सफल कृषकको कथा ‘सफलताको मुख्य कारण ठक्कर’

काठमाडौं – एक दशक अघि जीविकोपार्जनका लागि कतारमा पसिना बगाउनुभएका बाँकेका लालबाबु सुनारले अहिले आफ्नै ठाउँमा १७ जनालाई रोजगारी दिनुभएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा कलिलो अवस्थामा पहिले भारत र पछि कतार पुग्नुभएका उहाँ अहिले नेपालगञ्ज र आसपासका क्षेत्रमा कृषि पेशाबाट पर्याप्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण नै बन्नुभएको छ ।

केही साता पहिले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुनुभएका सुनारले आफ्नै १५ कट्ठा जग्गा तथा १० कट्ठा भाडामा लिएर च्याउखेती गर्दै आउनुभएको छ । उहाँको उत्पादनको मुख्य बजार नेपालगञ्ज हो । उहाँ भन्नुहुन्छ, ‘अहिले उत्पादन बढ्दै जाँदा त्यसबाहेक अरु बजारमा समेत जान्छ ।’

शुरुका दिनमा आफैँ साइकलमा बोकेर च्याउ बेच्ने गरेका सुनार अहिले भने सम्पर्कमा भएका व्यक्तिमार्फत विभिन्न होटल÷रेष्टुरेन्टमा च्याउ पु¥याउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगामी दिनमा च्याउकै रेष्टुरेन्ट खोल्ने योजना छ ।” सरकारले कृषिमा लाग्ने युवालाई प्रोत्साहनका लागि नीति नलिएको उहाँको आरोप छ ।

कृषिमा शिक्षित वा तालीम लिएका युवाको आकर्षण बढ्दो छ । वैदेशिक रोजगारीमा जाँदा दुःख पाएर फर्किएका युवा स्वदेशमै स्वरोजगार बन्न कृषि पेशा रोज्न थालेका छन् । इजरायललगायतका देशमा रोजगारीकै क्रममा कृषि क्षेत्रमा नै काम गरेका युवा विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्न थालेका छन् । ठूलो लगानीमा धेरै क्षेत्रफलमा कृषि व्यवसाय तथा पशुपालन गर्नेको संख्या पनि बढ्दै छ ।

गोरखाका राजेन्द्रराज पन्तले स्नातक पास गरेर जागिर खानुभन्दा पशुपालन पेशा रोज्नुभयो । उहाँको गोठमा अहिले दैनिक झण्डै एक हजार ६०० लिटर दूध उत्पादन हुन्छ । पन्तले २०५२ सालमा गाईपालन थाल्नुभएको थियो । अहिलेसम्म उहाँले सरकारको अनुदान लिनुभएको छैन । उहाँ भन्नुहुन्छ, “अनुदानको पछि वर्षौंसम्म लाग्नुभन्दा आफैँ काम गरेर आम्दानी बढाउन सकिन्छ ।”

गाईपालन र घाँसखेतीसँगै गर्दा किसानले बढी लाभ लिन सक्ने पन्त बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दाना किनेर खुवाउँदाभन्दा आफैँले घाँस लगाउँदा लगानी कम पर्छ ।” दानामा विभिन्न अखाद्य सामग्री मिसिएको हुन्छ तर घाँस धेरै खाँदा उपभोक्ताले दूध खान पाउँछन् । उहाँले ८० प्रतिशत घाँस र २० प्रतिशत पराल, दानालगायतका कुरा खुवाउने गर्नुभएको छ ।

व्यावसायिक कृषि र पशुपालन गर्ने व्यक्ति आफूमात्रै रोजगार भएका छैनन् धेरैलाई रोजगारीसमेत दिएका छन् । सानो परिमाणमा वा क्षेत्रफलमा गर्दा मुनाफा कम नै भए पनि ठूलो लगानी हुँदा जोखिम र आम्दानी दुवै बढी हुन्छ । मेहनतका साथ काम गर्दा स्वदेशमा नै विदेश जाँदाभन्दा मनग्य लगानी गर्न सकिन्छ भन्ने धेरैले प्रमाणित गरेका छन् । व्यावसायिक कृषि र पशुपालनमा सफल भएका कृषक धेरैका लागि प्रेरणाको स्रोतसमेत बनेका छन् ।

धनुषाका बौएलाल मुखिया माछापालनबाट पर्याप्त आम्दानी गर्दैआउनुभएको छ । उहाँ अहिले ६५ पोखरीमा माछापालन गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “मेहनत गरेर काम गर्दा सफल भइँदोरहेछ ।”

उहाँले २०२९ सालमा पोखरी भाडामा लिएर माछापालन शुरु गर्नुभएको थियो । यातायातको सुविधा राम्रो नहुँदा मुखिया आफैँ हिँडेर सदरमुकामसम्म माछा बेच्ने गर्नुहुन्थ्यो । त्यतिबेला कुरा काट्नेहरु अहिले आफ्नो सफलता देखेर अचम्मित बन्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काम छाड्न हुँदैन भन्ने सोचेर म लागेको छु ।” आफ्नो सफलताबाट प्रेरित भएर व्यावसायिक माछापालन धेरैले गर्न थालेका मुखियाले बताउनुभयो । –रासस

error: Content is protected !!