कृषि मन्त्रीको खुलासा काठमाडौंमा रागाको मासु खान लायक छैन

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुमा धेरै सचेत हुनुपर्ने बताएका छन् । मन्त्रालयले मासुको नियमन गरिरहेको बताउँदै उनले भने, ‘काठमाडौंमा राँगाको मासु खानलायक छैन, अरु मासुपनि व्यवस्थित् छैनन् ।’

शुक्रबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै उनले मासुको अनुगमन तीब्र पारिएको बताए । ‘हामीले काठमाडौंमा मासुको अनुगमन गरिरहेका छौं । नेपालमा मासुको प्रयोग धेरै हुने गरेको छ । तर, नियमन भने हुन सकेको छैन’, खनालले भने ‘राँगाको मासुमा निकै अप्ठ्यारो स्थिति छ ।’

काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिने उनले बताए । ‘बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं । राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन’, खनालले भने, ‘तर, खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ । त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ । प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित रहेकोले बन्द गर्यौं ।’

बधशालालाई व्यवस्थित गर्न मासु जाँच ऐन-२०५५ जारी गरिए पनि कार्यान्वयन नभएको उनले गुनासो पोखे । ‘नेपालमा ऐन पारित गर्ने तर कार्यान्वयन नहुने समस्या छ’, उनले भने, ‘अब कार्यान्वयनतर्फ ध्यान दिनपर्छ । ऐन कार्यान्वयन नहुँदा मासुको स्थिति राम्रो देखिएन ।’

उनले काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पूरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने योजना सुनाए ।

उनले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे । उनले भने, ‘अरु मासु पनि व्यवस्थित छैनन् । तर, राँगाको मासु खानलायकको छैन ।’

मन्त्री खनालले अनुगमनपछि २२ पानी उद्योगमा ताला लगाएको सुनाउँदै अहिले सुधारउन्मुख रहेको बताए । उनले भने, ‘त्यस्तै दुधमा पनि अनुगमन गरेका थियौं । अहिले दुधमा ९२ प्रतिशत सुधार भएको छ । गुणस्तर कायम गरेका छौं ।’


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!