आर्थिक वर्षको पहिलो आठ महिनामा ८ खर्बभन्दा बढीको कृषि बिमा

काठमाडौं –  आर्थिक सर्वेक्षणका अनुसार आव ०७४/७५ को पहिलो आठ महिना कम्पनीहरूले ८ अर्ब २ करोड रुपैयाँबराबरको कृषि बिमा गरेका छन् । जसबापत कम्पनीहरूले ३५ करोड २ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् भने दाबी बापत २८ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । आव ०७१/७२ मा भने कम्पनीहरूले जम्मा ३ अर्ब १८ करोड रुपैयाँको मात्रै कृषि बिमा गरेका थिए । आव ०७२/७३ मा ६ अर्ब ३ करोड, ०७३/७४ मा ९ अर्ब २५ करोड रुपैयाँबराबरको कृषि बिमा भएको थियो ।

कुल खेतियोग्य जमिनमध्ये ७९.१ प्रतिशत क्षेत्रमा मात्र खेती भएको छ । कृषियोग्य क्षेत्रफल घटे पनि बीउ, मल, सिँचाइ, कृषि प्रविधिलगायतको समयमा आपूर्तिले उत्पादकत्वमा भएको वृद्धिले समग्र उत्पादन बढेको हो । “चालू आर्थिक वर्षमा धानको उत्पादनमा कमी आए पनि गहुँ, मकै आदिको उत्पादनमा वृद्धि भएकाले कुल मूल्य अभिवृद्धिमा सामान्य वृद्धि रहने अनुमान छ,” सवेक्षणमा भनिएको छ, “चालू आवमा कृषि तथा वन क्षेत्रको उत्पादनमा धान, तरकारी, गहुँ, मकै, आलु र दलहन बालीको हिस्सा ५३.७ प्रतिशत रहने अनुमान छ ।” चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २७.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

कृषि क्षेत्रको नेपालको समग्र उत्पादन दुई दशकयताको सन्तोषजनक रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । “विगत दुई दशकको अवधिमा नेपालको कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशतले बढेको छ,” सर्वेक्षणमा उल्लेख छ, “यस अवधिमा यस्तो वृद्धिदर भारतको ३.२ प्रतिशत र चीन तथा बंगलादेशको ३.९ प्रतिशत रहको छ ।”

कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान बढ्दै गएको छ भने कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गई २७.६ प्रतिशतमा सीमित भएको सवेक्षणमा उल्लेख छ । चालू आथिृक वर्षमा कुल निजी उपभोगमा खाद्य वस्तु, गैर खाद्यवस्तु र सेवाको अंश क्रमशः ६४.५ प्रतिशत, २५.५ प्रतिशत र १० प्रतिशत रहने अनुमान गरिएको छ ।

चालू आवमा मुख्य बाली धानको उत्पादन १.५ प्रतिशतले घटेर ५१ लाख ५२ हजार टनमा सीमित भएको छ । बाढी, पहिरो र कटानका कारण उत्पादन घटे पनि धानको उत्पादकत्व भने बढेर ३.५ प्रतिशत पुगेको छ । दोस्रो बाली मकै र तेस्रो बाली गहुँको उत्पादनमा क्रमशः ९.४ प्रतिशत र ५ प्रतिशतले वृद्धि भएको छ । फापर र जौको उत्पादन भने घटेको तथ्यांक छ । धान, मकै र गहुँको औषत उत्पाकत्व भने ३ प्रतिशत रहेको छ । आलुको उत्पादनमा १२.१ प्रतिशतले वृद्धि भई ३० लाख ८८ हजार टन उतपादन हुने अनुमन छ भने तरकारी तथा फलफूलको उत्पादनमा भने कमी आउने अनुमान छ ।

सर्वेक्षणका अनुसार चालू वर्षको आठ महिनासम्म गाई, गोरु, भैंसी, राँगा, भेडा, बाख्रा, सुँगुर, याक, खरायो, कुखुरा हाँसलगाएतका घरपालुवा पशुजन्यको संख्यामा करिब १ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षसम्म पशुजन्य उत्पादनको उपलब्धता प्रतिवर्ष दूधमा ७१.७ लिटर, मासु १२.४ किलो र अण्डा ५० गोटा पुगेको छ । “पोषणका लागि प्रतिव्यक्ति प्रतिवर्ष पशुपंक्षीजन्य उपभोग दूध ९१ लिटर, मासु १४ किलो र अण्डा ४८ गोटा आवश्यक पर्ने मानव निर्धारण रहेकाले यसमा देखिएको खाडल परिपूर्ति गर्न पशुपंक्षी विकासका आयामहरूलाई थप फराकिलो बनाउनुपर्ने देखिएको छ,” आर्थिक सर्वेक्षणमा सुझाइएको छ ।

 

error: Content is protected !!