको अनुभव उहाँले सुनाउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!