लोप हुँदै मखान खेती

महोत्तरी – विभिन्न चाड पर्वमा प्रयोग हुने मखान (मखना) खेती महोत्तरी जिल्लाबाट लोप हुँदै गएको छ । बदलिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौं मखान पोखरीमा माछापालन गर्न थालेपछि यहाँबाट मखान खेती लोप हुन थालेको सम्बद्ध व्यक्ति बताउँछन् । जिल्लामा विभिन्न चाडबाड, पूजाआजा, विवाह व्रतबन्धजस्ता शुभकार्य र श्राद्धमा समेतमा मखानको प्रयोग हुन्छ ।

मखान यहाँका व्यवसायीका लागि राम्रो आयआर्जन गर्ने माध्यम पनि बनेको थियो । निक्कै मीठो खाद्य पदार्थको रुपमा रहेको मखान भारतबाट समेत आयात हुन थालेकाले राज्यलाई ठूलो घाटा हुनाका साथै आफूहरू (मलाह जाती)को रोजगारी समेत घट्दै गएको मलाह सुदिश सहनीले गुनासो गर्नुभयो ।

केही वर्ष अघिमात्रै मखानले बजार लिएकाले उनीहरूले यसलाई रोजगारीको माध्यम बनाउँदै आएका थिए तर बढी आम्दानीका लागि पोखरीमा माछापालन गर्न थालेपछि उनीहरुको पेशा पनि सङ्कटमा परेको जलेश्वरका मलाह विजया मुखियाले बताउनुभयो ।

मखान पोखरीभित्र तयार भएपछि मलाह जातीले पोखरीमा डुबुल्की मारी पानी बाहिर निकाल्ने र मखान टिपेर घाममा सुकाइ आगोमा भूटेर लावा तयार गरी बेच्ने गर्दथे ।

मखान खेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर, वरदाहा, रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रलगायत दर्जनौं गाउँका करिव ५०० पोखरीमा हुने गरेकामा अहिले सबै पोखरीमा माछापालन हुन थालेपछि लोप हुँदैगएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here