हिउँद तथा वसन्त याममा मकै खेती र सफलता उन्मुख स्वदेशी हाईब्रिड मकै

  • 392
  •  
  •  
  •  
  •  
  •  
    392
    Shares

मकै नेपालको प्रमुख दोश्रो अन्नबाली हो । मानिसको खाना, पशुपंक्षीको दाना भनेर चिनिने मकै अरु बाली भन्दा बहुउपयोगी अन्न बालीको रुपमा लिइन्छ । हामी मकै खाजा, खाना, बेबी कर्न तरकारी तथा सूप बनाई खाने गर्दछौं । गाई बस्तुको लागि हरियो र सुकेकोे घाँस तथा पशुपंक्षीका लागि दानाको रुपमा प्रयोग हुन्छ । सुकेको ढोंड बाल्न, छेकबार बनाउन तथा छापोको रुपमा पनि प्रयोग हुन्छ । यसबाट औद्योगिक उत्पादन ग्लुकोज, खाने तथा इन्धन तेल समेत उत्पादन हुन्छ । अण्डा, मासु, दुध उत्पादनमा दानाको र दानामा अत्याधिक अंश रहने मकैको महत्वपूर्ण योगदान रहँदै आएको छ । साँस्कृतिक महत्वको चर्चा गर्न पर्दा दशैंमा मकैको जमरा लगाउने गरिन्छ । औषधिय गुण हुने मकैको च्याँख्ला सुगरका बिरामीलाई उपयोगी मानिन्छ भने बोली बस्दा मकैको गेडा मुखमा राखी चुस्दा आवाज खुल्ने र घोगामा रहने जुँगाको चिया बनाई सेवन गर्दा पिसाब नलीको संक्रमण, पिसाब सम्बन्धि समस्या र प्रेसरका बिरामीहरुलाई लाभप्रद हुन्छ भने खोया पकाई निस्केको रस पिउदा समेत लाभदायक हुन्छ ।

नेपालको कृषि तथ्यांक, ०७५/७६ अनुसार ९,५६,४४७ हे. मा खेती भएको मकैको उत्पादन वार्षिक २,७१३,६३५ मे.टन रहेको छ । पछिल्लो समयमा पशुपंक्षीको दानामा भएको मकैको प्रयोगमा  उल्लेख्य बृद्धिसँगै आन्तरिक उत्पादन अपर्याप्त हुँदा छिमेकी मुलुकहरुबाट १२/१३ अरबको मकै आयात हुँदै आएको छ । अतः मकैको आयात प्रतिस्थापन गर्न मकैको उत्पादन बृद्धि गर्न जरुरी छ । नेपालको वर्तमान सरदर राष्ट्रिय उत्पादकत्व २.८४ मे.टन प्रति हेक्टर रहेकोमा उन्नत जात र प्रविधिको उपयोग गर्दै वर्षे मकैको उत्पादकत्व बढाउन सक्ने र हिउँद तथा बसन्त याममा मकै खेती बिस्तार सँगै उत्पादकत्व र उत्पादन बढ्न सक्ने प्रशस्त सम्भावना रहेको विज्ञहरुको भनाई छ । नेपालमा हिउँदे तथा वसन्ते सिजनमा १,२५,००० हे. क्षेत्रफलमा मकै खेती हुन्छ र यसको बढी भाग पूर्वी तथा मध्य तराईमा पर्दछ ।

परम्परागत मकै वर्षे याममा खेती गरिदै आएकोमा मकैलाई चाहिने उत्पादन वातावरण मिलाएर वर्षैभरी मकै खेती गर्न सकिने प्रविधि बिकास भएसँगै २ दशक यता नेपालमा हिउँद तथा वसन्त याममा मकैको खेती हुने गरेको छ । उत्पादन बातावरणमा पनि तापक्रम र पानीको विशेष महत्व रहन्छ । मकै ०° देखि ४३° से. सम्म बाँच्ने ५° देखि ३५° सेन्टिग्रेडसम्म सामान्य बृद्धि हुने भएता पनि  राम्रो बानस्पतिक बृद्धिका लागि १७° देखि ३३° सेल्सीयस तापक्रम आवश्यक हुन्छ । मकैलाई चाहिने तापक्रम वर्ष भरिनै उपलब्ध भएपनि वर्षै भरी मकै लगाउन फुल फुल्ने/धान चमरा आउने समयमा १०° से. भन्दा कम र ४०° से. भन्दा बढी तापक्रम हुने समय छल्ने गरी मकै लगाउन पर्दछ ।  हिउँद तथा वसन्त याममा मकै लगाउन सिँचाई र पानी नजम्ने प्राङगारिक पदार्थयुक्त हलुका दुमट माटो आवश्यक पर्दछ । वर्षा याममा भन्दा हिउँद याममा मकै पाक्ने अवधि बढी हुने र कम तापक्रम हुँदा बिरुवाले खाना उत्तिकै बनाए पनि श्वासप्रश्वास क्रियामा शक्ति कम खर्च हुँदा विरुवाले बनाएको खाना बढी गेडामा परिवर्तन हुने हुँदा तुलनात्मक रुपमा बढी उत्पादन हुन्छ । हिउँदमा झारपात, रोग र किराको प्रकोप कम हुने तथा बर्षामा भन्दा बाक्लो लगाउन सकिने भएको हुँदा पनि मकैको हिउँदमा बढी उत्पादन हुन्छ ।

