थोरै खर्चमा गर्न सकिन्छ स्थानीय गाईपालन (गाईपूराण-५)

  •  
  •  
  •  
  •  
  •  
  •  

  • भण्डारी यात्री मदन

फिल्डमा हिडदा धेरै पल्ट प्रश्न आउने गर्दछ, “गाई स्थानीय हो यसको दुध पनि राम्र्रै छ । न रोग लाग्ने न धेरै नै खान दिनुपर्ने । यो गाई राखौँ कि बेचौँ सर ?” यो प्रश्न सरल लाग्छ तर यो प्रश्नको उत्तर निकै गहन छ । किसान भोगेर बनेको विज्ञ हो त्यसैले कस्तो गाई पाल्न सहज हुन्छ कुन पाल्न फाइदा हुन्छ त्यसको अनुभव किसान स्वयंलाई हुन्छ । तर निर्णय लिनुभन्दा अगाडि गाईको बारेमा बुझ्नु अत्यन्तै जरुरी हुन्छ ।

गाई हामी मानिस जस्तै एक प्राणी हो । फरक यत्ति हो कि गाई चार पेट भएको जनावर हो । थोरधेर दुध दिने आमा हुनुको गुण हो । अनि महत्वपुर्ण कुरा गाईले आफ्नो बच्चाको लागी दुध उत्पादन गर्दछ । त्यसैले त बच्चा ठुलो हुने समय आएपछि गाईको दुधको उत्पादन विस्तारै घट्न थाल्दछ । थोरै नै दुध दिए पनि प्राकृतिक शरिर बिरामी नै पर्दैन भन्ने होइन । तर आयातित र हाइब्रिड जात भन्दा स्थानिय जातिका गाईमा रोग प्रतिरोधि शक्ति बढी हुने कुरा भने सत्य हो । सामान्य वा निकै प्रतिकुल मौसममा मौसम अनुसारकै घाँसपातमा आफ्नो उत्पादन दिने स्थानिय गाई संरक्षण र उचित अनुसन्धानको अभावमा आज लोप हुने स्थितिमा पुगिसकेका छन् ।

आजकल हामीले भन्दै आएका होलस्टेन जातका गाई २००० वर्ष अघि नेदरल्यान्ड बाट आयातित गाई र अमेरिकन गाई विच क्रस गराएर निकालिएको हो । त्यसबाट पनि धेरै दुध दिने गाईलाई छनोट गरी अमेरिकामा तत्कालिन अमेरिकन दुधको माग पुरा गर्न सकिएको थियो ।
क्रसब्रिड जनावरको रोग प्रतिरोधात्मक शक्ति यसै पनि कम हुन्छ । त्यसमा पनि धेरै उत्पादनशिल भएको कारण उसले धेरै जसो खाएको कुरा दुध उत्पादनमै खर्च हुन्छ । उपयुक्त दाना पानी र घाँस नदिएमा गाई झन झन कमजोर बन्न पुग्छ र अन्त्यमा अनुत्पादक बन्दै मृत्युलाई प्राप्त हुन्छ ।

त्यहि ठाउँमा स्थानिय गाई पाल्यो भने औषधि उपचारमा त लगभग शुन्य खर्च हुन्छ । गाईको उत्पादन कम भएता पनि घरमै उपलव्ध सामाग्री बाटै पालन गर्न सकिन्छ । त्यसैले लामो समय देखि स्थानिय गाईलाई नै धेरै उत्पादनशिल बनाउन सकिन्छ कि भनेर नेपाल सरकारले आफ्नो निकायलाई उक्त जिम्मेवारी दिएको छ । तर त्यसबाट अपेक्षित नतिजा निस्कन सकेको छैन । यसो भन्दै गर्दा सरकारका आजसम्मका काम निरर्थक भने छैनन् । सवै अनुसन्धानले भोलिको जग बलियो बनाउन भुमिका निर्वाह गर्नेछन ।

