खेतबारीमा रासायनिक मल कति हाल्ने ?

  • 907
  •  
  •  
  •  
  •  
  •  
    907
    Shares

शालिकराम घिमिरे ।
अधिकांश किसानहरुले रासायनिक मलको अन्धाधुन्द प्रयोग गरेको पाईन्छ । रासायनिक मलको प्रयोग गर्दा बालीको लागि सिफारिस गरिए बमोजिम गर्नुंपर्दछ । सिफारिस गरिए अनुसार प्रयोग गरेमा यसले माटोको उर्वराशतिमा खासै असर गर्दैन । हरेक बालीका लागि सिफारिस अनुपातको हिसाब कृषि विज्ञहरुले गर्दछन् । बिभिन्न ठाउँका किसानहरुसँगको कुराकानी र अध्ययनका आधारमा अनुपातको हिसाबमा गरिएको सिफारिसलाई नै किसाहरुले मलको मात्राको रुपमा लिएको र त्यहि आधारमा मलको प्रयोग गरेको पाईएको छ । यसमा प्राविधिकहरुको पनि कमजोरी छ भन्दा फरक नपर्ला ।

मलको मात्रा कति प्रयोग गर्ने भन्नेबारे किसानहरुलाई प्रष्टसँग बुझाउनु पर्र्ने हो तर सो हुन सकेको छैन् । अधिकांस प्राविधिकहरु पनि यो विषयमा जानकार छैनन । राम्रो उत्पादन लिनका लागि आवश्यक मात्राको मल उपलब्ध हुन जरुरी हुन्छ । यसै कुरालाई मध्यनजर राखी सामान्य रुपमै बुझ्न सकिने तरिकाले मलको मात्रा थाहा पाउने बारे जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

उदाहरणका लागि एक हेक्टर सिंचित जमिनमा धानबालीका लागि मलखादको मात्रा १०० : ३०:३० सिफारिस गरिएको भनेको नाइट्रोजन (N) १०० केजी, फस्फोरस (P) ३० के.जी. र पोटासियम (K) ३० केजी हो । तर यहाँ सामान्य रुपमा १०० के.जी. युरिया, ३० के.जी. डीएपी र ३० के.जी. पोटास हो भन्ने कुरा किसानहरुले बुझ्दै आएका छन् । यो बुझाइ गलत हो किनभने अहिले नेपालमा उपलब्ध ५० केजी डीएपीको बोरामा फस्फोरस मात्र नभएर त्यसमा नाइट्रोजन  को मात्रा पनि हुन्छ । जसको कारण ३० केजी फस्फोरस (P) सिफारिस भएको ठाउँमा ३० केजी डीएपी प्रयोग गर्दा फस्फोरसको मात्रा मिल्दैन । तपाई हामीलाइ यो थाहा हुनुपर्छ की डीएपीमा फस्फोरस मात्र नभइ नाइट्रोजन पनि हुने हुँदा फस्फोरसको लागि डीयपी प्रयोग गर्दा नाइट्रोजन पनि उपलब्ध भइरहेको हुन्छ ।
                                                                       रासायनिक मलमा पाइने विभिन्न तत्वको अनुपात

मलको किसिम नाइट्रोजन ( %) फस्फोरस (%) पोटासियम (%)
डीएपी १८ ४६
युरिया ४६
म्युरेट अफ पोटास ६०

 

 

आवश्यक मलको मात्रा कसरी पत्ता लगाउने ?साधारणतया आवश्यक मलखादको मात्रालाई अनुपातको रुपमा दिइएको हुन्छ जसको प्रयोगका लागि देहाय बमोजिमको सुत्र प्रयोग गरि आवश्यक मलको मात्रा निकाल्न सकिन्छ ।
आवश्यक मलको मात्रा  (के.जी.) = प्रति हेक्टर सिफारिस मलको मात्रा × क्षेत्रफल (वर्गमिटर) /मलमा पाइने खाद्य तत्वको प्रतिशत मात्रा × १००

