नेपालमा कृषिको अनलाइन अध्यापन कति सम्भव? कति प्रभावकारी? सर्वेक्षण रिर्पोट!

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यतिबेला विश्व आक्रान्त बनेको छ । उद्योग, कल–कारखाना, शिक्षण संस्थादेखि यातायातका साधनसम्म ठप्प छन् । हरेक कामका लागि विकल्प खोज्ने क्रम जारी रहेको छ ।

इन्टरनेटको पहुँच भएका र इन्टरनेटको माध्यमबाट काम गर्न सकिने कार्यहरु घरबाटै भइरहेका छन् । कोरोनाका कारण शिक्षण संस्थाहरु पनि ठप्प रहँदा अध्ययन अध्यापनका लागि विकल्पहरु खोज्न थालिएको छ ।

यसै सन्दर्भमा नेपालको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले पनि अनलाइनमार्फत कक्षा सञ्चालनका लागि पहल थालेको छ । विभिन्न क्याम्पस तथा विद्यालयले यसको अभ्यास पनि थालेका छन् ।

यसै सन्दर्भमा रहेर नेपालको नम्वर एक कृषि अनलाइन पत्रिका www.krishidaily.com ले नेपालमा कृषिको अध्ययन गराइरहेका विश्वविद्यालय तथा सम्बधन प्राप्त क्याम्पसमा अनलाईन कक्षाको सम्भाव्यताको सर्वेक्षण गरेको छ ।

सर्वेक्षणका लागि संस्थाले विभिन्न विश्वविद्यालय तथा आगिंक क्याम्पसमा अध्ययनरत ५ सय ५७ जना विद्यार्थीलाई अनलाइन कक्षाको प्रभावकारिताको अध्ययनमा सहभागि गराएको थियो ।

बहुबैकल्पिक प्रश्नमा आधारित रहेर गरिएको सर्वेक्षणका लागि संस्थाले नेपालको सबैभन्दा ठूलो कृषि विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनको सहयोग लिएको थियो भने यस सर्वेक्षणमा विश्वविद्यालयका सह-प्राध्यापक डा. निराजन भट्टराइले प्रत्यक्ष सहयोग र समन्वय गर्नुभएको थियो ।

सर्वेक्षणका अनुसार १७% ले  इन्टरनेटको राम्रो पहुँच भएको बताएका छन । त्यस्तै गरि  ४९% ले  इन्टरनेटको पहुँच भएको , ३०% ले  सामान्य पहुँच भएको र ४% ले  इन्टरनेटको पहुँच नभएको बताएका छन् ।

सर्वेक्षणमा ५३% छात्रा र ४७% छात्र विद्यार्थी सम्मिलित थिए । सर्वेक्षणमा त्रिभुवन विश्वविद्यालयका ४२% , कृषि तथा बन विज्ञान विश्वविद्यालयका ३९%, पूर्वाञ्चल विश्वविद्यालयका  १७% र अन्य विश्वविद्यालयका २% विद्यार्थी रहेका छन् ।

सर्वेक्षणमा स्नातक तहमा अध्ययनरत ८१% र  स्नातक भन्दा माथिल्लो तहमा अध्ययनरत १९% सहभागि थिए ।

सर्वेक्षणले ४१% कृषिका विद्यार्थी बाग्मती प्रदेशमा रहेको देखाएको छ । त्यस्तै गरि प्रदेश नं. ५ मा १९%, गण्डकी प्रदेशमा १८%,  सुदुरपश्चिम प्रदेशमा ९%, प्रदेश १ मा ५% , कर्णाली प्रदेशमा ३ % र प्रदेश नं. २ मा ४%   रहेको पाइयो ।

भौगोलिकताको आधारमा  हेर्दा ६०% तराईमा, ३७%  पहाडमा र ३% हिमाली क्षेत्रमा रहेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणले ४०% विद्यार्थी बजार नजिकका ठाउमा  ३४% शहरमा  २३% ग्रामिण भेगमा र  ३%  दुर्गम भेगमा रहेको पाइएको छ ।

विद्यार्थीहरुमा इन्टरनेट चलाउनको लागि प्रयोग गरिने ग्याजेटका सम्वन्धमा सोधिएको प्रश्नमा  ५४% ले स्मार्ट फोनको सुविधा रहेको,   ३८% ले  कम्प्युटरको पहुँच रहेको  र  ८% ले सामान्य मोबाइल रहेको बताएका छन् ।

इन्टरनेट सेवाको प्रकारको आधारमा सोधिएको प्रश्नमा ७३% ले वाईफाईको  र २७%ले मोबाइल डाटा प्रयोग गरेको पाइयो ।

विद्यार्थीहरुलाई उनीहरुको विश्वविद्यालयले शुरुवातको तयारी गरेको अनलाइन कक्षाको योजना कस्तो लाग्यो भन्ने प्रश्नमा ५१% ले अत्यन्तै प्रभावकारी हुन सक्ने बताएका छन । ३७% ले  तटस्थता देखाएका छन र १२% उपयोगी नभएको बताएका छन ।

यदि विश्वविद्यालयले अनलाइन कक्षा शुरु गरेको खण्डमा सहभागि हुने इच्छुक  विद्यार्थीहरुमा ७५% रहेका छन् । तटस्थमा १३% र अनिच्छुकमा १२% रहेको पाइयो ।

केही विश्वविद्यालयहरुले अनलाइन कक्षा शुरु गरिसकेको अवस्‍था पनि छ । त्यस सम्वन्धमा सोधिएको प्रश्नमा ४०% ले सामान्य उपयोगी ,४०% ले उपयोगी र ९% ले अत्यन्त प्रभावकारी र ११% ले उपयोगी नभएको बताएका छन् ।

हाल कोभिड १९ को महामारीको अवस्थामा ७४% विद्यार्थीले  विश्वविद्यालयले कक्षा सञ्चालन गरेको अवस्थामा सहभागि हुने प्रतिक्रिया जनाएका छन् भने २६% ले महामारी नियन्त्रण भएपश्चात मात्रै कक्षा सञ्चालन गर्न सुझाएका छन् ।

अहिलेको कठिन परिस्थितिमा विद्यार्थीहरुले सैद्धान्तिक शिक्षा अनलाइनबाट लिने भएपनि प्रयोगात्मक शिक्षा लिनको लागि अफ्ट्यारो पर्ने देखिन्छ ।

कृषि तथा बन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय अन्तर्गतको  बी.एस.सी फिसेरी  र बी. भी. एस्सी एण्ड ए. एच. काे प्रवेश परिक्षा समेत अन्योलमा छ ।

अनलाइन कक्षा सँचालन भएपनि परिक्षा र नतिजा प्रकाशनको काम अन्योलमा हुदा शैक्षिक क्यालेन्डर समेत प्रभावित हुने चुनौति थपिएको र विकल्पका बारेमा सोच्नुपर्ने विज्ञहरु बताउछन ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here