गहुँ र हिउँदे तथा बसन्ते मकैमा शून्य जोताई प्रविधि अपनाउने कि ?

  • 239
  •  
  •  
  •  
  •  
  •  
    239
    Shares


एक ईन्च माटो बन्न ५०० वर्ष सम्म लाग्दछ । अर्कोतिर परम्परागत खेती प्रर्णालीबाट तथा प्राकृतिक श्रृजित भूःक्षयबाट वर्षेनी उल्लेख्य मात्रामा २ देखि १०५ मे.टन. माटो प्रति हेक्टर प्रति वर्ष नोक्सान हुने गरेको छ । बोट बिरुवा सप्रन र बाली उत्पादन वृद्धिका लागि पानी, मलको उपलब्धता र माटोको अवस्था राम्रो हुन पर्दछ । पानी र हावा २५-२५% , प्राङ्गारिक पदार्थ ५% र खनिज पदार्थ ४५% को समिश्रणबाट माटो बनेको हुन्छ । कृषि उत्पादनका लागि माटोमा हुने प्राङ्गारिक पदार्थ एक महत्वपूर्ण परिसूचक भएकाले माटोमा यसको उपस्थिती जरुरी रहन्छ । तर घट्दो प्राङ्गारिक पदार्थको प्रयोग र बढ्दै गएको सघन खेती पद्धतीबाट माटोको उर्वरा शक्ति क्षयिकरण भैरहेको स्थिति विद्यमान छ ।

हाम्रा प्रमुख बालीहरु धान, मकै, गहुँ, कोदो, दलहन, तेलहन, आदिको उत्पादनमा रहेको स्थिर र नगन्य बृद्धिदर, उत्पादन सामग्रिको अभाव, युवाको रोजाईमा नपर्ने कृषि पेशा, क्रमिक रुपले बढ्दै गएको उच्च खेती खर्च साथ संघर्षरत किसान समुदाय बाध्यात्मक परिस्थितीसँग जुझ्दै एक कदम अगाडी बढ्न तल्लीन छ । विश्व एक पछि अर्को कृषि उत्पादन बृद्धि गर्ने बैकल्पिक बाटो पहिचान गर्न प्रयासरत छ । झारनाशक बिषादीको पहिचान र विकाश पश्चात संरक्षण कृषिको अबधारणाको विकाश भएसँगै शून्य वा न्यून जोताइ प्रबिधी शुरु भएको छ ।

शून्य जोताई (Zero Tillage) प्रविधि भनेको बीउ रोप्दा चाहिने माटो मात्र चलाई कम वा बिना खनजोत गरी गरिने खेती हो र यो अभ्यास संरक्षण कृषिकाे एक अंग हो । मकै, गहुँ आदि जस्ता प्रमुख बालीको खेती शून्य जोताई प्रविधिबाट पनि गर्न सकिन्छ । शून्य जोताइ भन्दा जोत्दै नजोत्ने भने होईन र बीउ राख्न र पुर्नका लागि सियो (Furrow) बनाईन्छ । ज्याब प्लान्टर, ट्रयाक्टरबाट संचालित मल बिउ खसाल्ने (Seed cum Fertilizer Drill) प्रयोग गरी बालीको बीउ लगाउन सकिन्छ । नेपालमा २०५७ सालतिर Zero Till Seed Drill भित्रिएपछि यस पद्धतिको कृषि अनुसन्धान, विश्वविद्यालय, प्रसार सेवाबाट प्रमाणिकरण र बिस्तार हुँदै गरेको पाईन्छ र तराईका केहि जिल्लाहरुमा यो प्रविधिबाट गहुँ र हिउँदे तथा बसन्ते मकैको खेती गर्ने गरिएको छ ।

