सामान्य उत्पादन लिनको लागि दाना दिनै पर्दछ भन्ने छैन (गाईपूराँण भाग –४)

  •  
  •  
  •  
  •  
  •  
  •  

  • भण्डारी यात्री मदन

“गाई जंगलमा बस्ने प्राणी उसलाई हरियो घाँस खान दिए त दाना पनि दिन पर्दैन होला है ?” यो प्रश्न आम गाईपालक किसानले सोध्ने प्रश्न हो । हुन पनि हो घाँस खान दिए गाईको प्राय सबै आवश्यकता पूर्ती हुन्छन । किनभने थोरै मात्रामा नै सहि हरियो घाँसमा गाईलाई आवश्यक पर्ने सबै तत्वको मात्रा केहि न केहि मात्रामा हुन्छ ।

एउटा गाईलाई सामान्य अवस्थामा राख्न वा सामान्य उत्पादन लिनको लागि दाना दिनै पर्दछ भन्ने छैन । एउटा गाईलाई अघाउञ्जेल हरियो घाँस, प्रयाप्त सफा पिउने पानी र स्वस्थकर बासस्थानको व्यवस्था मिलाउने हो भने उसको समान्य उत्पादन क्षमता अनुसारको उत्पादन लिन सकिन्छ । तर के होलस्टेन गाई वा जर्सि गाई जसको दुध हामी प्रतिदिन १५ देखि ३० लिटर सम्म दुहुन्छौँ त्यसलाई पनि हरियो घाँस मात्र दिएर पुग्छ ?

गाईको तौल प्राय उस्तै हुन्छ तर उत्पादन क्षमता अलग अलग । गाईको रुमेनको आकार, शारिरिक बनोट, पाचन प्रणाली लगाएत धेरै कुरा सवै प्रजातीका गाईमा उस्तै प्राय हुन्छ । उस्तै आकारको रुमेन र उत्तिकै खान सक्ने क्षमता भएपनि उत्पादन क्षमता अलग अलग भएपछि गाईले खाने कुराको मात्रा उत्तिकै राखि खानेकुराको गुणस्तरमा वृद्धि गर्नुपर्ने हुन्छ । गाईले जिवन निर्वाह गर्नको लागि खानु र उत्पादन क्षमतालाई कायम राख्न खानु दुई फरक धार हुन् ।

गाईले दाना र घाँस राम्रो खाँदैमा उत्पादन क्षमता बढ्ने होइन बरु गाईको जति उत्पादन क्षमता हो त्यसलाई प्रस्फुटित मात्र गर्ने हो । हामी कुखुरालाई चाहिँ गीरीराज, ब्रोइलर, लेयर्स अझ ती सबैमा उमेर र उत्पादन क्षमता अनुसारको दानाको व्यवस्था गर्दछौ तर गाईलाई भने त्यस्तो कुनै सुविस्ता दिदैनौँ ।

गाईको उत्पादनलाई असर गर्ने तत्वहरु ः

  •  दाना
  •  घाँस
  •  प्रजाती वा जात
  •  स्वास्थ्य
  •  वतावरण (तापक्रम, आद्रता)
  •  व्यवस्थापन
  •  सप्लिमेन्ट
  •  व्यक्तिगत भिन्नता
  •  पुस्तेनि विवरण
  •  अन्य

 

माथिका सवै कुराले गाईको उत्पादकत्वमा फरक ल्याउने हुनाले हामीले यी सवै कुरामा आफ्नो ध्यान दिनु पर्ने हुन्छ । कम भन्दा कम खर्चमा यी सवै कुरामा ध्यान पुर्याउन सकेमा पक्कै पनि सफल भइन्छ ।

गाईको उत्पादनको कुरा गर्दैगर्दा सवैभन्दा सुरुमा आउने तत्व भनेको दाना घाँस र प्रजाती हो । मुख्य कुरा, “धेरै उत्पादन गर्न सक्ने क्षमताको गाईले सिफारिस गरिएको खाना खान पायो भने उत्पादन राम्रो लिन सकिन्छ ।”

