मौरी पालेर शिक्षकलाई तलब

धादिङ,
चैत ९– धादिङको रोराङ गाउँपालिका–२ को रावलडाँडा आधारभूत विद्यालयले मौरीपालन गरेर विद्यालयको खर्च जुटाइएको छ ।

विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन सुरु गरिएको विद्यालयले जनाएको छ । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन सुरु गरिएको विद्यालयले जनाएको छ।

विद्यालय टाढा हुने एउटा तह पार गरेपछि अर्को तह पढ्नका लागि विद्यार्थीले विद्यालय नै परिवर्तन गर्नुपर्ने समस्याका कारण विद्यालयको तह बढाउन वैकल्पिक आयआर्जन गर्नुपर्ने बाध्यता विद्यालयलाई रहेको छ ।

नजिक विद्यालय नहुँदा विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्नको लागि टाढा जान नसक्ने कारणले गर्दा विद्यालय छाड्ने समस्या बढ्दै गएपछि विद्यालयको तह वृद्धिको लागि आयआर्जनको बाटो खोजेको रावलडाँडा आधारभूत विद्यालयका अभिभावक रामबहादुर रावलले बताउनुभयो ।

कक्षा ८ सम्मको अनुमति भए पनि एक जनाले बालविकास केन्द्रको सहयोगमा पढाउने र एक प्राथमिक तहको दरबन्दीबाहेक कुनै शिक्षक नभएको पूर्व गाविस अध्यक्षसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो । कक्षा ८सम्म पढाइ हुने विद्यालयमा हाल २२४ विद्यार्थी पढ्ने गर्छन् ।

अहिले विद्यालयको छतमा २० घार मौरी पालिएको छ । विद्यालयलाई गैरसरकारी संस्था युएमएन र प्रयास नेपालले आधुनिक मौरीको घार निःशुल्क उपलब्ध गराइदिएको थियो । अहिले परीक्षणका रुपमा २० घारमा मौरी राखिएको र यसको उत्पादन राम्रो भएमा थप बढाउने विद्यालयका प्रधानाध्यापक सञ्जीव रावलले बताउनुभयो ।

समुदायकै पहलमा विद्यालयको तह वृद्धि गरी सामूहिक तरकारी खेती गरी, अन्न संकलन गरी तथा खसीबाख्रा पालेर पनि धादिङका केही विद्यालयले अहिले शिक्षकलाई तलब खुवाउँदै आएका छन् । ग्रामीण क्षेत्रका प्राथमिक तहका धेरैजसो विद्यालयमा शिक्षक दरबन्दी नहुने र निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन अन्न तथा नगदै संकलन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Comments are closed.

error: Content is protected !!