काम गरे सम्भावना कती कती ? (मौरी पालेरै वर्षको २० लाख कमाइ)

  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङ –

बाटैबाट देख्न सकिन्छ मीनबहादुर गुरुङको घर, आँगन, बारीका डिलमा राखिएका मौरीका घारहरु । मौरीको भुनभुन आवाजले मिनबहादुरको घरसम्म डोर्याउँछ, गहते पुग्ने जोकोहीलाई पनि । सुन्दरबजार नगरपालिका–५, गहतेका मौरीपालक मिनबहादुरको आँगन, बारीका गह्रा र डिल मौरीका घारले सेताम्य छन् । घरसम्म पुगेका जो कोही पनि मीनबहादुरको उद्यम र परिश्रम देखेर भन्छन् गरे यहिँ पनि नहुने के छ र ?

महसँगै घार उत्पादन पनि

मीनले व्यावसायिक मौरीपालन गर्न थालेको पाँच वर्ष भयोे । उहाँले एक सय आधुनिक मौरी घारमा शेरेना जातको मौरी पाल्दै आउनुभएको छ । उहाँ मौरीपालनमा मात्र सीमित हुनुहुन्न । मौरी पालक तथा पाल्न चाहने किसानका लागि मौरीका घार पनि उत्पादन गर्नुहुन्छ ।

उहाँले गाउँमै सुजिता घार उद्योग चलाउनुभएको छ । उद्योगमा आठ जनाले रोजगारी पाएका छन् । ‘वर्षमा चार सय देखी पाँच सय किलो मह बेच्छु, मीनबहादुरले थप्नुभयो, २५ सय जति खाली घार बेच्छु ।’ उहाँले मौरीसहितका घारपनि बेच्ने गर्नुभएको छ । मीनले मह होलसेलमा प्रति किलो सात सय रुपैयाँका दरले बेच्नुहुन्छ । खाली घार ३ हजार २ सय रुपैयाँमा विक्छ ।

मौरीसहितको घारलाई प्रति घार आठ हजार पाँच सय रुपैयाँ पर्छ । सबै गरेर वर्षको २० लाख जति नाफा हुने उहाँले सुनाउनुभयो ।

सोचेजस्तो भएन परदेश

अलि पहिलेसम्म मीन गाउँघरमै काठको काम गर्नुहुन्थ्यो । महिनाको ९/१० हजार रुपैयाँ मात्रै हात लाग्थ्यो । श्रीमतीसंगै एक छोरी र दुई छोरासहितको परिवार लालनपालन, शिक्षा दिक्षा र भविष्यका लागि बचत यसबाट सम्भव थिएन । त्यसपछि, उहाँ कतार जानुभयो । तर आफुलाई भनिएको काम नपाउने मात्र होइन नेपालकै जति पनि कमाइ बचेन । त्यसपछि उहाँलाई त्यहाँ बस्नै मन लागेन । ‘कार्पेन्टरको काम गर्न भनेर गएको तर अर्कै काममा लगायो त्यसपछि फर्किहालें’ मीनले भन्नुभयो । उहाँ २९ दिन मात्रै कतार बस्नुभएको रहेछ ।

घर त फर्किएपनि ‘अब के गर्ने ?’ भन्ने प्रश्न त आइहाल्यो । बल्लबल्ल पुगिसकेपछि कम्तिमा ऋण नतिरी फर्किनु हुँदैन थियो भन्नेहरु धेरै थिए । तर उहाँ फर्किसक्नुभएको थियो । त्यसपछि, उहाँले श्रीमती सीताको सल्लाहमा मौरी पाल्न थाल्नुभयो । एउटा घारबाट सुरु भएको मौरीपालन व्यवसायले अहिले १ सय घारमा फैलिएको मात्र होइन उहाँलाई लखपति पनि बनाएको छ ।

छैन बजारको समस्या

मह र घार लमजुङसहित तनहुँ र गोरखासम्म लगिन्छ । मह र मौरीघार लिन गाडी लिएरै मिनबहादुरको घरसम्म आइपुग्छन क्रेता । त्यसैले बजारको कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ ।

गर्न चाहनेलाई प्रेरणा र सहयोग

गहतेमा मीनजस्तै अरु युवाले पनि मौरी पालन र तरकारी खेतीबाट मनग्ये कमाएका छन् । गाउँमै बसेर कृषि उद्यम गरेर उद्यमशिल बनेको र अरुलाई प्रेरणा दिएका मीनलगायत गहतेका युवालाई सवैले प्रोेत्साहन गर्नुपर्ने जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताउनुभयो ।

युवा मौरीपालन गर्न चाहने किसानलाई घरेलु तथा साना उद्योग विकास समितिले उद्योग दर्ताका साथै घार प्रदान गरी सघाउँदै आएको विकास समितिका कार्यालय प्रमुख लक्ष्मीप्रसाद दाहालले बताउनुभयो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!