सामान्य रुपमा अरु धान जस्तै देखिने तर बाहिरी खोस्टा (Husk) निकाल्दा सेतोको साटो कालो रङ्गको चामल देखिने धान कुनै नयाँ धान नभएर एउटा धानको जात हो ।
यसको इतिहास हेर्ने हो भने यसलाई परापूर्वकालबाट एउटा महत्वपूर्ण र लाभदायी धानको रुपमा लिइदै आएको छ । हिजो आज यो धान सजिलै प्राप्त गर्न सकिने भएता पनि परापूर्वकालमा केवल महाराजहरुले मात्र खाने गर्थे र सामान्य जनतालाई खान निषेधित गरिएको थियो त्यसैले यो धानलाइ हेर्लूम राइस (Heirloom Rice), फोर्बिडन राइस (Forbidden Rice), इम्पेरोर राइस (Emperors Rice) भनेर चिनिने गरिन्छ ।
कालो धानमा महत्वपूर्ण तत्व एन्थोसानिन, फलाम, तामा, फाइबर प्रयाप्त मात्रमा पाईने हुनाले यसलाई पूर्ण (whole sum) खाद्यान्नको अथवा पौष्टिक खानाको रुपमा लिने गरिन्छ ।
यसलाई कालो धान नामकरण गर्नुको कारण यसको चामलको रङ्ग हो, जुन कालोदेखि रातोसम्म हुन्छ ।
चामलको कालोपन भने एन्थोसानिन तत्वकाे कारणले हो । एन्थोसानिन मात्राको आधारमा कालोपनको गाढापन चामलमा देखिन्छ । यदि एन्थोसानिनको मात्र धेरै छ भने गाढा कालो हुन्छ, नत्र रातो हुन्छ । कालोपनलाई हावापानिले पनि फरक पार्दछ ।
एन्थोसानिनको मात्रामा तापक्रमको असर हुन्छ, कम तापक्रममा धेरै मात्रामा एन्थोसानिन पाइन्छ भने बढी तापक्रममा थोरै हुने गर्छ त्यसैले यो धान तराई भन्दा पहाड तिर गाढा कालो रङ्गको पाउन सकिन्छ । एन्थोसानिनमा एन्टीअक्सीडेन्ट गुण हुन्छ, जसले गर्दा यो धानलाई विभिन्न रोगका जस्तै मधुमेह, क्यान्सर उच्च रक्तचापका बिरामीहरुले वरदानको रुपमा लिने गर्दछन् ।
कालो धान खानामा समावेश गर्दा हुने फाइदाहरु
१.एन्टीअक्सिडेन्ट (Antioxidant Property)
सेतो चामल पोलिश गर्दा ब्रानमा भएको धेरैजसो पौष्टिक तत्व गुमाउँछ तर कालो चामललाई पोलिश नगरी खाने भएकाले यसमा एन्थोसानिन खेर जादैन । एन्थोसानिनको एन्टीअक्सिडेन्ट गुणले शरिरको विभिन्न प्रक्रियाबाट उत्पन्न फ्री रेडीकल्स (Free radicals) को ओहरदोहरमा रोक लगाउँछ, जसले गर्दा मधुमेह, क्यान्सर, उच्च रक्तचाप जस्ता घातक रोगहरु लाग्नबाट बचाउँछ ।
२. पाचन प्रक्रियामा सहयोग (Digestion)
कालो चामलको बाहिरी सतह (ब्रान) मा धेरै रेसाको (फाइबर) मात्रा रहेको हुन्छ । यो आफैमा नपच्ने भएपनि यसले पाचन क्रियामा योगदान पुर्याउछ । यस तत्वले प्रर्याप्त मात्रामा पानीे लिई कब्जियत हुनबाट बचाउँछ । साथै यसले पखाला, ग्यासको (Bloating) र अन्य पेट सम्वन्धि समस्याबाट जोगाउँछ ।
३. पौष्टिक तत्व (Nutrient content)
कालो धानमा १८ प्रकारका अमिनो एसिड, विभिन्न खनिज जस्तै तामा (Cu), फलाम (Fe), जिंक (Zn), केरोटिन र भिटामिन लगायतका तत्वहरु पाईन्छ । फलामले शरीरको विभिन्न ठाउँमा अक्सिजन पुर्याउन मद्धत गर्छ ।
४. अन्य फाइदा (Other benefits)
तौल वा मोटोपन घटाउन
मुटुको समस्याबाट जोगाउने
कोलेस्ट्रोल घटाउनमा मद्धत
स्मरण शक्ति बढाउन
बुढोपन बाट जोगाउने (Anti-aging)
कलेजोको शुद्धिकरणमा मद्धत पुर्याउछ ।
खेती कसरी गर्ने ?
अरु धान जस्तै यो धानको खेती पनि नेपालको तराईदेखी पहाडसम्म गर्न सकिन्छ । नेपालमा कालो धानको एउटा मात्र जात ‘कालो धान’ को नामले सिफारिस गरिएको छ । यो धान होचो हुने (६५–७) से. मी.), कम गांँज आउने र अन्य धानको तुलनामा कम उत्पादन दिने गर्दछ तर यसको प्रति के.जी. बजार मुल्य धेरै हुने हुँदा यसबाट बढी फाइदा लिन सकिन्छ ।
यो बालिलाई प्रशस्त पानी सोस्न सक्ने क्षमता भएको चिम्टाइलो दोमट माटो र यसको पि.एच.५–६.५ सम्म उपयुक्त हुन्छ । हिले र धुले विधिबाट विरुवा उत्पादन गर्न सकिन्छ । २१–२५ दिनपछि बेर्ना खेतमा रोप्नका लागि तयार हुन्छन ।
अरु धानको तुलनामा यो धान होचो र कम गाँज हाल्ने हुँदा यसलाई रोप्दा लाइन ( लाइन बिच १५ से.मी. र बोट–बोट बिच १५ से.मी. को दुरी राख्नु पर्दछ । कालो धानलाई अन्य धान भन्दा कम मलको आवश्यकता पर्ने गर्दछ ।
प्रति कठ्ठा ४ डोको गोबर मल, २ के. जी. नाइट्राेजन प्रति कठ्ठा, १ के. जी. पोटास प्रति कट्ठाका साथै , १.३३ के.जी प्रति कट्ठा फस्फोरस राख्नु पर्दछ ।
नाइट्रोजन जन्य मल पचास प्रतिशत जग्गाको तयारी गर्ने समयमा र बाकी रहेको मल आवश्यकता अनुसार २ देखी ३ तीन पटक गरि खेतमा राख्दा राम्रो उत्पादन लिन सकिन्छ । कालो धान रोपेको ९०–९५ दिनमा पाक्छ । धान पाकिसके पछि काटेर, चुट्ने र सुकाएर राम्रोसँग भण्डारण गर्नुपर्छ । एक हेक्टरमा १.७ –२.० मे. टन उत्पादन लिन सकिन्छ ।
यसरी हेर्दा सामान्य धान भन्दा कालो धान आर्थिक तथा स्वास्थ्यको दृष्टिकोणबाट निकै नै फाइदाजनक, छ । खेति प्रविधि अरु धान जस्तै हुने र नेपालको जुनसुकै कुनामा पनि लगाउन सकिने भएको कारणले यसको खेती गर्नु लाभदायक देखिन्छ ।
– लेखक सुरज सिंह कार्की कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन (बाली बिज्ञान) मा स्नातकोत्तर तह अध्ययन गर्नुभएका कार्की कालो धान खेती प्रविधिको अनुसन्धानकर्ता समेत हुनुहुन्छ ।
Comments are closed.