रुपन्देहीका युवा जुटे माछापालनमा

रुपन्देही – मत्स्य पर्यटनको विकास तथा माछा उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीको छपियामा भैरहवाका ४ जना व्यवसायीले व्यवसायिक पोखरी स्थापना गरी माछा पालन सुरु गरेका छन् ।

यातायातको सहज पहुँच, सुरक्षित ठाउँ, राम्रो माटो र उत्पादन राम्रो हुने भएपछि छपियामा पछिल्लो समय व्यवसायिक माछा पालनमा आकर्षण बढ्दो छ । माछा पालनमा लगानी थपिँदै गइरहेको छपियामा भैरहवाका ४ जना व्यवसायीहरुले १५ करोड लगानीमा पर्यटक लक्षित व्यवसायिक माछा पालन थालेका छन् । ८ विघा जमिनमा १० वटा १५ कठ्ठा देखि एक विघासम्मका पोखरी बनाएर मत्स्य पर्यटनको विकास गर्न र मुलुकलाई आत्मनिर्भर बनाउन माछा पालन थालिएको संचालकको भनाई छ ।

तत्कालका लागि दुईवटा पोखरीमा मात्रै माछा पालन गरिएको छ । एउटा पोखरीमा २ हजार फिङ्गर साइजका माछा पालन गरिएको छ भने अर्कोमा १५ हजार भुरा पालन गरिएको छ । सबै पोखरीमा पाछा पालन सुरु भएपछि ३० लाख भुरा हुर्काउने योजना बनाइएको छ ।

करोडौं लगानी गरेका कृषले भने सरकारी स्तरबाट कुनै पनि सहयोग नभएको माछा पालक कृषक रामप्रसाद भण्डारीले दुखेसो गरेका छन् । माछा उत्पादनको हबका रुपमा विकास हुँदै गइरहेको रुपन्देही ३ सय बढी कृषकले मत्स्य व्यवसाय गर्दै आएका छन् ।

छपियामा मात्रै करिब ४ हजार माछा पोखरी छन् । यी पोखरीमा अर्बौंको लागनी गरिएको छ ।