नेपालमा के इन्द्र महाराजले मात्र धान फलाएका हुन त ?

१. पृष्ठभूमी
धान नेपालको धन हो । यो बालिको बहुआयमिक महत्व छ । राष्ट्रिय अर्थतन्त्रमा हुने योगदानका अलावा धान खेतीको महत्व जन्म देखि मत्यसम्म छ । यो बालिको आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक महत्व समेत रहेको छ । किनकी कुल गार्हस्थ उत्पादनको २६.५ प्रतिशत हिस्सा ओगटेको कृषि ग्राहस्थ उत्पादनको २० प्रतिशत भन्दा बढी हिस्सा यहि बालीले ओगटेको छ ।

धान उत्पादन बढेका वर्ष नेपालको अर्थतन्त्र बलियो हुने र कम उत्पादन भएका वर्ष अर्थतन्त्र पनि कमजोर रहने गरेको विगत देखिकै तथ्य बाट प्रष्ट हुन्छ। त्यसैले धान उत्पादनमा हुने घटरबढले कृषि क्षेत्रको मात्र नभई कुल गार्हस्थ उत्पादनको बृद्धि दरमा समेत प्रत्यक्ष असर पुर्याउने गरेको छ । त्यस अलावा राष्ट्रिय खाद्य सुरक्षामा प्रमुख योगदान गर्ने र नेपालीहरुको बिहान बेलुकाको छाक टार्ने विशेष बाली (Staple food) भएकाले धान वा चामलमा हुने परनिर्भरताले संविधानले परिकल्पना गरेको खाद्य सम्बन्धी हकको प्रत्याभूत गर्न कठीन हुने हुँदा धान लगायतका प्रमुख खाद्यान्न बालीमा आत्मनिर्भरताको अवधारणा नेपाल सरकारले लिएको छ ।

धानबालीका यिनै महत्वहरुलाई आत्मसात गर्दै नेपाल सरकारले विगत १५ वर्ष देखि प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित रोपाई महोत्सवका रुपमा मनाउँदै आएको छ ।

धान उत्पादन वृद्धिप्रतिका केही भ्रमहरु

उत्पादन वृद्धिमा दर्जनौ कारणले भूमिका खेलेका हुन्छन् तथापी नेपालमा अधिकांशको बुझाई इन्द्र महाराज खुशी भई पानी परे मात्र उत्पादन बढ्छ भन्ने छ । गत आ.व. २०७४/२०७५ मा नेपालमा सर्वाधीक धान उत्पादन ५६ लाख १० हजार मे.ट. भयो के यो पानी परेकै कारणले बृद्धि भएको हुन्थ्यो भने मानव सभ्यतामा पहिले पहिले धेरै पानी परेका रेकर्ड पनि छन्, संसारकै बढी पानी पर्ने स्थान चेरापुन्जी, भारत पनि छ ।

त्यसैगरी नेपालको पनि लुम्ले कास्कीमा बढी पानी पर्ने गरेका रेकर्ड छन् तर यी स्थानमा धान सर्वाधीक बढी फल्नु पर्थ्यो तर त्यसो भई नरहँदा पनि पानीकै भरमा उत्पादन वृद्धि हुन्छ, कृषि क्षेत्रले केही गरेन भन्ने मनगढन्ते फरेप झूठो सिद्ध भएका छन् ।

उत्पादन बृद्धिमा कृषि मंत्रालय र कृषि कर्मीको अहंम भुमिका त छदै छ तथापी कृषक, समूह, सहकारी, व्यवसायी, उद्योगी, अनुसन्धानकर्ता, प्राज्ञ, विज्ञहरु, नीतिनिर्माता, मेडीया लगायत सम्पूर्ण मन्त्रालयको समेत गच्छे अनुसार योगदान छ। प्रविधिमा आएको विकास, अन्तराष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम, फिलिपिन्स तथा विज्ञानमा आधारीत कृषि प्रविधि बढी उत्पादनशील जातहरुको प्रयोग, यान्त्रीकरण वालीविविधिकरण, खाद्य तत्वमा सुधार, सिचाईको व्यवस्था, रोग किरा तथा झारपातको व्यवस्थापनमा सुधार, उत्पादन पश्चात गरीने क्रियाकलापमा सुधार जस्ता प्रश्नहरु नजानीदो रुपमा भएकाले उत्पादन बृद्धि भैरहेको छ तर कृषि “खाईविर्स्या” क्षेत्र जस्तो रहेछ ।

