नेपालमा मल ठेक्का प्रणाली नै गलत छ : कृषि मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताउनुभएको छ। मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उहाँले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताउनुभयो।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताउनुभयो । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिनुभयो ।

अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उहाँले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले बताउनुभयो । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएकोसमेत बताउनुभयो।

Leave a Reply