प्लस टु साइन्स पछिको गन्तव्य बीएस्सी भेटेनरी

– मदन भण्डारी 

के हो भेटेनरी साइन्स ?
भेटेनरी साइन्स अर्थात पशु विज्ञान । पशु विज्ञान अन्र्तगत CTEVT द्धारा १८ महिने TSLC अन्र्तगतकै ३ वर्षे ISc Veterinary कार्यक्रम सञ्चालित छन । यी दुबै कोर्ष SEE वा SLC पछि अध्ययन गर्न सकिन्छ । कतिपय मानिसहरु सबै भेटेरिनेरियनलाई JTA कै रुपमा हेर्ने गर्दछन जुन नितान्त गलत हो ।

उल्लेखित दुबै कोर्ष प्राविधिक उत्पादन गर्ने कोर्ष हुन भने Bachelor in Veterinary Science and Animal Husbandary (BVSc & AH) पशु चिकित्सक उत्पादन गर्ने कोर्ष हो । यस संकायमा अध्ययन गर्न चाहने विद्यार्थीले कक्षा एघार र बाह्रमा ISc Veterinary वा Science बिषय लिएर पढ्नुपर्ने हुन्छ । नेपाल भारत लगायत विभिन्न देशमा BVSc & AH भनेर पढाइ भएपनि यही विषय बङगलादेश लगाएतका देशमा Doctrine in Veterinary Medicine (DVM) भनेर अध्ययन अध्यापन हुने गरेको छ ।

BVSc & AH वा DVM उत्तिर्ण गरिसके पछि भेटेनरी काउन्सिलले लिने नाम दर्ता परीक्षामा उत्तिर्ण भए पश्चात पशु चिकित्सक वा भेटेनरी डाक्टर बनिन्छ र पशुपंक्षीमा हुने कुनै पनि समस्याको निराकरणका लागी प्राक्टिस गर्न सकिन्छ । यसक्रममा दर्तावाल पशु चिकित्सक जसलाई नेपाल भेटेनरी काउन्सिलले दक्ष ठहर गरेको हुन्छ उसको कार्यमा कुनै कानुनी वाधा अडचन आएमा काउन्सिलले सक्दो सहयोग गर्दछ ।

पढेपछि के गर्ने त ?
BVSc & AH वा DVM उत्तिर्ण गरे पश्चात माइनर सर्जरी, केमोथेरापी, रेडियोलोजी, एनिमल हज्व्यान्डरी, डेरी म्यानेजमेन्ट लगाएतका धेरै बिधामा काम गर्न सकिन्छ । BVSc & AH अध्ययन गरेका विद्यार्थीले अध्ययन पश्चात लोकसेवा आयोग, विभिन्न NGO, INGO, नेपाल आर्मीको प्राविधिक विभाग, शिक्षक, पौल्ट्रि फर्म, दाना उद्योग, पशु फर्म, वधशाला, दुग्ध विकास संस्थान, पशु क्वारेन्टाइन, सरकारी तथा निजी स्वामित्वका प्रोजेक्ट, नीजि व्यवसाय वा क्लिनिक सञ्चालन गर्न सक्छन । हाल आएर भेटेनरीको भविष्य जंगली जनावरको संरक्षणका लागी राष्ट्रिय निकुञ्ज, चिडियाखाना लगायतमा पनि बढ्दो छ ।

मानिसहरु परम्परागत पशुपालन प्रणाली छाडेर आधुनिक पशुपालन तर्फ अघि बढिरहेका छन । मानिसमा घाँस खेति गर्नुपर्दछ भन्ने चेतना आइसकेको छ । शहरमा मानिस कुकुर, बिरालो, मुसा, गीनी पिग, सुगा जस्ता घरपालुवा पशुपंक्षी पाल्ने ट्रेन्ड नै बनेको छ । दैनिक मासु र मासुजन्य पदार्थको खपत बढदो क्रममा छ भने उत्पादन कम हुँदा आयात बढेको छ । दुध, मासु, छाला, ऊन, अण्डा, मल, सांस्कृतिक तथा धार्मिक महत्व, सोख आदि विभिन्न उपयोगीता रहेको पशुपंक्षीपालन नेपालको फस्टाउँदो व्यवसाय हो । त्यसैले पनि पशुचिकित्सा अध्ययनको महत्व कति छ भन्ने प्रष्ट हुन्छ ।