केही दशकपूर्व नेपालले धान निर्यात गर्थ्यो तर आज आयात गर्नु परेको छ। यो तितो सत्यलाई हामी स्विकार्छौ तर केही वास्तविकतालाई पनि विश्लेशण गर्नुपर्ने देखिन्छ। नेपालले धान निर्यात केही सानो मात्रामा गर्थ्यो त्यतिबेलाको खाद्य माग १ करोडको जनताको हाराहरीमा हुने गर्थ्यो।

सर्वत्र भात मात्र खाने बानी थिएन स्थानीय स्तरमा उत्पादीत कृषि उपज नै उपयोग अधिक हुने गर्थ्यो। सडकको यति पहुँच नहुदा धान उत्पादनका दृष्टिले अब्वल मानीने तराई क्षेत्रमा माग बढी भई भारत तर्फ निर्यात गरीन्थ्यो तर आज यी पक्षको वावजुद खाद्य आपूर्तिको माग जनसंख्याको वृद्धि सँगै खाने मुख र भुँडी बढेका कारण तीन गुना बढेको मात्र नभई, आयस्तर वृद्धि भई खानपानमा परिवर्तन आई मिठो, मसिनो, लामोदाना भएको बास्नादार चामलको उपयोग बढ्नाले देशकै उत्पादनले थेग्न नसकी आयात भएको यथार्थ हो।

हो चाहेजती हामीले गर्न कृषिमा पनि बाँकी छ, बजेट, प्रविधी, प्रावीधीक संयोजन र उत्पादन बृद्दी संघीय प्रणालीमा बढी आशा राखिएको छ। यद्यपी मोटो, खस्रो र केही मसिनो र स्थानीयस्तरमा लोकप्रिय धानको उत्पादन र अन्य वालीको उत्पादनलाई खपत गर्ने हो भने देशमा उपलब्ध जनसंख्याको लागी बाहीरबाटै आयात गरिहाल्नु पर्ने अवस्थामा नेपालमा हैन।

तर वास्तविकता के हो भने ूकस्तुरीले आफ्नै शरीरमा भएको विनाको महत्व नबुझे जस्तैू आफ्नै स्थानमा उत्पादीत, स्वस्थ्य र पौषीला खाना भन्दा जीब्रोको स्वादका लागी र स्वाङ्ग पार्न सिन्थेटीक खाद्य सेवन गर्ने बानीले आयात बढ्न गएको तीतो यथार्थ पनि नकार्न सकिदैन।

यसकै कारण चाउचाउ, चीनी, चुरोट, चामल जस्ता भरिभराउ सामान लिएर गाँउ भित्र छिरेका ट्रक कुनै कुनै स्थानमा गाँउघरकै उत्पादीत तर तिरस्कृत गरेर चीनो, कागुनो, कोदो, फापर, जौ, उवा, मकै, भटमास, फर्सि, जस्ता वस्तु लिएर फर्कने गरेको पनि देखिन्छ।

देशका धेरै स्थानबाट स्थानीय रुपमा उत्पादीत वस्तु यसरी बाहिर पठाउने सके त राम्रै हुन्थ्यो तर वालीको उपयोगीता र प्रयोगको अज्ञानतका कारण पनि बाहीरी आयात बढ्न गएको छ। समाज विकासको क्रममा आर्थिक अवस्था सुध्रदै जानु, मीठो, मसीनो वस्तुको उपयोग गर्ने आंकाक्षा बढ्दै जानु स्वभावीक प्रकृया हुन ।

यी वास्तवीकतालाई मध्यनजर गरी नेपाल सरकारले नीति, योजना, कार्यक्रमलाई ध्यानमा राखी मीठो, मसीनो, वास्नादार धानको उत्पादन नेपालमै वृद्धि गर्न धान मिसन कार्यक्रम लगायत प्रधानमंन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत ठूलो क्षेत्रफलमा सुपरजोन, जोन, व्लक र पकेट मार्फत कार्यक्रम अगाडी बढाई वाह्य आयत कम गर्दै खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने संकल्प मंत्रालयको छ।

विगत १० वर्षको तथ्याङ्कहरुको विश्लेषण गर्दा धान उत्पादन वृद्धि भएका वर्षहरुमा कृषि क्षेत्रको बार्षिक वृद्धिदर र कुल ग्राहस्थ उत्पादनको वृद्धि दर समेत उच्च रहेको छ भने धान उत्पादन घटेका वर्षहरुमा आर्थिक वृद्धि दर समेत घटेको पाइन्छ ।