सिड कम फर्टिलाईजर मेशिनको जरुरी हुने हुँदा समुदायमा जोताईका लागि ट्रयाक्टरको प्रयोग झैं कुनै किसानले खरिद गरी आफुले तथा भाडामा अन्य किसानहरुलाइ पनि दिइ प्रयोग गर्न सकिन्छ । यो प्रविधि सम्भाब्य क्षेत्रमा पालिकाहरुले पनि यस किसिमको मेसिनको व्यवस्था गर्ने कार्यक्रम राख्न उपयुक्त हुन्छ ।


चित्र नं. १: शून्य जोताई प्रबिधीमा लगाईएको मकै

शुन्य जोताई प्रविधि अपनाउँदा कृषकहरुले अपनाउनु पर्ने केही मुख्य कार्यहरु :

१. पानी जम्ने जग्गा छ भने निकासको व्यवस्था गर्ने र जग्गा समतल छैन भने सहज सिंचाईका लागि सम्याउने कार्य गर्ने ।
२. पहिलो वर्ष थोरै (१० प्रतिशत) जग्गामा मात्र परीक्षण स्वरुप शून्य जोताई शुरु गर्ने, अभ्यास गरीसकेका कृषकहरुले सम्भाब्य सबै जग्गामा बिना वा कम जोताई तरिकाबाट बाली लगाउन सकिन्छ ।
३. बिना खनजोत बाली लगाउने मेसिन (Seed drill machine) को व्यवस्था गर्ने । पहिलो वर्ष थोरै जग्गामा कोदालोले बीउ लगाउने लाईन बनाई बीउ रोप्न सकिन्छ वा बजारमा पाइने हाते मेसिनको प्रयोग गर्ने ।
४. आवश्यक मात्रामा मल र समयमा सिंचाईको व्यवस्था गर्नु पर्दछ ।
५. यस्तो प्रविधिका लागि प्राङ्गारिक पदार्थयुक्त बलौटे दुमट माटो हुन पर्दछ र झारपात नियन्त्रण हुन जरुरी छ । झारपात नियन्त्रणका लागि उपयुक्त झारनाशक विषादीको व्यवस्था र प्रयोग गर्ने । जग्गामा झार भए बाली लगाउनु अघि ग्लाईफोसेट नामक बिषादि प्रयोग गर्ने र बाली लगाएपछि बाली अनुसार बिषादी प्रयोग गर्न पर्दछ ।
६. मकैबालीका लागि मेट्रिबुजिन १ ग्राम प्रति लिटर पानीमा राखी मकै लगाएको ३ दिन भित्र र १५ देखि २० दिनमा २ पटक प्रयोग गरी झार नियन्त्रण गर्न सकिन्छ ।
७. मकैमा कालो प्लाष्टिक छापोको रुपमा प्रयोग गर्नाले माटोमा भएका झारपातहरुको बीउ मर्छ र प्लाष्टिकले ४ हप्तामात्र पनि जग्गालाई छोपि राख्नाले ८० प्रतिशत सम्म झारपातको बीउको उमार शक्ति नष्ट हुने गर्दछ ।
८. गहुँका लागि गहुँ लगाएको २५– ३० दिनमा २–४, डी सोडियम साल्ट १ ग्राम र आईसोप्रोट्युरान २ ग्राम प्रति लिटर पानीमा मिसाएको २० लिटर झोल एक कठ्ठामा वा सल्फोसल्फ्युरान १३ ग्राम गेडा र ५०० मि.लि. झोल २०० लिटर पानीमा मिसाएर १० कठ्ठा जग्गामा छर्दा झार नियन्त्रण गर्न सकिन्छ ।
९. यथासक्य एथेष्ठ मात्रामा अघिल्लो बालीकैे वा बाहिरबाट ल्याएर छापो प्रयोग गर्ने ।