गाईलाई असल दानामा प्रोटिनको मात्रा १७ देखि २५ भित्र हुनुपर्ने हुन्छ । धेरै प्रोटिन रुमेन हुने जनावरले पचाउन सक्दैनन । बरु प्रोटिन पचाउँदा उत्पादन हुने एसिडको कारण वस्तुमा एसिडोसिसको समस्या आउन सक्छ । तर एसिडोसिस हुने कारण अरु पनि हुन सक्छ ।
त्यस्तै दानामा काब्रोहाइड्रेटको मात्रा पनि प्रयाप्त हुनु पर्ने हुन्छ । त्यस्तै कु्रड फ्याट ४ प्रतिशत भन्दा बढी, पानीको मात्रा १२ प्रतिशत भन्दा कम, सन्तुलित मात्रामा क्याल्सियम, पस्फोरस, कपर, जिंक, आइरन लगाएतका मिनरल्स तथा भिटामिन हुनुपर्दछ ।

यदि यि सवै तत्व दानामा छैनन वा दाना सन्तुलित छैन भने दाना खुवाउनु र नखुवाउनु बिच कुनै भिन्नता हुँदैन । बरु कुनै एक तत्वको अधिक सेवनले अर्कोको सन्तुलन बिगार्न सक्दछ । जस्तै फस्फोरसको मात्रा असन्तुलन हुनासाथ क्याल्सियमको मात्रामा पनि परिवर्तन आउन सक्छ या सन्तुलन विग्रन जान्छ । धेरै प्रोटिन युक्त खाना रुमेन भएका जनावरले पचाउन सक्दैनन तर प्रोटिन नभइ पनि हुँदैन । त्यसैले कुनै पनि दाना खुवाउँदा दाना सन्तुलित छ छैन निक्र्योल गर्नु पर्दछ ।

दाना पशु आहार विशेषज्ञको सल्लाहमा बनेको हो या होइन यकिन गर्नु पर्दछ । दानामा ढुँसी लागेको, गन्हाएको, अखाद्य वस्तु मिश्रण गरिएको भए त्यस्तो दाना पनि खुवाउन हुँदैन । दानामा एक प्रतिशत भन्दा बढी युरिया पाइएमा त्यस्तो दाना पनि प्रयोगमा ल्याउन हुँदैन । दाना वा कुनै पनि खानेकुरा वस्तुलाई खुवाउँदा असामान्य रुपमा दुधमा वृद्धि हुने, दुधको गुणस्तर खस्किने, स्वाद फरक पर्ने पनि राम्रो लक्षण होइन । दाना वा अन्य खाना खुवाउँदा गाईको स्वास्थ्यमा पनि समारात्मक परिवर्तन आई विस्तारै दुधको मात्रामा वृद्धि र गुणस्तरमा पनि वृद्धि हुँदै गयो भने त्यस्तो दाना राम्रो भन्ने बुझ्नु पर्दछ ।

गाईपालक किसानले हरियो घाँस लगाउने भन्दैमा जुन पायो त्यही घाँस खेती गर्नु मुर्खता हुन्छ । किनकी व्यवस्थित तवरले कोषे एक भाग र अकोषे २ भाग गरी घाँसको खेती गरेमा गाइलाई सन्तुलित घाँसको व्यवस्था गर्न सकिन्छ । हरियो घाँसको आपुर्ति गर्न सकिन्छ भने १० लिटर भन्दा कम प्रति दिन दुध दिने गाईलाई दाना खुवाउनै पर्दछ भन्ने हुँदैन ।

दाना घाँस पछि आउने अर्को तत्व भनेको गाईको व्यवस्थापन हो यसको चर्चा हामी अर्को भागमा विस्तृत रुपमा गर्नेछौ । राम्रो जात, राम्रो गुणस्तरको दाना र घाँस दिदा दिँदै पनि व्यवस्थित गाईपालन गर्न सकेनौ भने गाईको आम्दानी भन्दा खर्च बढी हुने खतरा बढछ । उता गाईले पनि लागत अनुसारको उत्पादन नदिन सक्ने सम्भावना वृद्धि हुन्छ ।

-भण्डारी यात्री मदन कृषिडेलीका नियमित स्तम्भकार हुन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!