यो वर्ष कृषि क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : चालु आर्थिक वर्ष कृषि क्षेत्रमा मिश्रित प्रतिफल प्राप्त भएको छ। केही बालीको उत्पादनमा वृद्धि भएको छ भने केहीको घटेको छ। अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको आव ०७५÷७६ को आर्थिक सर्वेक्षणले कृषिमा मिश्रित प्रतिफल देखाएको छ।

आर्थिक सर्वेक्षणअनुसार प्रमुख खाद्यान्न र तरकारी बालीको उत्पादनमा आएको वृद्धिका कारण यो वर्ष कृषि क्षेत्रको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान छ। आव ०७४÷७५ मा कृषिको वृद्धिदर २.७ प्रतिशत थियो।

चालु आव कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान पनि अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ६१ प्रतिशतले घट्ने सर्वेक्षण प्रतिवेदनले औंल्याएको छ। यसअनुसार चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २६.९८ प्रतिशतमात्रै रहने भएको भएको छ। अघिल्लो आर्थिक वर्षमा यो क्षेत्रको योगदान २७.५९ प्रतिशत थियो।

खाद्यान्नबालीतर्फ धान, मकै र गहुँको उत्पादनमा वृद्धि भएको छ। खाद्यान्नबालीतर्फ जौ, कोदो र फापरको उत्पादन घटेको छ। यस्तै नगदेतर्फ आलु र महको उत्पादन वृद्धि भएको छ। नगदेतर्फ नै उखु र जुटको उत्पादन भने स्थिर रहेको अवस्थामा भेटिएको छ। अन्यबालीतर्फ फलफूल र तरकारीको उत्पादन वृद्धि भएको छ। यो वर्ष पशुपन्छीतर्फको समग्र क्षेत्रमा उल्लेख्य गिरावट आएको छ। मासु, दूध तथा दुग्धजन्य वस्तु, अण्डा र माछातर्फ गिरावट आएको छ।

प्रतिवेदनअनुसार यो वर्ष ५६ लाख १० हजार मेट्रिक टन धान फलेको छ। अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धानको उत्पादन भएको थियो। कृषिको कुल ग्रार्हस्थ उत्पादन (एजीडीपी) मा धानको योगदान २०.७५ प्रतिशत छ। जीडीपीमा भने धानको योगदान सात प्रतिशतको हाराहारीमा छ। धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ।

बालीतर्फ नै मकैको उत्पादन २६ लाख ४४ हजार मेट्रिक टन उत्पादन भएको छ। अघिल्लो वर्षमा २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन भएको थियो। गहुँतर्फ २० लाख ३६ हजार मेट्रिक टन उत्पादन भएको छ। अघिल्लो वर्ष १९ लाख ४९ हजार मेट्रिक टन उत्पादन भएको थियो। प्रतिवेदनअनुसार नगदेतर्फ आलुको उत्पादन यो वर्ष तीन लाख २२ हजार पुगेको छ। फलफूलतर्फ भने गत आवको तुलनामा यो वर्ष एक लाख ४३ हजार मेट्रिक टन वृद्धि भएको छ।

यो वर्ष ११ लाख ५३ हजार मेट्रिक टन उत्पादन भएको छ। अघिल्लो वर्ष भने १० लाख १० हजार मेट्रिक टन उत्पादन भएको थियो। दलहनतर्फ भने ६ हजार मेट्रिक टनले कमी भएर यो वर्ष तीन लाख ६२ हजार मेट्रिक टन मात्रै उत्पादन भएको छ। अघिल्लो वर्षमा तीन लाख ६८ हजार मेट्रिक टन उत्पादन भएको थियो।

पशुपन्छीको समग्र उत्पादन घट्यो

गत वर्षको तुलनामा चालु आवमा समग्र पशुपन्छीतर्फको उत्पादन उल्लेख्य परिमाणमा घटेको छ। अघिल्लो वर्ष मासुतर्फ तीन लाख ४७ हजार मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष घटेर दुई लाख ४८ हजार मेट्रिक टन मात्रै उत्पादन भएको छ। दूध र दुग्धजन्य वस्तुतर्फ पनि उत्पादन घटेको छ। यो वर्ष यो क्षेत्रमा ६ लाख १० हजार मेट्रिक टनले उत्पादन घटेर १४ लाख ७५ हजार मेट्रिक टन मात्रै उत्पादन भएको छ। अघिल्लो वर्ष यो क्षेत्रको उत्पादन २० लाख ८५ हजार मेट्रिक टन थियो।

सरकारले अण्डामा नेपाल आत्मनिर्भर भएको दाबी गरिरहँदा यही वर्ष ४३ करोड ९० हजार गोटाको दरले उत्पादन घटेर एक अर्ब सात करोड ३० लाख गोटा उत्पादन भएको छ। अघिल्लो वर्ष एक अर्ब ५१ करोड २० लाख गोटा अण्डा उत्पादन भएको थियो। माछातर्फ पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष झण्डै ६ हजार मेट्रिक टनले उत्पादन घटेर ७१ हजार मेट्रिक टन मात्रै उत्पादन भएको छ। अघिल्लो वर्षमा भने ७७ हजार मेट्रिक टन उत्पादन भएको थियो।

कृषि कर्जा वृद्धि

बैंकबाट कृषि ऋणको प्रव्वाह दरमा वृद्धि आएको छ। यो वर्षको फागुनसम्म विभिन्न बैंकबाट किसानलाई एक खर्ब ८० अर्ब ४२ करोड ऋण प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिमा एक खर्ब २८ अर्ब ३३ करोड ऋण प्रवाह भएको थियो।

कृषिको निर्यात घट्यो

गत वर्षको यसै अवधिको तुलनामा चालु आवको फागुनसम्ममा खाद्य वस्तु तथा जीवजन्तुको निर्यात ९.९ प्रतिशतले घटेर १२ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। यो वर्ष सुर्ती तथा पेय पदार्थ, जीवजन्तुजन्य तथा वनस्पतिजन्य तेल तथा बोसोको निर्यात बढेको छ। यो वर्षको फागुनसम्ममा एक खर्ब ३८ खर्ब ६ करोड रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ। – अन्नपूर्णबाट


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here