उजाड बगरमा हरियो तरकारी

  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी – ६० वर्षीय हबिब अहमदको पूरै जीवन बालुवामा पानी हाल्दैमा बित्यो । उनले आफ्नै सिको गर्न लगाए, छोरा सफिरलाई पनि । हबिब परिवार कैलालीको खुटिया नदीको बगरमा हरियो तरकारी फलाउन व्यस्त छ । यसैबाट उनीहरूको जीविका चल्छ ।

हबिबले करिब ३ बिघा बगरमा तरकारी फलाएका छन् । बर्खा लागेर बाढीले नबगाउन्जेलसम्म छोरा सफिरले बगरबाट तरकारी टिपेर बजार पुर्‍याउने काम छोड्ने छैनन् । तीन महिना उनी नदीको किनारमा बसेर बर्खा काट्छन् । फेरि बगरको बालुवामा हरियो फलाउन उस्तै व्यस्त हुन्छन् । ‘यो मेरो खानदानी पेसा हो,’ उनले भने ।

भारतको औद्योगिक नगर रुद्रपुरका हबिब ३० वर्षअघि धनगढी आएका थिए । दुई भाइको परिवारलाई पनि आफूसँगै ल्याए । रुद्रपुरमा औद्योगिक क्षेत्र स्थापना भएपछि स्थानीय नदीको बगरमा तरकारी लगाउने समुदाय विस्थापित भयो । हबिबका छोरा सफिर भन्छन्, ‘उद्योगले काम नलाग्ने वस्तु नदीमा बगाइदिँदा बगर कालो भयो । प्रदूषण पनि बढ्यो । त्यसपछि बुबाका तीन भाइ परिवार बगर खोज्दै यहाँसम्म आइपुगे ।’ पछि भारतकै सीतारगन्जलगायत बजारबाट बगर खेती गर्ने परिवार यहाँ थपिए । अहिले मोहना र खुटिया नदी बगरमा १५ परिवार भारतीय छन् ।

सफिर मोहना नदीकै बगरमा जन्मिए । बुबासँगै बालुवामा पानी हालेर हरियो फलाउन सिके । उनी भन्छन्, ‘बगरमै हुर्कें, ठूलो भएँ, बगरकै झुपडीमा बिहे भयो, अहिले परिवारको गुजारा पनि बगरमै गरेको मिहिनेतबाट भइरहेको छ ।’ उनको परिवारले तीन बिघा क्षेत्रफलमा तरकारी लगाएको छ । वार्षिक ५ लाखको तरकारी बेच्ने गरेको बताउँछन् । यतैको आम्दानीले रुद्रपुरमा घरघरेडी जोडेका छन् । अहिले भारतीयका साथै रैथानेहरूले पनि बगरमा तरकारी लगाउन सुरु गरेको सफिरले बताए ।

‘अब नेपाली पनि बगर खेतीतर्फ आकर्षित हुँदै छन् । यहाँबाट पनि विस्थापित हुनुपर्ला जस्तो छ,’ सफिरले भने, ‘पहिलो हाम्रो बुबाले बगरमा तरकारी फलाउँदा नेपालीका घरमा करेसाबारी पनि हुन्थेन । तरकारी लगाउन हामीबाटै सिकेका हुन् ।’ खुटियाको कनरी नदी पुल क्षेत्र आसपासको १५ बिघा बगर क्षेत्र पूरै हरियो देखिन्छ । काँक्रा, फर्सी, तरभुजा, खुर्सानी, लौका र करेलालगायत तरकारी फलाएर बगरलाई हरियाली बनाएका छन् ।

बगर खेती बर्खाका तीन महिना बन्द हुन्छ । त्यसबेला उनीहरू नदीको ढिकमा बसेर बेर्ना उमार्छन् । असोजबाट नदीमा बाढी नआउने भएकाले बगरमा काम गर्न सुरु गरिन्छ । बाढी आएर नबगाएसम्म बगरको तरकारी बजार पुग्ने गरेको सफिरले बताए । बगरमा उत्पादित तरकारीको मुख्य बजार धनगढी हो ।

हुलाकी सडक निर्माण भएपछि उनीहरूले कनरीको पुलको छेउमा छाप्रा बनाएर तरकारी बेच्ने गरेका छन् । स्थानीयले पनि तरकारी खरिद गर्छन् । बगरमा उत्पादन हुन थालेपछि भारतबाट आयातित हुने तरकारी घटाएको व्यवसायी भोजराज जोशीले बताए ।

बगर खेतीको विस्तारसँगै स्थानीय तहले राजस्व पनि उठाउन सुरु गरेको छ । धनगढी उपमहानगरपालिकाले मोहना र खुटिया नदीको बगर क्षेत्रमा तरकारी फलाउनेबाट वार्षिक राजस्व उठाउने गरेको हो । खुटिया नदीको १५ बिघा क्षेत्रमा बगर खेती गर्नेहरूले वार्षिक ६०हजार ठेकेदारलाई बुझाउने गरेको बताउँछन् । ‘नेपाली नभएकाले बगरको ठेक्का स्थानीयले लिन्छन् र हामीलाई तरकारी लगाउन दिएबापत ६० हजार रुपैयाँ लिन्छन्,’ सफिरले भने । – कान्तिपुरबाट

  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here