सरकारले फेरि फुटायाे कृषि विकास मन्त्रालय

काठमाडौं – सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय बनाउने निर्णय गरेको हो ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि भागबण्डा मिलाउनकै लागि मन्त्रालय फुटाइएको हो । अहिले २० वटा मन्त्रालय रहेकोमा भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालय थपिएसँगै मन्त्रालयको संख्या २१ पुगेको छ ।

केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला सत्ता साझेदारहरुलाई मन्त्री पद मिलान गर्नका लागि कृषि विकास मन्त्रालय विभाजन गरी कृषि विकास मन्त्रालय र पशुपन्छी विकास मन्त्रालय बनाइएको थियो ।

मन्त्रालय विभाजन पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाणी खनालले लिने तयारी भएकाे बताइएकाे छ ।  भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी भने स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी पद्मा अर्याललाई दिने भन्ने तयारी भैरहेकाे स्राेतले जनाएकाे छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य तथा कपिलवस्तु क्षेत्र नं.–१ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य चक्रपाणि खनालले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै अाएका थिए ।

error: Content is protected !!