वर्डफ्लु के हो ? यस्ता हुन्छन लक्षण, यी हुन् रोकथामका उपाय ।

वर्डफ्लु
वर्डफ्लु रोग ईन्फ्लुएन्जा ए नाम गरेको एकप्रकारको विषाणुको माध्यमबाट पंक्षीहरूमा लाग्ने संक्रमक रोग हो । यस रोगबाट विशेष गरी कुखुरा, बट्टाई, टर्की जस्ता पंक्षीहरू बढी प्रभावित हुन्छन् । हाँस, जंगली चराहरू रोगको लक्षण नदेखाई रोग वाहकको रूपमा देखा पर्न सक्छन् । चराहरूमा यो रोग सर्वप्रथम सन् १८७८ मा पहिचान भएको थियो ।

यो रोग पंक्षी तथा मानिसमा कसरी सर्दछ ?

यो रोग रोगी कुखुरा, संक्रमित सूली, उपकरणहरू, पानी, दाना आदिसँगको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कबाट पंक्षीहरूबीच सर्न सक्दछ । त्यसैगरी बसाई सरेर आउने जंगली चराहरू तथा जीवित पंक्षी तथा पंक्षीजन्य सामाग्रीहरूको अवैध कारोवारबाट समेत यो रोग सर्न सक्दछ ।

मानिसमा जिउँदो वा मरेको चराको प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्न सक्दछ । यस रोगको विषाणु सुलीमा ४ डिग्री सेन्टीग्रेड तापक्रममा कम्तीमा ३० दिनसम्म बाँच्न सक्दछ । त्यसैगरी २२ डिग्री सेन्टीग्रेड तापक्रम भएको तालको पानीमा ४ दिनसम्म र ३० डिग्री सेन्टीग्रेड तापक्रम ३० दिनसम्म बाँच्न सक्दछ । तर ६० डिग्री सेन्टीग्रेड तापक्रममा ३० मिनेटमा र ७० डिग्री सेन्टीग्रेड तापक्रममा केही सेकेण्डमै विषाणु मर्ने हुँदा पकाएर खाएको मासु तथा अण्डाबाट यो रोग सर्ने कुनै सम्भावना हुँदैन ।

वर्डफ्लुका लक्षणहरू

कुखुरामा देखिने लक्षणहरू

असाध्यै तिक्ष्ण प्रकारको अवस्थामा रोगको कुनै लक्षण नदेखाई केही घण्टाभित्रमा शतप्रतिशतसम्म कुखुराहरूको मृत्यु हुनसक्छ । सामान्यतया धेरै कुखुराहरूको मृत्यु भएमा, श्वास प्रश्वास सम्बन्धी गम्भीर लक्षणहरू देखिएमा, टाउको, सिउर र लोती निलो भएमा, खुट्टामा रक्तश्रावहरू देखिएमा, पक्षघात देखिएमा, पातलो छेरेमा, अण्डा उत्पादन अचानक घटेमा, जलजले अण्डा पारेमा वर्डफ्लुको शंका गर्न सकिन्छ ।

यस रोगका कतिपय लक्षणहरू कुखुरामा देखिने अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरू जस्तै रानीखेत, कुखुराको हैजा आदिसँग मिल्न जाने हुँदा धेरै संख्यामा कुखुराहरू बिरामी परेमा अनावश्यक शंका गर्नु भन्दा नजिकको पशु सेवा कार्यालयमा तुरून्त खवर गर्नु उपयुक्त हुन्छ ।

मानिसमा देखिने लक्षणहरू

चिकित्सकहरूका अनुसार मानिसमा बर्डफ्लुको संक्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, जीउ दुख्ने जस्ता लक्षणहरू देखिन्छन् । केहीमा फोक्सोमा गम्भीर असर पर्न गई निमोनिया पनि हुनसक्छ । यस्तो अवस्थामा रोग घातक बन्न सक्छ ।

रोग रोकथामको लागि कृषक, नागरिक समाज तथा सर्वसाधारणको भूमिका

यस रोगको रोकथामको लागि कृषक तथा नागरिक समाज तथा सर्वसाधारणको भूमिका समेत महत्वपूर्ण हुन्छ ।

कुखुरा खोरहरूमा जैविक सुरक्षाका उपायहरू कडाईका साथ अवलम्बन गर्ने ।

कुखुरा फार्ममा काम गर्ने व्यक्तिहरूको व्यक्तिगत सरसफाईमा विशेष ध्यान पु¥याउने ।

जिउँदो पंक्षीहरूसँग कम लसपस गर्ने ।

मासु तथा अण्डा राम्रोसँग पकाएर खाने ।

कहिँकतै अवैध पंक्षी तथा पंक्षीजन्य पदार्थहरूको ओसारपसार भएको थाहा पाएमा सम्बन्धित
निकायलाई जानकारी दिने ।

पंक्षीहरूको असामान्य र ठूलो संख्यामा मृत्यु भएको थाहा पाएमा तुरुन्तै नजिकको पशु सेवाका निकाय वा कार्यालयहरूमा खवर गरिदिने ।

मरेका पंक्षीहरू अलपत्र नफाली राम्रोसँग खाडल खनेर गाड्ने ।

अनावश्यक हल्लाको पछाडि नलागी आधिकारिक निकायको सूचनामा विश्वास गर्ने ।

-चिकित्सकसँगको परामर्शमा प्रदिप पौडेलले तयार पारेको समाग्री

error: Content is protected !!