कोरोनाको असर : कुखुरा आधा सस्तो मूल्यमा पनि बिकेन, तरकारी किन्नै सकिएन

  • 1K
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

पर्वत। मोदि गाउँपालिका वडा नम्बर ०६ का लक्ष्मण रिमालले कुखुरा पाल्न थालेको झण्डै दुई वर्ष भयो । ३ लाखको लागतमा ८०० कुखुरा पाल्न सक्ने गरी सुरु गरेको फर्मबाट रिमालले आम्दानी पनि राम्रै गर्नुभएको थियो । चार/चार सय चल्ला हाल्न सक्ने गरी दुईवटा खोर बनाउँनुभएका रिमालले २० देखि २५ दिनको फरकमा दुबै खोरमा कुखुरा हाल्दै आउनुभएको थियो । २० देखि २५ दिनको फरकमा हालेका कुखुरा ४५ दिनभित्र बिक्रि गर्दा खोर ब्यवस्थापन र सरसफाइको काम पनि राम्रोसँग चलेको थियो ।

३५ दिनमा बिक्रिका लागि तयार हुने बोइलर कुखुरालाई खोरमा हालेको ४५ दिनभित्र बिक्रि गरिसक्दा आम्दानी पनि राम्रै भइरहेको थियो । रिमालका अनुसार ८०० कुखुराको लागत खर्च कटाएर बिक्रि गर्दा पनि कम्तीमा ८० देखि ९० हजार रुपैयाँ नाफा हुन्थ्यो । कुखुरा बिक्रिका लागि पनि कुनै समस्या थिएन् । कुखुराका चल्ला, दानालगायत अन्य सामाग्री ल्याउने सप्लायर्सले नै कुखुरा बेच्ने जिम्मा लिदै आएको थियो ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) का कारण सृजित समस्याले भने रिमालको कुखुरा पालन ब्यवसाय चौपट हुन लागेको छ । सामान्य अवस्था भएको भए गत चैतदेखि यता उहाँले ३ लहट कुखुरा आफ्नो खोरबाट बेचिसक्नु हुन्थ्यो । यसबाट उहाँलाई कम्तीमा २ लाख ४० हजार रुपैयाँ नाफा पनि आएको हुन्थ्यो । तर, कोरोनाका कारण भएको समस्याका कारण त्यो सम्भव भएन । मुस्किलले एक लहटका कुखुरा बेच्नुभएका रिमाललाई दोस्रो लहटमा हालेका ४ सय कुखुरा बेच्न पनि समस्या भएको छ ।

‘चैतदेखि भएको लकडाउनका कारण त्यो बेला हालेका कुखुरा बिक्न मुस्किल भयो, त्यही भएर यसपालि ४ सय कुखुरा मात्र हालेको थिए । ८० दिन कटिसक्यो, अहिलेसम्म मुस्किलले १ सय कुखुरा बिक्यो होला, त्यो पनि निक्कै सस्तो रेटमा’– रिमालले भन्नुभयो । ‘फागुनमा हालेको ८ सय कुखुरा बैशाखसम्म बेच्दा सरदर ५० हजार नाफा भएको थियो, तर अहिले त पूरै घाटामा जानी भइयो’– रिमालले दुखेसो गर्नुहुन्छ । ‘चाडपर्वको सिजन पनि छ, लकडाउन पनि सकियो अब त ब्यवसायले पहिलाको जस्तै लय समात्ला भन्ने सोचेको थिए, तर अझै पनि कोरोनको असरले छोडेको रहेनछ– रिमाल भन्नुहुन्छ, अझै यस्तै भयो भने त भोकै परिन्छ होला ।’ सप्लायर्सले ८० दिन हुँदा पनि कुखुरा लान मान्दैनन्, खोरमा कुखुराले अब दाना हैन रिनमा खोजेको पैसा खाइरहेका छन्’– निक्कै भावुक मुद्रामा देखिनुभएका रिमाल भन्नुहुन्छ ।

कोरोना संक्रमण भन्दा पहिला पर्वतमा जिउँदो कुखुराको मूल्य खोरमा नै २२० भन्दा बढी थियो । फ्रेस मासु ३८० रुपैयाँसम्म बिक्रि हुन्थ्यो । तर कोरोना संक्रमण यता जिउँदो कुखुरा १४० रुपैयाँ किलोमा पनि नबिकेको रिमालको गुनासो छ । आधा भन्दा सस्तोमा पनि कुखुरा बेच्न सकिएन अब पाल्ने कि नपाल्ने सोच्नुपर्ने बाध्यता भयो–रिमाल भन्नुहुन्छ ।

लामो समय भारतमा रोजगारीका लागि जानुभएका रिमाल पछिल्लो ३ वर्षयता नेपालमा नै कृषि पेशा अगाल्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिकामा रिमाल कृषि फार्म दर्ता गरेर गाई, भैँसी पालन सुरु गर्नुभएका रिमालले पछिल्लो वर्षबाट कुखुरा पाल्न पनि सुरु गर्नुभएको थियो । रिमालको ब्यवसायबाट परिवारसहित अन्य दुई जनाले पनि रोजगारी पाइरहेका छन् ।

दुध पनि बिकेन !