स्थानीय गाईको वर्णशंकर जातले राम्रो दुध दिनुको साथै रोग प्रतिरोधि शक्ति पनि हुने भएको हुनाले यसलाई हाम्रो दैनिक जिवनसंग जोडन सकिन्छ । घरमा सामान्य हेरचाहको भरमा दुध उत्पादन गर्न यस्ता गाई निकै फाइदामन्द हुन्छन । किनकि यस्ता गाईलाई औषधि उपचारमा पनि खासै खर्च गर्नुपर्दैन । प्रतिकुल बातावरणमा पनि राम्ररी घुलमिल हुन सक्दछ ।

नेपालका स्थानीय गाई ७ प्रकारका छन् । लुलु गाई, अछामि गाई, सिरी गाई, खैला गाई, याक नाक, पहाडी गाई र तराई गाई नेपाली माटोमा उत्पत्ति भएका मानिन्छन । यद्यपी यिनिहरुको उचित संरक्षण र खोज अनुसन्धानको अभावमा लोप हुने अवस्थामा छन । यी मध्ये सवैभन्दा बढी अर्थात ४.५ लिटर प्रति दिन औषत दुध उत्पादन गर्ने गाई सिरी जुन नेपालको पुर्वी जिल्ला ईलामको रैथाने मानिन्थ्यो अहिले लोप भइसकेको मानिएको छ ।

यदाकदा नेपालका स्थानीय जात आँफैमा क्रस ब्रिडिङ भएर वा आयातित गाईका जातसंग क्रस भएर राम्रो दुध उत्पादन गर्ने क्षमता राख्दछन । तर नेपालको परिप्रेक्षमा गाईको वंशावली राख्ने सम्बन्धि किसानलाई धेरै जानकारी नहुँदा गाईको वास्तविक गुण पत्ता लगाउन र त्यसबाट अझ विकसित जाति निकाल्न कठिनाई भएको पाईएको छ ।

त्यसैले आयातित गाईमात्र राम्रा हुन्छन भन्ने भनाई पुरा गलत हो । अझ खास कुरा त के भने सरकारले यस्ता रैथाने जातलाई अझ विकसित बनाउन आफ्नो रणनीति बनाउन पर्दछ र बनाएको पनि छ । यस्ता काममा समय लाग्नु स्वाभाविक नै हो । यद्यपी देशको राजनीतिक तथा आर्थिक अस्थिरताका कारण अपेक्षित नतिजा नआएको पनि उत्तिकै सत्य हो ।

यसो भन्दै गर्दा एउटा किसान जसले आफ्नो जिवनको कमाई वा सम्पति गाई व्यवसायमा लगानि गरेको हुन्छ उसले यस्ता रैथाने गाई पालेर आफ्नो व्यवसाय धरापमा पार्न चाहदैन र पार्दैन । बरु लगानी बढे पनि पुरा व्यबस्थाका साथ उन्नत किसिममा गाईपालन गरी छोटो समयमा पैसा आर्जन गर्न चाहन्छ । विकसित वा उन्नत गाईपालन अति नै संवेदनशिल पेशा हो । कोहि पनि मानिस यदि आफ्नो पेशालाई पुरा समय र लगानी सहित नयाँ प्रविधि र व्यवस्थापनमा जान चाहँदैन उसले उन्नत किसिमका गाई पालेर कुनै पनि फाइदा लिन सक्दैन । बरु दिन प्रतिदिन घाटा बेहोर्नु पर्दछ ।

त्यसैले व्यवसायीक गाईपालन गर्ने हो या सामान्य जिवनयापनको निम्ति गाईपालन गर्ने हो यसको निक्र्योल गरी सोहि अनुसारको गाईपालन गर्नु बुद्धिमानि हुन्छ । आधुनिक गाईपालन गर्छु भनेर गाईको जात, दाना, घाँस, गोठ, व्यवस्थापन आदि मध्ये कुनै एक पाटो मात्र समातेर हिडने हो भने घाटा बेहोर्नु नै पर्ने हुन्छ । बरु सवै कुरा बुझेर थोरै संख्या नै सहि सवै पक्षमा उत्तिकै ध्यान दिन सके गाईपालनमा सफल हुन सकिन्छ ।

-भण्डारी यात्री मदन कृषि डेलीका नियमित स्तम्भकार हुन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!