छरुवा धान खेतीः हालको आवश्यकता र विकल्प

  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

विश्वको २० प्रतिशत जनसंख्याको प्रमुख  खाद्य बाली धान रहेको छ । विषेशतः दक्षिण तथा पूर्वी एसियामा यस बालीको ब्यापक उत्पादन हुन्छ । कुल उत्पादित धान मध्ये करिब ९० प्रतिशत एसियामै खपत हुँदै आएको छ । नेपाल पनि यसै खाद्य प्रणालीमा निहित रहेको छ ।

नेपालीको कुल खाद्य क्यालोरी मध्ये ४० प्रतिशत चामल बाटै प्राप्त हुन्छ साथै कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत र कुल कृषि ग्राहस्थ उत्पादनमा २० प्रतिशत हिस्सा रहेको छ । यसकारण धान नेपालको प्रमुख खाद्य बालीको रुपमा राखिएको हो ।

यसरी खाद्य बालीका निम्ति धानमा निर्भर भईरहदा धानको उत्पादन, उत्पादन क्षेत्रफल र उत्पादकत्व प्रत्येक वर्ष उचित रुपमा नबढेको तथ्यांक हामी सामु रहेको छ । नेपालमा उन्नत बीउ बिजन, मलखाद, सिचाई र श्रम शक्तिले नै प्रमुख रुपमा धान उत्पादनको निम्ति टेवा पुर्याइरहेको अवस्था रहेको छ सँगसँगै विभिन्न समयमा यी कृषि उपजहरुको आभावले उत्पादन प्रक्रिया थप जटिल बनाइरहेको छ ।

योसँगै अघिल्लो वर्ष अन्तिम देखि विश्व महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को प्रकोपले समस्त विश्वको अर्थतन्त्रमा ठुलो आघात पुर्याइरहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन । विशेष गरि नेपाली अर्थतन्त्र कृषिमा निर्भर रहेको अवस्थामा कोभिड-१९ को प्रकोपले नेपाली कृषि बजारमा कृषि सामग्री तथा अन्य निवेषको अभाव देखिन थालेको छ ।

अहिलेको समय विशेष धान लगाउने समय रहेको छ र अघिल्ला वर्षहरु नियाल्दा यो समयमा धेरै जसो कृषि सामग्रीको कमि नै हुने गरेको छ । यो समय झन् महामारीको अवस्थाले उक्त समस्या झन् जटिल बनाउने सम्भावना देखिन्छ । अबको समय छरुवा धान छर्ने वा रोपाई धानको लागि ब्याड राख्ने समय रहेको छ । सँगसँगै बन्दाबन्दिको अवस्था धेरै कृषि सामग्रीको कमि पनि हुने देखिन्छ जसले धानको उत्पादन घट्ने सम्भावना नकार्न सकिन्न । यो विषम परिस्तिथिमा उपलब्ध श्रोत साधनको उच्चतम उपयोग गर्ने साथै कम श्रोत साधन लाग्ने प्रविधि अपनाउन बुद्दिमता देखिन्छ ।

उक्त सम्भावनामा छरुवा धान खेति प्रविधि एक प्रमुख विकल्प हुनसक्छ । सिमित श्रोत उपलब्ध हुने स्थितिमा पनि धानको उत्पादन बढाउन छरुवा धान अपनाउन सकिन्छ ।

धान रोप्ने समयमा नेपालका बिभिन्न भित्रि तराई र तराई जिल्लामा भारतबाट आएका वा स्थानीय श्रमिकले काम गर्दै आएका छन् । बन्दाबन्दीको अवस्थामा किसान दाजुभाइ तथा दिदीबहिनीहरुले धानको ब्याड राख्न ,खनजोत गर्न, बिउ उखेल्न र बीउ रोप्न उल्लेखीय संख्यामा श्रमिक नपाउने र यदि पाइहालेमा पनि महँगो मुल्य चुकाउन पर्नेहुन्छ ।

आर्थिक तथा श्रम शक्तिको हिसाबले ठूलो मूल्य चुकाउन पर्ने हुनाले छरुवा धान एउटा उक्तम विकल्प हुन सक्छ ।  छरुवा धान लगाउदा रोपाइँ धान भन्दा ४६ प्रतिशत सम्म कम श्रम शक्ति लाग्ने र उत्तिकै रुपमा आर्थिक बचत हुने पनि देखिन्छ । सबै तिर एकैपटक रोपाइँ धान लगाउने समय हुदा श्रम शक्तिको कमी हुने गर्छ जसकारणले धान लगाउन ढिलो हुन्छ र उत्पादन घट्छ  साथै रोपाइँ धान लगाउदा श्रम शक्ति र खनजोत बढी चाहिने हुनाले उत्पादन खर्च पनि बढ्न जान्छ ।