कृषि फार्ममार्फत गाई, भैँसी पनि पाल्दै आउनुभएका रिमालको गोठमा अहिले माउ गाई, भैँसी गरेर १० वटा रहेका छन् । यीमध्य ५ वटा गाई, भैँसीले अहिले दैनिक १५÷२० लिटर दुध दिदै आएका छन् । अहिले यही दुधले पनि बजार नपाएर समस्या भएको उहाँको भनाई छ ।

पहिला-पहिला घरबाट नै १० लिटर दुध बिक्थ्यो अहिले त्यस्तो छैन् । डेरीमा लगेर छोड्दा पनि पहिलाको जस्तो मूल्य पाइएको छैन । रिमाल भन्नुहुन्छ– ‘तर दुधका लागि कुखुरो जस्तो समस्या भने छैन् । बिकेन भने पनि घरमा नै राखेर त्यसबाट घ्यू निकाल्दै आएको उहाँ बताउनुहुन्छ ।’

कुखुराको माग नै छैन कसरी उठाउने ?

कुखुरा किन्दै आएका सप्लायर्स पनि कोरोनाका कारण थलिएको बजार उठाउन समस्या भएको बताउँछन् । किसानहरुले कुखुरा पाल्नुभयो बेच्नु पनि पर्छ । तर बजारमा मासुको माग नै छैन कसरी कुखुरा उठाउने । मासु खपत हुने मुख्य स्रोत भनेको होटलहरु हुन, जुन लामो समयसम्म बन्द भए र अहिले पनि पूर्ण रुपमा सञ्चालनमा आएका छैनन् । जसले गर्दा मासुको माग आएको छैन्, सप्लायर्सहरु भन्छन् ।

तरकारीमा पनि कोरोनाको असर

पर्वतको कुश्मा नगरपालिका ११ का भुपेन्द्र पौडेल पनि लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएको छ । ‘५ जनाको परिवार पालनका लागि उहाँलाई यो पेशाले अहिलेसम्म खासै समस्या भएको थिएन । उमेरले ३ बीस काटिसकेका पौडेलले टाउकोमा हात राख्दै भन्नुहुन्छ– कोरोनाका कारण अहिले निकै समस्या भएको छ।’ पौडेलको बरिमा अहिले फुल्दै गरेका टनेलमा फल्ने टमाटार र हुर्कदै गरेका काउली छन्। नेपालमा कोरोना देखिएपछि भएको लकडाउनमा उहाँको बारीमा फलेका झढडै ६०–७० हजारका बन्दागोपी र भेन्टा त्यसै खेर गए । ‘लकडाउनमा त लगेर खाइदेउ भन्ने मानिस पनि पाइएन’ पौडेलले भन्नुभयो– त्यत्रो दुख गरेर लगाएको तरकारी फाल्न प¥यो ।

कोरोना आयो त्यसलाई रोक्न लकडाउन भयो, लकडाउनमा बिक्रि गर्न तयार भएको तरकारी बेच्न नपाएपछि पौडेलले लामो समय तरकारी लगाउनुभएन् । लकडाउन खुलेको केही समयपछि मात्र उहाँले बारीमा काउली र बन्दा लगाउनुभएको छ । २ वटा टनेलमा मात्र टमाटार रोप्नुभएको छ । अहिले दिनहुँ तरकारी खोज्दै आउने गरेको पौडेलले बताउनुहुन्छ । ‘बारीमा बेच्न तयार भएको तरकारी कुँहेर गयो, अहिले नबिके घरमा नै खान्छु भनेर लगााएको तरकारी किन्न आइराख्छन ।’ पौडेल भन्नुहुन्छ । किसानलाई केही गरे पनि सुख छैन् ।

सन्तुलित बजार नै भएन

‘बारीमा तरकारी फल्दा कहिले बिक्दैन, कहिले मूल्य नै पाइदैन ।’ पर्वतको खरेहाका अगुवा किसान लक्ष्मीकान्त शर्मा भन्नुहुन्छ – किसानले कती मेहनत गरेर उत्पादन गर्छन, ब्यापारी सित्तैमा लान खोज्छन, उपभोत्ता फेरी त्यसैलाई महँगोमा किन्न बाध्य हुन्छन् ।

लामो समय सरकारी सेवामा जागिर खाएर पेन्सन निस्कुनुभएका शर्मा भन्नुहुन्छ– ‘जब सम्म बजारलाई सन्तुलित बनाउँन सकिदैन, त्यो बेलासम्म नेपालको कृषि बिकास सम्भव पनि छैन र किसानको जीवनस्तरमा पनि सुधार ल्याउन सकिदैन।’


  • 1K
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares
error: Content is protected !!