अभ्यासको लागि सुरु गरेको फूलखेती व्यवसायिक बनेपछि विद्यार्थी दंग

चितवन । नेपालीहरुको महान पर्व दशैं भर्खरै सकियो । लगत्तै अर्को ठूलो पर्व तिहार सुरु हुँदैछ । खानपान र रस रंगको पर्व दशैं सकिए पछि सुरु हुने रंगी विरगी फूलैफूलको पर्व तिहारले अब नेपालीको घरदैलैमा प्रवेश गर्नेछ । विशेष गरी दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रुपमा लिइने तिहारमा फूलको विशेष प्रयोग हुन्छ । तिहारको टिका पछि लगाइने मालाका कारण पनि यो समयमा फूलको माग र आयात अन्य समयको भन्दा धेरै हुन्छ ।

तिहारमा मात्र नेपालमा लाखौं रुपैयाँको फूल कारोबार हुने तथ्यांक अघिल्ला वर्षका तिहारले देखाउँछ । यी फूलको लागि नेपाल आत्मनिर्भर भने हुन सकेको छैन । तर पछिल्लो समय नेपालीहरुमा देखिएको व्यवसायिकताले भने केही आशा गर्ने आधार भने तयार गरेको देख्न सकिन्छ । यसैको पछिल्लो उदाहरण हो, चितवनको भरतपुरमा रहेको नेपाल पोलिटेक्निक कलेजमा पढने विद्यार्थीको उद्यमशिलता । यस कलेजमा अध्ययन गर्ने विद्यार्थी पछिल्लो समय पढाइसँगै अभ्यासको रुपमा व्यवसायिक कृषिमा आर्कषित हुन थालेका छन् ।

नेपाल पालिटेक्निक इन्सिच्युटमा बी.एस्सी एजी दोस्रो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीहरु सदिक्षा घिमिरे, रुप्सा तिमिल्सिना, निसा तामाङ, सन्देश सापकोटा, निश्चल तिवारी र सम्पन्न गिरिले अहिले पढाइ सँगै व्यवसायिक फूल खेती गरेका छन् । चितवनको रत्ननगर नगरपालिका जिरौना स्थित दश बिगाहा भन्ने ठाउँमा तीन कठ्ठा क्षेत्रफलमा उनीहरुले लगाएको फूल खेतीले अहिले उनीहरुलाई व्यस्त बनाएको छ । एक त तिहारको सिजन त्यसमाथी दैनिक जसो हुने विभिन्न सामाजिक कामका लागि पनि खपत हुने फूलका कारण उनीहरुको दैनिकी फेरिदै गएको छ ।

३० हजारको समान्य लगानीमा सुरु गरेको फूल खेतीबाट उनीहरुले लगभग लगानी उठाइसकेको बताउछन । पढाइसँगै अभ्यासको रुपमा सुरु गरेको फूलखेती व्यवसायिक बन्न थाले पछि भने यी विद्यार्थी दंग देखिन्थे । उनीहरुले अब यसलाई थप व्यवसायिक बनाउने सोच बनाएको बताउँछन ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!