चित्र न १. गार्हस्थ उत्पादन वृद्धिदर, कृषि क्षेत्रको वृद्धि दर र धान उत्पादनको सम्बन्ध

धानखेती र पानीको सम्बन्ध

असार महिनाको शुरुवातसंगै अब कृषकहरुलाई धानका लागि ब्याड तयारी रसायनिक मलको जोहो जमिनको खनजोत लगायत रोपाइको पूर्व तयारीको चटारो पर्न थालेको छ भने सिंचाईको राम्रो प्रबन्ध भएका जमिनहरुमा लाठे, रोपार, हल गोरुको बन्दोबस्तीसंगै रोपाई शुरु गर्ने हतारो पनि देखिन थालेको छ ।

जुम्ला, मुगु लगायत उच्च पहाडी भागका धानबाली हुने खेतीयोग्य जमिनहरुमा धमाधम रोपाई भैरहेको छ । धानबाली पानी मनपराउने बाली हो । धान रोपाइका लागि जमिनको तयारी र रोपाई गर्नका लागि हिल्लयाउनु पर्ने हुन्छ जस्का लागि प्रयाप्त चिस्यानको आवश्यक पर्दछ ।

त्यसैगरि रोपाइ पश्चात केही हप्ता पानी जमेको भएमा वेर्नाहरु सजिलैसंग सर्न सक्ने हुन्छ । त्यसैगरि विभिन्न चरणहरुमा जमिनमा चिस्यान अत्यन्तै आवश्यक रहेन हुनाले धान उत्पादनका लागि सिंचाइको अत्यन्तै महत्व रहन जान्छ । नेपालको सन्दर्भमा कुषियोग्य जमिनको जम्मा ५५ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाइ सुविधा पुगेको आर्थिक सर्वेक्षण प्रतिवेदन २०७५/७६ ले देखाउँछ ।

त्यस माथि स्रोतमा पानीको उपलब्धतामा कमी, जल स्थानान्तरण तथा जलाशययुक्त बहुउद्धेश्यीय आयोजनाहरुको कार्यान्वयनमा ढिलाई हुँदा सिंचित क्षेत्रफलको करिब ३३ प्रतिशत जमीनमा मात्र बार्ह्रै महिना सिंचाइ सुविधा पुगेको अनुमान उक्त सर्वेक्षणले गरेको छ ।

यसरी हेर्दा कुल खेतीयोग्य जमिनको जम्माजम्मी १८ प्रतिशत क्षेत्रफलमा मात्र बर्षैभरि सिंचाइ सुविधा पुगेको देखिन्छ । सिंचाइ संरचनाहरु निर्माण भएका स्थानहरुमा समेत कुलोमा पानी उपलब्ध हुनका लागि मनसुन नै कुर्नुपर्ने वाध्यता रहेको छ ।

यस परिपेक्षमा धान उत्पादन मनसुनमा निर्भर हुनपर्नु हाम्रो बाध्यता रहन गएको छ र अनुकुल मनसुल हुँदा धान उत्पादन वृद्धि हुनु र मनसुन प्रतिकुल हुँदा उत्पादनमा ह्रास आउनुलाई अन्यथा मान्नुपर्ने अवस्था छैन । सन् १९८० देखि २००५ सम्म २५ वर्षको मनसुनी वर्षात र धान उत्पादनको तथ्याङ्कलाई विश्लेषण गर्दा धान उत्पादन र मनसुनको उतारचढाव एकै प्रकारको पाउन सकिन्छ  ।

चित्र २. बार्षिक औषत मनसुनी वर्षा र धान उत्पादनको सम्बन्ध

मनसुन अलावा अन्य उत्पादनका साधनहरुको महत्व

धान उत्पादनका लागि मनसुनका अलावा अन्य उत्पादन सामग्रीहरु पनि उतिक्कै जरुरी पर्दछ । सिंचाईको सुनिश्चितता हुने हो र धानबालीलाई पानीको तनाव रहेको समयमा आवश्यक मात्रामा सिंचाईको व्यवस्था गर्न सक्ने हो भने वर्षे धानका अलावा चैते धान र बोरो धान समेत गरि वर्षको २ वा ३ सिजन सम्म धान उत्पादन गर्न सक्ने जातहरु नेपाल मै विकास समेत भैसकेका छन र यसको लागि मनसुनमै निर्भर रही रहनुपर्ने देखिदैन ।