चित्र नं. २: शून्य जोताई प्रबिधीमा लगाईएको गहुँ

शून्य वा न्यून जोताई प्रविधिबाट हुने फाईदाहरु:
१. यस पद्धतिले समयको बचत गर्दछ, ज्यामीको माग र मेसिनको प्रयोग पनि घटाउ‘छ । जग्गा तयारी र गोडमेलमा बचत भएसँगै उत्पादन लागत परम्परागत कृषिमा भन्दा करिब ४० देखि ५० प्रतिशतले कमि हुन्छ साथै यस प्रबिधी अपनाउनाले ६० प्रतिशत सम्म इन्धनको बचत हुन्छ । यस प्रकार खेती खर्च बचत भै कृषकलाई आर्थिक लाभ हुन्छ ।
२. समयमा झार नियन्त्रण, सिंचाई र उपयुक्त मलखाद प्रयोग भएमा उत्पादन जोतेर लगाए बराबर नै हुन्छ भने भूःक्षयमा कमि आउँछ ।
३. धान कटानी पछि बढी चिस्यान हुने खेतमा जग्गा तयार गर्न ढिला भै बाली लगाउन पनि ढिला हुन्छ । अतः माटोमा चिस्यान घटेपछि यस प्रविधिबाट तुरुन्तै बाली लगाउन सकिने हुनाले कम्तिमा पनि एक हप्ता चाँडो बाली समयमा नै लगाउन सकिन्छ ।
४. जीरो टिल सिड ड्रिल, फर्टिलाइजर कम सिड ड्रिल, हाते प्लान्टर, रो क्लिनर, विडर, जमिन सम्याउने (लेजर ल्यान्ड लेभलर) आदी जस्ता शून्य तथा कम खनजोत प्रयोजनका लागि विकसित बिभिन्न कृषि यन्त्रहरु एवं शुरुवातमा देखिने झारपातको नियन्त्रणका लागि झारपात नाशक विषादीहरु छर्न बनेका कृषि यन्त्रहरुको प्रभाबकारी उपयोग हुन सक्दछ ।
५. इन्धनको खपत पनि कम हुने हुनाले जलवायु परिवर्तनका कारक तत्वहरुको उत्पादन न्यून हुने हुँदा जलवायु परिवर्तन अनुकुलन प्रविधि पनि भनिन्छ ।

चित्र नं. ३ : शून्य जोताई प्रबिधीमा लगाईएको गहुँ  पाकेकाे अवस्थामा

उपरोक्त बमोजिम बीउ रोप्दा चाहिने माटो मात्र चलाई कम वा बिना खनजोत गरी बालीको पराल, नल जमीनमै छोडी जमिन ढाकेर गरिने खेतीलाइ  संरक्षण कृषिका रुपमा परिभाषित गर्न सकिन्छ । यस पद्धतिमा बाली चक्र्रमा कोशेबाली वा हरियोमल समावेशिताको महत्व उत्तिकै रहने गर्दछ । अतः यसरी कृषि प्रणालीको दिगो विकासका लागि माटो, पानी र जैविक श्रोतहरुको संभाव्य व्यवस्थापनबाट संरक्षण, सुधार र उपयोग गरिन्छ । दक्षिणी अमेरिकाका केहि देशहरुमा खेती गरिएको जग्गाको एक तिहाई देखि आधा जग्गामा संरक्षण कृषि पद्धतिबाट खेती हुने गरेको छ । त्यस्तै बेलायत र एशियन देश भारत, पाकिस्तान, बङ्गलादेशमा पनि यस प्रविधिबाट खेती हुने गरेको पाईन्छ । त्यसैले शून्य वा न्यून खनजोतका साथै अघिल्लो बालीकैे ३०% नल/पराल जमिनमै छोडी वा बाहिरबाट ल्याएर छापो प्रयोग गरी संरक्षण कृषिका रुपमा खेती गर्न सके निम्न थप फाईदा हुन्छन् ।

