जंगली जनावर आतंक : बँदेलले हैरान बनायो किसानलाई

महोत्तरी

चैत १ – महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलको हर्कतले किसान हैरान भएका छन् । जिल्लाको उत्तरवत्र्ती वन क्षेत्रबाट १५ किलोमिटर दक्षिणका बस्ती/बस्तीमा जंगली बँदेल पसेर दिनहुँ बालीनाली सखाप पारेपछि किसानको हैरानी बढेको हो ।

जिल्लाको भंगाहा नगरपालिका–४ को वडा नं ५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जंगली बँदेल पसेर उधुम मच्चाएको छ । पछिल्ला १५ दिनदेखि पाँच÷सातको संख्यामा बस्ती पसेका बँदेलले दाना पस्न थालेका मकैका घोगा बोटमै उछिनेर सखाप पारेका भंगाहा–४ रामनगरका किसान गंगाराम महतोले बताउनुभयो । बँदेलले मकै, बन्दागोबी र पूmलकोबीका बोट उखेलेर सखाप पारेको महतोले गुनासो गर्नुभयो ।

बँदेल खासगरी मध्यरातपछि समूहमा बस्ती पस्ने गरेका छन् । नजिकै बाली नोक्सान गरिरहेको थाहा पाइए पनि आक्रमण गर्ला भन्ने डरले धपाउन नसकिएको भंगाहा–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारू बताउनुहुन्छ । बँदेलले बस्ती नजिकका उखुघारीलाई बासस्थल बनाएको सो बस्तीकै भगलु महतोको भनाइ छ ।

बँदेलले बालीनाली सखाप पार्नुका साथै बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई लघार्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् । बँदेलको हर्कतले आतंककै रुप लिएपछि सुरक्षाका लागि सीतापुर प्रहरी चौकी भंगाहा र सशस्त्र प्रहरी बेस क्याम्प भंगाहामा जानकारी गराइएको भंगाहा–४ रामनगरका सामाजिक कार्यकर्ता मुकुन्द दाहालले बताउनुभयो ।

पछिल्लो पटक फागुन १५ यता बढेको बँदेल आतंकले १० बिघाभन्दा बढीको बाली नोक्सान गरेको जानकारी आएको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अवधलाल साहले बताउनुभयो । “सर्वसाधारणले बँदेलले गरेको नोक्सानीबारे गुनासो गरेका छन्,” प्रनानि साहले भन्नुभयो, “बँदेल दिउँसो लुकेर आराम गर्ने र मध्यरातपछि मात्र आहाराको खोजीमा निस्कने गरेकाले फेला परेका छैनन् ।”

गत वर्ष पनि भंगाहाका यी बस्ती र बर्दिवास नगरपालिका–९ पशुपतिनगर, १२÷१३ बिजलपुरा र ६÷७ किसाननगरमा बँदेल पसेर निकै बाली नोक्सान गरेको थियो ।

पशुपतिनगरमा यसपालि पनि बँदेल बाक्लै बस्ती पस्ने गरेका त्यहाँका किसान महेन्द्रसिंह कुशवाहाले बताउनुभएको छ । वन क्षेत्रमा पतझर भएर नांगो देखिन थालेसँगै शिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती/बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेकाको भनाइ छ ।

महोत्तरीका दक्षिणी क्षेत्रमा अहिले नीलगाई पनि पसेका छन् । त्यसैगरी, बाँदर पनि वन छाडेर गाउँबस्ती पसेका बर्दिवास–८ हाथीलेटका वडाध्यक्ष शमशेर सिंह स्याङ्वाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

Comments are closed.

error: Content is protected !!