त्यसैले यस बन्दाबन्दीको अवस्थामा कृषकले खर्च गर्न उचित रकम नभएको अवस्था र श्रमिकको कमीलाई परिपूर्ति गर्न छरुवा धान प्रविधि अवलम्बन गर्न सकिन्छ ।

परिस्थिति अनुरुप र वातावरण मैत्री प्रविधि अपनाएमा आर्थिक रुपमा पनि दिगो हुन जान्छ । अहिलेको समय किसानको लागि ऋण तथा वित्तीय सुविधाको  लागि अनुकुल देखिएको छैन र कतिको पहुँच पनि पुगेको अवस्था छैन । यस्तो समयमा बाजो खेत दुई तिन पटक जोत्न, ब्याड राख्न, हिल्याउँन, मल ओसार्न आदिको लागि ट्याक्टरको धेरै प्रयोग हुन जान्छ जसले धेरै खर्च पनि गराउछ ।

मनसुन ढिलो आएको अवस्था वा नहरमा पानी नआएमा पनि बिजुली पम्पको प्रयोग गर्नपर्ने हुन्छ जसले खर्च बढाउछ । छरुवा धान लगाउँदा हिल्याउन नपर्ने, पानीको बचत र खर्च कटौती सहित सतह माथि वा तलका पानीको मुल संरक्षण गर्न सकिन्छ ।

प्राविधिक हिसाबले हेर्दा छरुवा धान खेति प्रविधि निकै सस्तो र अपनाउन पनि सजिलो रहेको छ । छरुवा धान लगाउने बिधि माटोमा रहेको चिस्यान र सिचाईको अवस्था हेरिकन फरक फरक तभरले लगाउन सकिन्छ । जस्तै माटोमा चिस्यान बसिराख्ने वा पानी परिरहने ठाउँमा नहिल्याईकन सुख्खा बीउ राख्न सकिन्छ भने सिचाईको उचित व्यवस्था भएको ठाउमा खेत हिल्याएर बीउ छर्न सकिन्छ ।

छरुवा धान विधिबाट धान उत्पादन गर्दा अगौटे र मध्यम जातका धानहरुले धेरै उत्पादन दिने गर्छ साथै ब्याड राखेर रोपाइँ गरेको धान भन्दा झन्डै पन्ध्र दिन अगिनै उत्पादन लिन सकिन्छ । विशेष नर्सरी नबनाइकन खनजोत गरेको जग्गामा सुख्खा बिउ छरेपछि हल्का छापो हाल्न सके बीउ राम्ररी उम्रने, चिस्यान रहिरहने र झारपात पनि कम आउने गर्दछ । सामान्यतया नेपालमा लगाउने छरुवा धानका जातहरु हर्दिनाथ, साबित्री, सोना मन्सुली, राधा-११, राधा-४ आदि रहेका छन् र उक्त धानको बिउ जेठको पहिलो हप्ता देखि तेस्रो हप्तासम्म छर्न सकिन्छ ।

विशेषतः किसान दाजुभाइ तथा दिदीबहिनीहरुको आर्थिक तथा सामाजिक बिकासका निम्ति यस खेति प्रविधि फलदाय देखिन्छ । माटोको उर्भरा शक्ति, माटोको पोसक तत्व संरक्षण, पानीको मुहान संरक्षण र प्रदुषण पनि कम हुने भएकले वातावरणीय संरक्षणलाई पनि साथ साथै लान सकिन्छ । फलस्वरूप छरुवा धान खेती प्रविधि अपनाएमा उच्च स्तर आर्थिक तथा वातावरणीय संरक्षणलाई दिगो रुप दिन सकिन्छ ।

लेखक आदर्श देव सिग्देल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बाली बिज्ञान स्नातकोत्तर तहमा अध्ययनरत र छरुवा धान खेति सम्बन्धि अनुसन्धानकर्ता हुनुहुन्छ ।


  • 1.6K
  •  
  •  
  •  
  •  
  •  
    1.6K
    Shares
error: Content is protected !!