काठमाडौं । सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँन कृषि सेवालाई सर्वसुलभ र पारदर्शी बनाउने भएको छ । जसका लागि कृषि सेवामा डिजिटल प्रणालीको विकास गर्ने सरकारले जनाएको छ ।
कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण समेत गरिने सरकारले जनाएको छ ।
शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। त्यस्तै, क्वारेनटाइन र प्रयोगशाला सेवाको स्तर उन्नति, नेपाल कृषि अनुसन्धान परिषद्लाई पुनर्संरचना गरी किसानमैत्री र नतिजामैत्री बनाइने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
दुग्ध पदार्थ, ऊन, मासुजन्य वस्तुको उत्पादन र निर्यात गर्ने पनि कार्यक्रम रहेको छ। यी बाहेक नेपालमा पशुपन्छीलाई आवश्यक पर्ने खोप उत्पादन पनि गरिने बताए।