चैते धानमा बाला सुक्ने रोगको प्रकोप १५ प्रतिशत उत्पादन घट्ने अनुमान

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन, जेठ २६-

चितवनका किसानको खेतमा लहलह झुलेको चैते धानमा बाला सुक्ने रोगको प्रकोप देखा परेको छ । भित्र्याउने बेला भएको धानका बाला सुकेपछि किसानहरु चिन्तित बनेका छन् ।

दाना लाएर रातो हुनुपर्ने धान रोग लागेर बाला सुकेका छन् । काट्ने बेला हुन लागेको धानको बाला सुक्ने अनौठो रोगले किसानको धान उत्पादनमा कमी आउने भएको छ । उक्त प्रकोपका कारण चैते धानको उत्पादन १५ प्रतिशत घट्न सक्ने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।

पाक्ने बेलाको धानको पात, डाँठ र बालाको फेदमा यो रोग देखिएको रत्ननगर नगरपालिकाका कृषि शाखाप्रमुख तथा बाली संरक्षण अधिकृत शिवराज पौडेलले बताए ।

धान पसाउने बेलादेखि नै यो रोगको प्रकोप देखिएको उनी बताउँछन् । रत्ननगर ३, हाजीपुरका किसान नारायण आचार्यको १५ कट्ठाको धानमा उक्त रोगको प्रकोप देखिएको छ । ‘भित्र्याउने पाउँछु भनेर आशै छैन’, उनले भने, ‘एक दाना पनि बाँकी छैन ।’

पाक्न नपाउँदै धान सुकेर रातै भएको भन्दै उनले पराल पनि काम नलाग्ने गरी सुकेको बताए । सोही वडाको थगुनी चौधरी, कृष्णबहादुर खड्कालगायतका किसानको १५ बिघाको धानमा उक्त रोगको प्रकोप देखिएको पुष्पाञ्जली कृषक समूह हाजीपुरका अध्यक्ष शम्भुभक्त थपलियाले बताए । थपलियाको १० कट्ठामा लगाएको धानमा पनि सोही रोग देखिएको छ ।

‘पाक्ने बेलामा लागेको रोगले यस क्षेत्रका सबै किसानहरुलाई डुबायो’, उनले भने, ‘भित्र्याउने बेला भएकोले केही रोकथाम गर्न सकिएन ।’ भरतपुर महानगरका केही ठाउँमा यो रोग देखिए पनि पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको प्रकोप रहेको बाली संरक्षण अधिकृत पौडेलले बताए ।

सबैभन्दा बढी रत्ननगर ३ बेल्सी, हाजीपुर र वडा नं ६ बछौली र सौराहामा रोगको प्रकोप रहेको उनले बताए ।

चितवनमा ०७२ सालमा पनि यो रोगको प्रकोप देखा परेको थियो । तीन वर्षपछि देखिएको प्रकोप बर्खे धानमा पनि देखिन सक्ने भएकाले बीउको उपचार गर्न पौडेलले किसानलाई आग्रह गरेका छन् । बर्र्खेे धानमा यो रोगको प्रकोप देखा प¥यो भने झनै ठूलो नोक्सान हुने भएकाले किसानहरु सचेत हुनुपर्ने उनी बताउँछन् ।

प्रतिकूल मौसम, बढी पानी, आद्रता बढी र बीउ उपचार नगरी रोपेका कारण यो रोगको प्रकोप देखा परेको जिल्ला कृषि विकास कार्यालय भरतपुरका प्रमुख सुधीर श्रेष्ठले बताए । चितवनका किसानले करिब ५ हजार हेक्टरमा चैते धान र २९ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने गरेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!