तर उपयुक्त मनसुनले मात्र धान उत्पादनमा वृद्धि भएको भने पक्कै होइन । धान उत्पादन नेपालमा मनसुनको निर्भर रहेको भएता पनि हालका दिनहरुमा जलवायु परिवर्तनले गर्दा मनसुनमा हुने उतारचढावका बाबजुद पनि उत्पादन वृद्धि भएको देखिन्छ ।

विभिन्न सुख्खा सहने, डुबान सहने जातहरुको विकास, रोग प्रतिरोधी जातहरुको प्रयोग र हाईब्रिड बिउहरुको परिक्षण र सिफारिस र किसानहरुले उक्त जातहरुको प्रयोगमा भैरहेको वृद्धिले धान उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ ।त्यसो त हालका दिनहरुमा भन्दा २०४०/४१ सालतिर मनसुनि बर्षा राम्रो हुने गरेको भएता पनि धानको उत्पादकत्व हेर्ने हो भने उक्त समयमा १ मे टनरहेक्टर को हाराहारीमा मात्र रहेको थियो।

१९६० ताकाँ दक्षिण यसिया विशेषता भारतबाट शुरु भएको हरित क्रान्तिको नेपालमा समेत प्रभाव परेको छ । ज्ञढटट मा कृषि सामग्री कम्पनी लिमिटेडको स्थापना पश्चात नेपालमा रसायनिक मलको आयात र उपयोगको क्रममा वृद्धि भएको हो । सो पश्चात सरकारले रसायनिक मलमा निरन्तर रुपमा अनुदान उपलब्ध गराउदै यसको उपलब्धतामा वृद्धि गर्दै आइरहेको छ भने धानखेतीको सिजनमा मलको आपूर्ती सहज गर्ने गरि मलको खरिद प्रकृया मिलाउने गरेकोले समेत धान उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

यद्यपी अनुदान रकमको सिमितताका कारण कृषकहरुको माग अनुसारको प्रयाप्त रसायनिक मलको प्रबन्ध गर्न नसकिएकोले उत्पादनमा आशातित वृद्धि हुन सकेको छैन । मन्त्रालय मार्फत अनुदानमा वितरण भएको रसायनिक मलको कुल परिमाण चित्र ३ अनुसार रहेको छ ।

चित्र ३. बार्षिक रुपमा रसायनिक मलको बिक्रि परिमाण

त्यसैगरि धान उत्पादनमा उन्नत जातहरुको सिफारिस र प्रसारले समेत महत्वपूर्ण योगदान पुर्याएको छ । १९६६ मा सिफारिस भएको ताइचुङ्ग जातको धानले नेपाली कृषकहरु बिच निकै लोकप्रिय रह्यो ।

करिब ७ मे टन प्रति हेक्टर उत्पादक्तव क्षमता भएका ताइचुङ्ग १७६, ताइनान १ चाइनान १ र चाइनुङ्ग २४२ जातका धानहरु मध्य पहाड र उपत्यकाका लागि सिफारिस गरिएको र त्यही जातहरु ताइचिन धानका रुपमा हाल सम्म प्रचलित रहेका छन भने १९६८ मा तराइका लागि सिफारिस गरिएको करिब ४ मे टन प्रति हेक्टर उत्तपादकत्व भएका IR-8, १९७२ मा IR-22 र IR 20, १९७३ मा मसुली र जया, १९६९ मा सिफारिस भएको सावित्रि, १९८४ देखि १९९० को बिचमा मध्य पहाडका लागि सिफारिस भएका ५ देखि ७ मे टन प्रति हेक्टर उत्पादन क्षमताका Khumal Series अन्तर्गतका खुमल ३, २, ४, ५, ७, ९ को प्रयोगले त्यस अवधिमा धानको उत्पादनमा उल्लेखिय योगदान पुर्याएको पाइन्छ ।

१९९१ देखि १९९५ बिचको अवधिमा तराइका लागि सिफारिस गरिएका राधा सिरिजका राधा ७ राधा ४ राधा ११ र राधा १२ जातका धानहरु पनि कृषकहरुले रुचाएका जातहरु हुन । १९९९ मा ७।८ मे टन प्रति हेक्टर उत्पादकत्व भएका खुमल ६ र २००२ मा सिफारिस भएको खुमल ११ करिब ८.२ मे टन प्रति हेक्टर उत्पादकत्व भएका धानहरुका जातहरु हाल सम्म पनि काठमाडौं उपत्यकाका कृषकहरुले अत्याधिक रुचाएको र उत्पादनमा उल्लेखिय वृद्धि गर्न सहयोग पुर्याएका छन ।

