बागलुङमा खेतीयोग्य जमिनको १५ हजार ६ सय ७२ हेक्टर जमिन बाँझो

बाग्लुङ – बैदेशिक रोजगार र बसाइसराइका कारण बागलुङका खेतीयोग्य जमिन बाझो हुन थालेका छन् । युवाहरु बिदेश जाने र परिवार भौतिक सुख, सुविधा खोज्दै शहर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो ।

बागलुङमा कुल खेती योग्य जमिन मध्ये १५ हजार ६ सय ७२ हेक्टर जमिन बाँझो रहेको छ । जिल्लाको एक लाख ८२ हजार ७ सय ६६ हेक्टर जमिनमा ४६ हजार १ सय ४८ हेक्टर जमिनमा खाद्यन्न उत्पादन गर्न सकिने अवस्था छ । तर अहिले ३० हजार ४ सय ७६ हेक्टर जमिनमा मात्र खाद्यन्न उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा खाद्यन्न उत्पादन कमी हुनुमा जमिन बाँझो मात्र नभएर सिचाँईको कमी पनि रहेको छ । अहिले बागलुङमा उत्पादन दिने जमिन मध्ये १९ प्रतिशत जमिनमा मात्र सिचाई सुबिधा पुगेको छ । खाद्यन्न उत्पादित पाँच हजार ९ सय ७४ हेक्टर जमिनमा मात्र सिचाई पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले एक लाख एक हजार ५१ मेट्रिक्टन खाद्यन्न उत्पादन हुने गरेको छ । जिल्लामा उत्पादन हुने मुख्य खाद्यन्न भनेको मकै, गहुँ, कोदो हो तर अहिले धान र पिठोको बढी प्रयोग हुने गरेकाले जिल्लामा उत्पादन हुने खाद्यन्न अपुग हुने गरेको छ ।

बागलुङ जिल्लाबाट मकैको विउँ छिमेकी जिल्लाहरु, पर्वत, म्याग्दी, गुल्मी, रुकुम लगायतका जिल्लामा निर्यात हुँदै आएको छ । बागलुङमा धान र पिठो नेपालको तराई क्षेत्र तथा भारतबाट नै आयात हुने गरेको छ ।

error: Content is protected !!