एक्वापोनिक्स खेती प्रणाली के हो ? नेपालमा किन आवश्यक छ ?

कृषि क्षेत्रमा भएको खोज र अनुसन्धानका कारण दिनानुदिन नयाँ खेती प्रविधि, नयाँ बाली, जात र गुणस्तर सुधार भैरहेको छ । यस्तै नविनतम प्रविधि मध्यको एक हो : एक्वापोनिक्स उत्पादन प्रणाली ।

एक्वापोनिक्स भनेको माछा र बिरुवा सङ्गसङ्गै हुर्काउन सकिने एकीकृत उत्पादन प्रणाली हो जसमा पानीको माध्यमबाट माछाको विकारहरु सुक्ष्म जिवाणुले टुक्राएर बिरुवालाई प्रदान गर्दछ र छानिएको पानी पुन: माछाले पाउँछ । यस प्रक्रियाबाट जमिन र पानीको अभाव भएका ठाउँहरुमा उत्पादन र आर्थिक हिसाबले अकुवापोनिक्स उपयोगी मानिन्छ । तर, अलि जटिल र धेरै प्रारम्भिक लागत लाग्ने हुनाले उपयुक्त व्यवसायिक योजना, बजार व्यवस्थापन र माछा र ताजा सागसब्जी पर्याप्त मात्रामा उतपादन गर्न नसके नाफा कमाउन असम्भव देखिन्छ ।

यसलाई कतिले त धनिले गर्ने खेती भन्छन । सामान्य नेपाली कृषकलाई हैन यो खेती भन्छन् तर यो त्यस्तो नभै जग्गा नहुने तर पनि ताजा र स्वस्थकर खान रुचाउनेहरुको लागि विकल्प हो ।

केही वर्ष यता विश्वभरी एक्वापोनिक्स चर्चामा रहनुको कारणमा दिगो कृषि प्रणाली, न्यूनतम पानीको प्रयोग, १०० प्रतिशत प्राङगारिक माछा र तरकारी फलफुल उत्पादन गर्न सकिने, माटो नचाहिने, रासायनिक मल नचाहिने र कम जनशक्ति आवश्यकता आदि रहेका छन् । अर्को तर्फ हेर्दा धेरै चर्चामा भएतापनी व्यवहारमा कम प्रयोग हुनुमा ठूलो प्रारम्भिक लागत, प्राविधिक ज्ञान, उर्जा र खर्चिलो प्रविधि आदि कारण्हरु पर्दछन् ।

नेपालमा अनियन्त्रित जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण र पुर्वाधार निर्माणका कारण हाल एक्वापोनिक्सको उपयोगिता त्यती धेरै नदेखिएता पनी भविष्यमा खेती योग्य जमिन र माटोको अभाव हुँदा अर्गानिक खेतिको एक मात्र विकल्प एक्वापोनिक्स हो ।

हाल मानिसमा स्वास्थ्य र स्वस्थ खानेकुराको चासो बढ्दो भएको कारण एक्वापोनिक्सबाट उत्पादित माछा र तरकारिले बजार नपाउने सम्भावना न्यून छ ।

काठमाडौ, भक्तपुर, पोखरा, विराटनगर, नेपालगन्ज आदि सहरी क्षेत्रहरूमा उत्पादन योग्य जमिन र माटो ह्रास हुँदै छ । त्यसकारण माटो संरक्षण गर्नुका साथै वैकल्पिक खेती प्रणालीको बारेमा खोज, अनुसन्धान र चासो राखिराख्नु अतिआवश्यक छ ।

सरकारी, गैरसरकारी र विश्वविद्यालय तर्फबाट यस क्षेत्रमा गहन अध्ययन अनुसन्धान, दक्षता, सीप विकास गर्नु पर्ने आवश्यकता देखिन्छ । भावी पुस्तालाई स्रोत र साधन मात्र नभई प्रविधि खोज र हस्तान्तरण गर्नु अहिलेको पिढिको कर्तव्य हो ।

Leave a Reply