आवश्यक नाइट्रोजननको लागि
अब, उदाहरणको लागि यदि, कुनै बालीको सिफारिस गरिएको मलखादको मात्रा १००:३०:३० के.जी. प्रति हेक्टर ( ३० कठ्ठार२० रोपनी ) छ भने कुन कुन मल कति प्रयोग गर्नु पर्दछ भन्ने कुरा तल देखाइएको छ ।
माथिको सुत्रानुसार,
डीएपी = ३‍०× १०००/४६× १००   =६५.२१ के.जी
यहाँ,
३०     = सिफारिस गरिएको फस्फोरसको मात्रा
१०००० = १ हे. वर्ग मि.मा
४६ ‍ ‍= डी. ए. पी. मा उपलब्ध फस्फोरसको मात्रा
यसको मतलब माथि सिफारिस गरिएको फस्फोरस  को मात्रा पुर्याउन ६५.२१ के.जी  डीएपी प्रयोग गर्नु पर्दछ । अर्थात ६५.२१ के.जी  डीएपी बाट मात्र ३० के.जी फस्फोरस उपलब्ध हुन्छ ।

फस्फोरसका लागि प्रयोग गरिएको डीएपी बाट १८ % नाइट्रोजन जाने हुँदा, उक्त डीएपीबाट उपलब्ध नाइट्रोजनको मात्रा =६५.२१ × १८ % = ११.७३ के.जी. ।

यसको मतलब हामीले माथि प्रयोग गरेको डीएपीबाट ११.७३ के.जी नाइट्रोजन गइसकेको हुन्छ । अब सिफारिस अनुसार १ हेक्टर (१०००० वर्ग मिटर) को लागि १०० केजी नाइट्रोजन चाहिन्छ । सो मध्ये ११.७३ केजी डीएपीबाट प्राप्त भइसकेको छ, अब बाँकी चाहिने नाइट्रोजन भनेको १०० केजी – ११.७३ के.जी.  = ८८.२७ के.जी. मात्र हो जुन युरियाबाट दिनुपर्छ ।
कृषि सामाग्री संस्थानले उपलब्ध गराउने युरियामा ४६ प्रतिशत नाइट्रोजन उपलब्ध हुनेहुँदा ४६ केजी नाइट्रोजन १०० केजीबाट प्राप्त हुन्छ ।
आवश्यक युरिया = ८८.२७ × १०००० /४६ × १००   = १९१.८९ के.जी.
तसर्थ माथिको सिफारिस बमोजिम नाइट्रोजनको आवश्यक मात्रा पुर्याउन १९१.८९ के.जी. युरिया प्रयोग गर्नुपर्दछ ।

त्यसैगरी माथीको सिफारिस अनुसार आवश्यक पोटासियमको मात्रा
म्युरेट अफ पोटास =३० × १००००/६० × १००   = ५० के.जी.

माथिको सिफारिस बमोजिम पोटासियमको आवश्यक मात्रा पुर्यारउनको लागि ५० के.जी. पोटास प्रयोग गर्नुपर्दछ ।
तसर्थ NPK को मात्रा १००:३०:३० केजी प्रति हेक्टर सिफारिस गरिएको बालिको लागि प्रयोग गर्नुपर्ने युरिया, डीएपी र पोटासको मात्रा तल तालिकामा दिएको छ ।

क्षेत्रफल युरिया डीएपी पोटास
१ हेक्टर १९१.८९ ६५.२१ ५०
१ रोपनी ९.५९ ३.२६ २.५
१ कठ्ठा ६.३९ २.१७ १.६६

 

 

हामी सबैले बुझ्नुपर्ने कुरा भनेको कुनै पनि मलखादको बोरामा मलखाद अनुपातमा उपलब्ध हुन्छ । त्यसलाई मात्राको रुपमा लिनु हुँदैन । अर्थात सरल भाषामा भन्ने हो भने बजारमा उपलब्ध ५० के.जी. युरियाको बोरामा ४६ प्रतिशतमा २३ केजी नाइट्रोजन हुन्छ । त्यसैले ५० केजी नाइट्रोजन प्रयोग गर्ने ठाउँमा ५० के.जी. युरिया प्रयोग गरेर पुग्दैन । जसको फलस्वरुप आवश्यक मलखाद अपुग भई हुनुपर्ने जति उत्पादन हुँदैन । अन्धाधुन्दा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको छ । रासायनिक मलको मात्रा मिलाएर प्रयोग गर्न सकेमा दिगो रुपमा उत्पादन बढाउन सकिन्छ ।

लेखक घिमिरे कृषि तथा बन विज्ञान विश्वविधालय, रामपुर चितवनमा कृषि संकाय अन्तर्गत वागवानी विज्ञान विभागमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।


  • 907
  •  
  •  
  •  
  •  
  •  
    907
    Shares
error: Content is protected !!