त्यसैगरि जुम्ला लगायतका उच्च पहाडी चिसो हावापानी भएका क्षेत्रहरुका लागि सिफारिस भएका छोमरोङ्ग, चन्द्रनाथ १ र ३ जातका धानहरुले उक्त क्षेत्रको उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका छन भने जलवायु परिवर्तनको असरलाई सहन सक्ने किसिमले सुख्खा सहन गर्न सक्ने धानका जातहरु क्रमश सुख्खा धान १, २ र ३ २०११ मा र सुख्खा धान ६ २०१४ मा सिफारिस गरिएका हुन ।

त्यसैगरि तराईमा अत्याधिक वर्षाका कारण धानखेतीमा हुने नोक्सानीलाई कम गर्न डुवान सहन सक्ने जातहरु सुवर्ण सव १, साँवा मसुली सव १ पनि सिफारिस भएका छन् । पछिल्लो समयमा २०१८ मा धानका नयाँ जातहरु सुख्खा र डुवान दुवै सहन सक्ने र उत्पादकत्व समेत ५ भन्दा बढी रहने बहुगुणी धान १ र बहुगुणी धान २ गरि २ वटा नयाँ जातहरु सिफारिस भएका छन् ।

आगामी दिनमा यि जातहरुको प्रयोगले प्रतिकुल मौषममा पनि धान उत्पादनमा वृद्धि हुने देखिन्छ ।२०१० मा लल्का बासमती र २०१७ मा सुगन्धित धान १ पनि सिफारिस गरिसकेको छ ।स्थान विशेषको उपयुक्तता अनुसार विभिन्न हाइब्रिड जातका धानका विउहरु समेतको परिक्षण पश्चात पन्जिकरण गर्ने कार्यहरुबाट हाइब्रिड धानको उपयोगमा वृद्धिसंगै धान उत्पादनमा उल्लेखिय वृद्धिमा सहयोग पुगेको छ ।

त्यसैलागि हर्दिनाथ तरहरा चैते लक्ष्मी विन्देश्वरी मल्लिका परवानिपुर र ऋज् द्धछ जातका धानको सिफारिस पश्चात मनसुनमा बाहेक पनि चैत धानको उत्पादन तर्फ कृषकहरु आकर्षित हुदै गएको देखिन्छ ।हाल कुल धानखेती गरिएको क्षेत्रफलको ८० प्रतिशत भन्दा बढी क्षेत्रफल उन्नत जातले ढाकिसकेको छ ।विभिन्न उन्नत जातहरु सिफारिस भएका वर्षहरु र धान उत्पादनको अवस्था चित्र ४ मा देखाइएको छ ।

चित्र ४. विभिन्न उन्नत जातहरुको विकास क्रम र धान उत्पादन अवस्था

विगतमा चामलको अलावा गहुँ, मकै, कोदो, फापर मिलाएर खाने प्रचलन रहेकोमा हालका दिनहरुमा आएर भात मात्र खाने प्रवृतिको विकास हुदै गैरहेको छ । विगतमा तुल्नात्मक रुपमा बढी मूल्य जाने बाली भएकाले धान बिक्रीबाट हुने आम्दानीले घर खर्च चलाउने परिपाटीले बजारयोग्य परिमाणमा धान रहने हुँदा १९६० देखि १९८५ सम्म नेपालबाट धान निर्यात हुने गरेको थियो ।

बढ्दो जनसंख्या संगै बढेको खाद्यान्नको माग र घटेको खेतीयोग्य जमिनको क्षेत्रफल साथै १९९० पश्चात औपचारिक रुपमा वैदेशिक रोजगारीको शुरुवात संगै भित्रिएको रेमिटयान्सले मानिसहरुको बानीमा आएको परिवर्तन अनुसारको दरमा उत्पादन वृद्धि हुन नसकेकाले चामल आयातमा वृद्धि भैरहेको यथार्थ नै हो ।

