मौरीपालन गर्ने किसान सरकारसँग असन्तुष्ट

चितवन,जेठ १३ –  मौरीपालक किसान सरकारसँग असन्तुष्ट बनेका छन् । व्यावसायिक मौरीपालन सुरु भएपनि सरकारले अन्य कृषिजन्य वस्तुलाई जस्तो मौरीलाई सम्बोधन नगरेको भन्दै किसानहरुले गुनासो गरेका छन् ।

किसानहरुले मौरी चराउन लिएर जाँदा रिसिइबीका कारण मौरीको घारमा विषादी हालेर मौरी मारिदिने प्रवृत्ति बढ्दै गएको छ । प्राकृतिक कारणले आउने हावाहुरी, असिनापानी तथा चट्याङका कारण समेत वर्षेनि मौरीको घारमा क्षति पुग्दै आएको छ । केरा तथा कुखुरालगायत अन्य कृषि उत्पादनमा प्राकृतिक क्षति हुँदा सरकारले राहतको व्यवस्था गरेको भएपनि मौरीमा पुगेको क्षतिलाई सम्बोधन गरेको छैन ।

मौरीपालक किसानको समस्याबारे सरकार मौन बस्दै आएको किसानहरुले बताएका छन् । सरकारी नीतिका कारण मौरीपालन व्यवसाय धरापमा परेको उनीहरु बताउँछन् । सरकारले संस्थागत रुपमा किसानलाई सहयोग नगरेको मौरीपालक किसानहरुको भनाइ छ ।

मौरीपालन गर्ने किसानलाई केही रुपमा मौरीको घारहरु वितरण गर्दै आएको भएपनि त्यसको गुणस्तर परीक्षण हुन नसकेको नेपाल मौरीपालक महासंघका पूर्व अध्यक्ष शंकर भट्टले बताउनुभयो । अर्को तर्फ किसानलाई अनुदानमा दिइने गुणस्तरीय रानी कसरी छान्ने भन्ने विषयमा पनि कुनै मापदण्ड नहुँदा समस्या निम्तिन सक्ने मौरीपालक किसान विष्णु भुषालले गुनासो गर्नुभयो ।

मौरीपालनको लागि चितवन, सर्लाही, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङलगायत तराईका जिल्लाहरुलाई राम्रो मानिदै आएको छ । पछिल्लो समय गुणस्तरहिन भारतीय मह बजारमा भित्रिदा नेपाली मह बिक्री वितरणमा समस्या आएको किसानहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here