काठमाडौं । त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले यो वर्ष कृषिको स्नातकोत्तर तहमा एम. एस्सी. (कृषि ) ,बाली प्रजनन (Plant breeding) मा भर्ना नलिने भएको छ । बाली प्रजननकाे क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने विभागमा भर्ना नलिने भएपछि यसको तयारी गरेर बसेका विद्यार्थी मारमा परेका छन् । त्रिविले वर्षको एक पटक प्रवेश परीक्षामार्फत सेमेष्टर प्रणालीमा ७० देखि ८० जना मात्र विद्यार्थी पढाउँदै आएको छ ।
यो वर्ष बाली प्रजननमा भर्ना नलिदा ८ देखि १० जना विद्यार्थी अध्ययनबाट बञ्चित हुनेछन् । त्रिविले भर्ना नलिने सम्बन्धमा विद्यार्थीको सर्वत्र चासो बढेपछि हामीले त्रिवि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिन सह–प्रा सरोजराज मिश्रसँग यो बारेमा चासो राखेका थियौ । मिश्रका अनुसार प्राध्यापकको अभावमा यो वर्ष बाली प्रजनन् विषयमा भर्ना रोकिएको बताउनुभयो । त्रिवि जस्तो नेपालको सबैभन्दा ठूलो विश्वविद्यालयले प्राध्यापकको अभावमा भर्ना लिन सकिएन भन्न मिल्छ ? भन्ने हाम्रो प्रश्नमा मिश्र अनुत्तरित भए । उता विद्यार्थीले भने त्रिविले सेटिङका आधारमा बाली प्रजनन् विभागमा भर्ना रोकेको आरोप लगाएका छन् ।
बाली प्रजनन् जस्तो महत्वपूर्ण विषयमा एक वर्ष पढाइ नहुनु भनेको देशका लागि ठूलो घाटाको विषय हुने बाली प्रजनन् विज्ञ प्रा.डा. सुर्यकान्त घिमिरे बताउनुहुन्छ । लामो समय बाली प्रजनन् काे क्षेत्रमा रहनुभएका घिमिरे भन्नुहुन्छ बाली प्रजननको पढाइ नेपालमा निकै महत्वपूर्ण हुने भए पनि यसमा सरकार र विश्वविद्यालय गम्भिर नबनेकाले प्रभावकारिता नदेखिएको हो । यसको उचित अध्ययन र परिचालन हुँदा नेपालको कृषि क्षेत्रमा ठूलो सकारात्मक असर पार्ने उहाँ बताउनुहुन्छ ।
कृषि प्रधान देशमा दक्ष कृषि प्राविधिक उत्पादनमा विश्वविद्यालयको ठूलो हात हुन्छ । तर देशकै ठूलो विश्वविद्यालयले कृषिको महत्वपूर्ण इकाइ रहेको बाली प्रजनन् मा अध्यापन गराउन नचाहनुमा चलखेल भएकाे विद्यार्थीकाे बुझाइ छ ।