किसानलाई उखुले भन्दा केराले साथ दियो

निजगढ – केही वर्ष अघिसम्म बाराकाे निजगढमा विरलै देखिने केराखेती अहिले मुख्य बालीका रुपमा परिणत हुँदै गएको छ। अन्य बालीका तुलनामा आम्दानी बढी हुने र तत्कालै नगद हात पर्ने भएपछि बाराको निजगढ आसपासका किसान केराखेतीतर्फ आकर्षित भएका हुन्।

धान, मकैपछि उखु खेती गर्दै आएका किसान व्यापारीले वर्षैसम्म भुक्तानी नदिएपछि केरा खेतीतिर लागेका छन्। उखुभन्दा बाली लगाउन र आन्दानी तत्कालै पाइने भएकाले आफूले केरा लगाउन सुरु गरेको तारानाथ चौलागाई बताउँछन्।

अहिले एक विघाभन्दा बढी खेतमा केरा लगाउँदै आएका चौलागाई भन्छन्, ‘उखु रोपेर मात्र के गर्नु पैसा लिनै वर्षसम्म कुर्नुपर्छ । केरा लगाउन सुरु गरेपछि व्यापारीले हात हातै पैसा दिएर लैजान्छन्।’

नेपाली बजारमा भारतीय केराले बाहुल्य कायम गरिरहेका बेला नेपाली किसानहरु पनि केरा खेतीतर्फ आकर्षित हुँदै गएका छन्। वर्षमा एकपटक फल लिन सकिने केरा रोपेको करिब १५ महिनामा फल लिन सकिने अर्का किसान विष्णु सापकोटा बताउँछन्। देश सञ्चारसँग उनले भने, ‘रोपेको १५/१७ महिनामा पहिलोपटक काट्न सकिन्छ । त्यसपछि वर्षको एकपटक फल दिन्छ ।’ एकपटक रोपेको केराले चार/पाँच वर्षसम्म उत्पादन दिने उनको भनाइ छ ।

एक बिघा खेतबाट वर्षका खर्च कटाएर झण्डै पाँच लाखसम्म आन्दानी हुने अर्का किसान दिलिपबहादुर थापा बताउँछन् । एक विघा खेतमा केरा रोप्न झण्डै दुई हजार बिरुवा चाहिन्छ । अहिले बजारमा प्रतिवटा १५ रुपैयाँका दरले बिउ पाइने थापा सुनाउँछन् ।

केही वर्षअघि सम्म हिउँदे बालीका रुपमा तोरी, मुसुरे लगाउँदै आएका किसान उखु खेतीतर्फ आकर्षित भएका थिए । तर, चिनी मिलले समयमै भुक्तानी नदिने र उत्पादन गर्न बढी झण्झट हुने भएपछि विकल्पको रुपमा केरा खती सुरु गरिएको अर्का किसान नारायण चौलागाई सुनाउँछन्। जिल्ला कृर्षि विकास कार्यालय बाराका अनुसार पछिल्लो समय जिल्लाभरि नै केरा खेती बढ्न थालेको छ ।-
देशसञ्चारबाट

error: Content is protected !!