१. औषतमा नल परालहरुमा ०.८% नाइट्रोजन, ०.१ % फस्फोरस र १.४ प्रतिशत पोटासियम पाइने भएकाले संरक्षण कृषिका कारण माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढ्दछ साथै माटो फोप्रो हुने तथा माटोको पानी सोस्ने र संचित गरेर राख्ने क्षमताको अभिवृद्धी भै बालीको उत्पादन बढाउन मद्दत गर्दछ । संरक्षण कृषिका कारण जमिनको सतहदेखि ६० सेमी गहिराई सम्मको गहिराइमा चिस्यानको मात्रा संचित भएर रहने हुनाले बालीनालीमा तुलनात्मक रुपले सुख्खा र खडेरिको प्रकोप कम हुन्छ । ब्राजिलमा १७ बर्षसम्म गरिएको एक परीक्षणमा परम्परागत कृषिमा ३.४ देखि ८.० मेट्न भूःक्षय हुँदा संरक्षण कृषिमा ०.४ मे.टन प्रति हेक्टर मात्र भूःक्षय भएको पाईएको थियो । यस प्रकार माटोमा हुने प्राङ्गारिक पदार्थ बृद्धि, पानी अडिने शक्तिको बृद्धि तथा भुःक्षयमा कमि हँुदा माटोको दिगो व्यवस्थापन हुन मद्दत पुग्दछ ।

चित्र नं. ४: शून्य जोताई प्रबिधीमा लगाईएको मकै

२. यदि खेती गरिएको माटो प्राङ्गारिक पदार्थयुक्त बलौेटे दुमट छ र छापोको यथेष्ट बन्दोबस्त छ भने सुरुवात देखि नै उत्पादनमा कमी आउदैन । संरक्षण कृषि अपनाएको शुरुवातका वर्षहरुमा उत्पादनमा कमी भए पनि बाली प्रणाली हेरिकन पाँचाैँ वर्षबाट क्रमशः बढ्दै जाने र नवौं दशौं बर्षमा परम्परागत कृषिकोे उत्पादकत्व ५ देखि १५ प्रतिशतले घट्दा संरक्षण कृषिको भने ५ देखि २० प्रतिशतले बढेको युगाण्डाका एक किसानको अनुभव छ । यसरी दिर्घकालिन रुपमा बालीको उत्पादकत्व बृद्धिमा निरन्तरता दिन सकिन्छ ।
३.संरक्षण कृषिमा खनजोत पनि नगरी बाली विरुवाको छापोको प्रयोग गरिने हुनाले सतहमा रहेको झारपातको बीउ पहिलो सिजनमा कुहिएर वा माटोमा निहित जीवजन्तुले खाइदिने हुँदा उम्रन नपाई जीवनचक्र नष्ट हुन्छ । परम्परागत कृषिका तुलनामा संरक्षण कृषिमा झारको प्रकोप ३० प्रतिशत कम हुने हँुदा झारपातको दीर्घकालिन व्यवस्थापन हुन सक्दछ ।
४.जंगलको बिनाश, माटोको अत्याधिक खनजोत, हिल्याएर रोपिने धानखेत, बालीको नल, पराल, ढोंड आदि जलाइनु, पशुबस्तुको आहारामा यथोचित ध्यान नदिइनु आदि कारणले हरितगृह ग्यांसहरुको उत्सर्जन बढ्दो छ । संरक्षण कृषिको कारण कार्बन डाइअक्साइड् ग्यॉसको १० प्रतिशत हिस्सा माटोले नै स्थिरीकरण गर्ने हुनाले ग्यॉस उत्सर्जन घटाउ‘छ । त्यस्तै एक अध्ययनमा प्राङ्गारिक पदार्थको बृद्धि संगै मकैको बानस्पतिक बृद्धिका समय २५–३० दिनको लामो खडेरि पर्दा समेत परम्परागत कृषिमा भन्दा संरक्षण कृषि प्रबिधिकै कारण ३ गुणा सम्म मकैको उत्पादन बढेको पाईएकाले जलवायु परिवर्तन अनुकुलन प्रविधिका रुपमा चित्रण गर्न सकिन्छ ।

लेखक केसी सेवा निबृत्त कृषि बैज्ञानिक एवं पूर्ब राष्ट्रिय मकैबाली अनुसन्धान संयोजक हुनुहुन्छ ।


  • 239
  •  
  •  
  •  
  •  
  •  
    239
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here