व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष, मासिक डेढ लाख आम्दानी

  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँची – परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ पाणिनी गाँउ पालिकाका अध्यक्ष अच्युत गौतमले कृषि व्यवसाय सुरु गर्नुभएको छ । उहाँ अहिले कृषि पेसाबाट मनग्य आम्दानी पनि गर्न सफल हुनुभएको छ ।

बिहान बेलुका र विदाको समयमा उहाँ तरकारी खेती र कुखुरापालनमा समय बिताउने गर्नुहुन्छ । ‘अरुले भाषण गर्छन म काम गरेर देखाउँछु’ उहाँले भन्नुभयो । हामी आफू अनुकुल काम गर्दैनौँ । समृद्धिको कुरामात्र गरेर हुँदैन उहाँले भन्नुभयो कृषिबाटै हामीले मनग्य आम्दानी गर्न सक्छौँ ।

उहाँले अहिले कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर बार्षिक १८ देखि २५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । उहाँको वार्षिक आम्दानीलाई हिसाब गर्दा मासिक एक लाख ६० हजार भन्दा बढी हुन आउँछ । यो आम्दानी कुनै जागिरबाट पनि सम्भव छैन । उहाँ नेपाली कांग्रेसको क्षेत्रीय सभापति पनि हुनुहुन्छ ।

उहाँको बारीमा काक्रा, घिरौला, लौका, मुला, टमाटार, बन्दा, सागलगायतका तरकारी उत्पादन भएका छन् । उत्पादन भएको तरकारी स्थानीय बजार र बुटवलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमले बताउनुभयो । बजारको पनि समस्या छैन ।

परिश्रम गरे यहीँको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्यवसायले अहिले सोचे भन्दा पनि बढी फाइदा दिएको उहाँले जानकारी दिनुभयो ।

तरकारी खेती मात्र हैन उहाँले अण्डा उत्पादन गर्ने कुखुरापालनलाई पनि सँगसँगै अगाडि बढाइ रहनुभएको छ । उहाँको कुखुरा फर्ममा अहिले एक दिनमा २ हजार देखि ३ हजार अण्डा उत्पादन हुन्छन् । अण्डा उत्पादनबाट कम्तीमा १५ देखि बढिमा २० लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

अहिले पोखराथोक, पणेना, मैदान पाटौटी र खिदीम गाविसमा उहाँकै कृषिबाट प्रभावित भएर युबाहरु समेत ब्यबसायीक तरकारी खेती र कुखुरापालनमा लागेका छन् ।

गाउँपालिकाको अध्यक्ष भएपछि पनि उहाँले धेरै युवाहरुलाई कृषि गर्न आग्रह गर्नुभयो तर अधिकांश युवाहरु वैदेशिक रोजगारमा जाने गर्दछन् । उनीहरुलाई प्रेरणा दिन पनि उहाँ अझ सक्रिय भएर लागेको गौतमले बताउनुभयो । गौतमले पाणिनी गाँउपालिकालाई कृषिमा पकेट क्षेत्र बनाउन लागि परेको जानकारी पनि दिनुभयो । उहाँले तरकारी खेती र कुखुरा पालन गरेर पाँच जनालाई रोजगार पनि दिनुभएको छ । – उज्यालो अनलाइनबाट साभार


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!