यसैले तत्कालिन समयमा धान निर्यात हुने मुलुक हालका दिनहरुमा चामल आयात गर्नुपर्ने अवस्थामा आएको छ । त्यसैगरि प्रति व्यक्ति चामल खपतमा समेत उल्लेखिय वृद्धि भैरहेको छ ।१९८० को दशकमा करिब १ करोड ५० हजार रहेको नेपालको जनसंख्यालाई आधार मान्दा प्रति व्यक्ति चामलको उपलब्धता करिब १७० केजी रहेकोमा सन २०१७ को प्रक्षेपण अनुसार लगभग २ करोड ९० लाख ६० हजार जनसंख्यालाई हालको उत्पादन र आयात समेत जोडेर गणना गर्दा करिब २११ केजी उपलब्धता देखिन्छ । यसरी सर्सर्ती हेर्दा प्रति व्यक्ति चामलको खपत निकै बढी हुने गरेको पाइन्छ ।

चित्र ४. जनसंख्या वृद्धि र प्रति व्यक्ति खाद्यान्न उपलब्धताको अवस्था

खेतीयोग्य जग्गाको घट्दो अवस्था

जनसंख्याको वृद्धिले खाद्यान्नमा मागमा वृद्धिसंगै बसोबासको लागि खेतीयोग्य जमिनहरु घडेरीमा परिणत हुने क्रम समेत तिब्र रुपमा बढ्दै गएको छ । साथै पुर्खयौली सम्पत्तीका रुपमा हुने जग्गाको बाँडफाडले २००१ मा प्रति परिवार ०.८ हेरपरिवार रहेको औषत जमिनको क्षेत्रफल सन २०११ मा आइपुग्दा ०.६ हे मा घट्न पुगेको छ भने प्रति परिवार औषतमा ३ वटा कित्ता रहदा प्रति कित्ता ०.२ हे क्षेत्रफल रहेको कृषि गणना २०११को तथ्याङ्कले देखाउछ।

अधिकांश खेतीयोग्य जमिनहरु प्लटिङ्ग गरेर बाँझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न सकिएको छैन । श्रमशक्तिको अभावमा धान उत्पादनको लागतमा समेत वृद्धि हुदै गैरहेको छ । यसरी घट्दो उत्पादनयोग्य जमिनले गर्दा धानबाली लगायत सबै कृषिजन्य बाली / वस्तुहरुको उत्पादनमा प्रमुख चुनौतीको रुपमा देखिन थालेको छ । काठमाडौ उपत्यकाका अत्यन्तै उर्बर धान खेती हुने जमिन हुन वा मुलुकका अन्य क्षेत्रहरु पनि दिनानुदिन घडेरीमा परिणत हुने क्रमको तिब्रताले उत्पादन वृद्धिको लक्ष्य हासिल गर्न सहज नहुने देखिन्छ ।

निष्कर्ष
कृषि विकासका कार्यहरु आज लगानी गरेको भोली प्रतिफल देखिने क्षेत्र होइन । कृषि प्रसारका माध्यमबाट कृषकहरुको ज्ञान सीप र क्षमतामा परिवर्तन गरि उनीहरुको आनीबानीमा परिवर्तन गरि खेती प्रणाली सम्बन्धी बर्षै पुराना तोर तरिकाहरुलाई परिवर्तन गर्दै उन्नत प्रविधि मैत्री बनाउनु आफैमा चुनौतीपूर्ण कार्य हो ।

त्यस अलावा भूमिको वैज्ञानिक वर्गिकरण मार्फत कृषियोग्य भुमिहरुको क्षेत्र निर्धारण गरि अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गर्ने गरि भू-उपयोग ऐनको व्यवस्था साथै धान उत्पादन हुने क्षेत्रहरुमा बर्षैभरि सिंचाइको सुविधा उपलब्ध हुने व्यवस्था हुन सकेमा धान खेतीमा मनसुन माथिको निर्भरता कम गर्दै बर्षे र चैते धानको उत्पादन वृद्धिको सुनिश्चितता मार्फत आत्मनिर्भर हुने राष्ट्रिय लक्ष्य हासिल गर्न सकिनेछ ।

कृषि मन्त्रालयका पूर्वसचिव डा‍. जिसी  विश्व खाद्य संगठन, दक्षिण एसिया तथा प्रशान्त क्षेत्रीय कृषि निर्देशनालयमा कृषि निर्देशकको रुपमा  कार्यरत  हुनुहुन्छ । योे १६ औं धान दिवस २०७६ को अवसरमा लेखिएको लेख हो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!