केहि समय अघि गाईभैसीलाई पनि औषधि हुन्छ र ? भन्ने जमानाबाट आज संसार मानिसमा लाग्ने ६० प्रतिशत भन्दा बढी रोग पशु वा पशुजन्य वस्तुबाट लाग्ने गर्दछन भन्ने वैज्ञानिक तथ्यसंग साक्षातकार भइसकेका छन् । गाउघरका मानिस भैसी पाल्न छाडेर तराई झरिसके पछि भेटेनरी वा पशुचिकित्साको महत्व घट्यो भन्ने एक जमात भएपनि विदेशमा बसेर दिन रात नभनी मिहिनेतका पसिना बगाउदा पनि भने जस्तो तलव नपाएपछि यति मिहिनेत गरे त आफ्नै देशको माटोमा पैसा फल्ने रहेछ भनेर दिनहुँ सैयौ युवा जनशक्ति स्वदेश फर्किरहेका छन । उनीहरुले पशुपालन व्यवसायलाई अंगालेर मनग्य आम्दानी गरिरहेका छन् ।

पशुजन्य उत्पादनलाई आधार मान्ने हो भने पशुपंक्षीपालनको क्षेत्रमा लगानी बढ्दो देखिन्छ । २०७१/७२ मा १७,२४,८२३ मेट्रिक टन उत्पादन भएको दुध २०७२/७३ मा आउदा १८,५४,२४७ मे. टन उत्पादन भयो । यसै वर्ष करिव ८६ हजारले गाई र करिव ४३ हजारले भैसीको जनसंख्या वृद्धि भयो । यस्तै मासु उत्पादनमा २०७१/७२ मा ३,०३,४०१ मे.टन उत्पादन भएकोमा २०७२/७३ मा ३,२२,०५९ मे.टन उत्पादन भयो जसमा सवै भन्दा बढी खसी बोकाको मासुको उत्पादन बढेको छ । यस्तै अण्डा उत्पादन तर्फ २०७१/७२ मा ८,७९,५०१ हजार उत्पादन भएकोमा २०७२/७३ मा १३,०८,०७२ हजार अण्डा उत्पादन भएको नेपालको पशुपंक्षी तथा कृषि तथ्यांकले देखाएको छ । (स्रोतः पशुपंक्षी डायरी २०७४) यसरी उत्पादनलाई आधार मान्ने हो भने पशुपंक्षी पालनमा मानिसको लगानी दिन प्रति दिन बढ्दै गएको देखिन्छ । अझ महत्वपुर्ण कुरा त के भने उत्पादन बढे पनि स्वदेशी उत्पादनले हालको बजार माग धान्न सकिरहेको छैन ।

२०७२/७३ मा मात्र १,६६,८२३ हजार जीवित जनावर निर्यात भएकोमा २०७३/७४ मा मात्र २२,९१,५५१ हजार बराबरको जीवित जनावर आयात गरिएको छ । मासु तथा मासुजन्य पदार्थमा आयात भन्दा निर्यात बढी छ जुन अझ बढाउन सकिन्छ । दुध वा दुधजन्य पदार्थमा यस वर्ष मात्र २२,४६,७१२ हजार बराबरको व्यापार घाटा नेपालले बेहोरेको छ । अन्य पशुजन्य पदार्थमा पनि नेपालले १,२१,१८० हजार बरावरको व्यापार घाटा हाम्रो देशले बेहोर्नु परेको छ ।

अझ महत्वपुर्ण कुरा त रसायनिक मलमा यस वर्ष मात्र नेपालले १,१५,०८,३१२ हजार बराबरको व्यापार घाटा बेहोरिरहेको छ । यसबाट के प्रष्ट हुन्छ भने बिएस्सी भेटेनरी अध्ययन गरी नयाँ पुस्ता सजिलै जागीर वा स्वयंको व्यवसाय दर्ता गरी रोजगारीका नयाँ अवसर श्रृजना गर्नुका साथै देशको आर्थिक स्थिती सुदृण गर्न पनि अग्रसर हुन सक्छन ।

कहाँ पढ्ने त ?

  • Bachelor in Veterinary Science and Animal Husbandary (BVSc & AH) अध्यापन हुने कलेजहरु नेपालमा ७ वटा मात्र छन् ।
    Institute of Agriculture and Animal Sciences, Affiliated to TU.
  • Agriculture and Forestry University.
  • Himalayan College of Agriculture and Animal Sciences, Affiliated to Purbanchal University
  • Nepal Polytechnic Institute, Chitwan, Affiliated to Purbanchal University.
    IAAS र AFU मा अध्ययन गर्न निकै सस्तो छ भने बाँकी दुई क्याम्पसमा केही बढी शुल्क लाग्ने गर्दछ । विद्यार्थीहरुले आफ्नो इक्षा अनुसार जुनसुकै क्याम्पसमा भर्ना गर्नसक्छन तर त्यसको लागी प्रवेश परिक्षामा उत्तीर्ण भइ तोकिएको सिट सँख्या भित्र पर्नुपर्ने हुन्छ ।
error: Content is protected !!