तुर्लुङ्ग झुन्डिएर सुत्ने चमेरो कृषकको सहयात्री….

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – धेरैले चमेरालाई खासै राम्रो मान्दैनन् । राति उड्ने चमेरा दिउँसो बासस्थानवरिपरि करायो भने पनि अप्ठेरो मान्छन् । चमेरा खुट्टाको सहायताले तुर्लुङ्ग झुन्डिन्छन् । हेर्दा राम्रो देखिँदैनन् । कोकिलकण्ठे आवाज पनि छैन ।

तर च्याँ–च्याँ च्यँ‘–च्युँ गरेर कराउने यिनै चमेरा हाम्रा लागि उपयोग र गुणकारी पक्षी हुन् भन्नेचाहिँ धेरैलाई पत्तै छैन । चमेराबारे खोज अनुसन्धान हुन थालेपछि मात्र यो तथ्य बाहिर आएको हो । हेर्दा खासै आकर्षक नदेखिने चमेराले पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा फाइदा पुर्‍याउँदै आएको छ । कृषकदेखि बालीको विस्तृतीकरण र लामखुट्टे न्यूनीकरण गर्न गतिलो काम गर्छ ।

चमेरो एक स्तनधारी जीव हो । नेपालमा ५४ प्रजातिका चमेरा पाइएका छन् । अझ १६र१७ प्रजातिका चमेरा पाइन सक्ने अनुमान गरिएको चमेरोमा विद्यावारिधि गरेका डा। पुष्पराज आचार्यले बताए । यहाँ पाइएका मध्ये ५ प्रजाति शाकाहारी र ४९ प्रजातिका मांसाहारी छन् । विश्वमा १ हजार ३ सय बढी प्रजातिका चमेराहरू पाइन्छन् । जसमध्ये २ सयबढी शाकाहारी चमेरा छन् ।

शाकाहारी चमेराले वनजंगल खेतबारीका फलफूल खाने गर्छन् । पचाउन नसकेको फलफूलका बियाँ दिशाको माध्यमबाट झार्छन् । त्यस्ता बीउ फेरि उम्रने गर्छ । यस्ता बीउ अझ बढी छिटो हुर्कने र फल्ने क्षमताको हुन्छ । मांसाहारी चमेराले खेतबारीमा बोटबिरुवालाई हानि गर्ने कीराफटयांग्रा खाएर खाद्यान्न उत्पादन वृद्धि गर्न सहयोग गर्छ । रातमा सक्रिय हुने हानिकारक कीराफटयांग्राको नियन्त्रण चमेरा मात्रैले गरेर कृषकको गतिलो साथी बन्ने काम गरेको छ। मांसाहारी चमेरो त मानिसलाई टोक्ने लामखुट्टे मज्जाले खान्छ । लामखुट्टे चमेराको प्रमुख आहार हो । यसले लामखुट्टेका कारण सर्ने विभिन्न रोगव्याधि न्यूनीकरण गर्न सहयोग गर्दै आएको छ ।

शाकाहारी चमेराले उत्पादन बढाउन परागशेचनको महत्त्वपूर्ण भूमिका पनि खेल्छ । फलफूलमा रस चुस्न बस्दा भालेपोथीबीच समागम गरी महत्त्वपूर्ण प्राकृतिक काम गरिदिन्छ । त्यस्तै फलफूल खाँदा एक ठाउँबाट अर्को ठाउँमा बीउ सारेर वनजंगल जोगाउन मद्दत गर्छ । रूखबिरुवा फैलाउन निकै सहयोग पुर्‍याउँछ ।

चमेरोको तीखो कोणाकारका पखेटा हुन्छन् । यी पखेटा झन्डै मानिसको हात र पाखुरासँगै मिल्दाजुल्दा हुन्छन् । चमेरोको शारीरिक बनावट चंगाजस्तै देखिन्छ । त्यसले गर्दा पनि यसलाई आकाशमा सजिलै उड्न मद्दत पुग्छ । आकारमा मांसाहारीको तुलनामा फलाहारी चमेरो अलिक ठूला हुन्छन् ।

चमेरा विभिन्न आकार र रङका पाइन्छन् । विशेष गरी यिनीहरू कालो र खैरो रङका हुन्छन् । केही चमेरा भने पहेंलो चम्किलो रङका, केही चाँदी रङका, केही सुन्तला रङका र केही सेतो अनि खैरो रङका पनि हुन्छन् । केही चमेराहरूको शरीर वा पखेटामा थोप्ला–थोप्ला बुट्टा र धर्साहरू पनि पाइन्छ । चमेराहरू विशेषगरी रूख र बाँसझ्याङहरूमा टाउको तल गरी झुन्डिएर बस्ने गर्छन् । चेप्टो परेको टाउको भएको चमेरा जीव रातको समयमा बढी सक्रिय रहन्छन् । गर्मीमा पिसाब गरेर आफ्नो जीउ आफैं चिस्याएर गर्मी छल्छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!