नेपालका पूर्वी तथा मध्य तराईमा हिउँदमा गहुँ तथा अन्य हिउँदे बाली छोडी किसानहरु मकै खेतीमा आकर्षित भएको पाईन्छ भने पश्चिमी क्षेत्रका दाङ्ग, बाँके, बर्दिया, कैलालीमा पनि सिंचित क्षेत्रमा शुरु भएको पाईन्छ । बारा, चितवन र पूर्वी नवलपरासी जिल्लाहरुमा केही किसानहरुले हिउँदमा हाईब्रिड मकैको उत्पादन प्रति कठ्ठा ३ क्विन्टल सम्म लिने गरेको  पाईन्छ । मध्य पहाडी क्षेत्रमा भने खेत जग्गामा धान अघि कहिकहि उदाहराणर्थ काभ्रेप्लान्चोक, रामेछाप, सिन्धुली  जिल्लामा वसन्त कालीन मकै सानो क्षेत्रमा लगाउन शुरु गरीएको छ ।

सम्भावित खाद्य संकट र खाद्यान्न आयात न्यूनीकरणका लागि सम्बद्ध सरोकारवालाले आगामी हिउँदे तथा वसन्त याममा सिंचित खेती हुँदै आएको र बाँझो जग्गामा पनि मकै खेती बिस्तार तथा प्रवद्धन कार्यक्रम संचालन गर्न योजना बनाउन साथै किसान समुदाय मकै खेतीबाट आफ्नो जमिनको उत्पादकत्व बढाउन तत्पर हुनपर्ने देखिन्छ । पूर्वी र पश्चिमी क्षेत्रमा सुक्ष्म हावापानीमा केही फरक हुने हुँदा आ–आफ्नो स्थान अनुसार हिउँदे मकैका लागि तराई तथा भित्री मधेशमा भाद्र १५ देखि मंसिर १५ सम्म र वसन्ते मकैका लागि माघ १५ देखि फाल्गुण महिनाभर तथा मध्य पहाडका बेशीमा रहेका खेतमा माघ अन्तिम हप्तादेखि फाल्गुण १५ सम्म वसन्ते मकै लगाउन सकिन्छ ।

मध्य पहाडमा लगाइने वसन्ते मकैका लागि खुल्ला सेचिँत जात चाँडो पाक्ने अरुण १, अरुण २, अरुण ४, अरुण ६ वा हाइब्रिड मकै लगाउन सकिन्छ । त्यस्तै तराई तथा भित्री मधेशमा हिउँद र वसन्त याममा राम्रो उत्पादनशिल हाईब्रिड मकै लगाउन पर्दछ । बर्णशंकर (हाईब्रिड) मकै बीउ उपलब्ध नभए रामपुर कम्पोजिट जात लगाउन उपयुक्त हुने भएता पनि बसन्त याममा भने चाँडो पाक्ने खुल्ला सेचित जात अरुण २, अरुण ४, अरुण ६ पनि लगाउन सकिन्छ ।

रामुपर हाईब्रिड –१०  मकैका घोंगा

नेपालमा २ दशक देखि हाईब्रिड मकै खेतीले पूर्वी तथा मध्य तराई र भित्री मधेशमा ब्यापकता पाएको देखिन्छ र प्रायः हिउँद र बसन्त याममा यसको खेती गर्ने गरिएको छ । पछिल्ला वर्षहरुमा वर्षेयाममा र मध्य पहाडी क्षेत्रमा पनि हाईब्रिड मकै लगाउन शुरु गरिएको छ । खुल्ला सेचित (OPV) मकैको सँग सँगै नेपालमा हाईब्रिड मकैको बिकासको पनि काम शुरु भए सँगै २०६१ सालमा पहिलो गौरब हाईब्रिड मकै सिफारीस भएको थियो । त्यस्तै २०६९ सालमा रामपुर हाईब्रिड २, २०७१ सालमा खुमल हाईब्रिड मकै २ (मध्य पहाडका लागि) , २०७३ सालमा रामपुर हाईब्रिड ४ र रामपुर हाईब्रिड ६ सिफारीस भयो ।

खुमल हाईब्रिड २ को सिमित बीउ उत्पादन बाहेक प्राईभेट क्षेत्रमा हाईब्रिड मकै बिउ उत्पादन कार्य अगाडी बढ्न सकेन । नेपालमा विकास भएका हाईब्रिड मकैका जातहरु बाह्य मुलुकबाट आयातित हाईब्रिड सरह उत्पादनशिल भए पनि नेपालमा बिउ उत्पादन हुन नसक्दा किसान समक्ष ब्यापकता पाउन सकेको छैन । मकै खेतीका लागि सिफारिस भएका खुल्लासेचित जातहरु भन्दा हाईब्रिड मकै बढी उत्पादनशिल हुने, रोग किरा कम लाग्ने, बढी मल सहन सक्ने भएकाले हिउँदे तथा वसन्त याममा किसानहरु हाईब्रिड मकै लगाउन प्रेरित हुँदै आएका छन् । साथै बिस्तारै वर्षे याममा पनि हाईब्रिड मकै लोकप्रिय हुदै गएको अबस्थामा नेपालमा हाईब्रिड मकैको बिउ उत्पादन नहुँदा किसानहरु बाहिरबाट आयातित हाईब्रिड मकै लगाउन बाध्य छन् ।

अन्तराष्ट्रिय गहुँ तथा मकै बिकास संस्था (CIMMYT)/एशियामा तातो सहन सक्ने मकै (HTMA) आयोजनाको सहकार्यमा राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम चितवनमा संचालित अनुसन्धान कार्य अन्तर्गत बिभिन्न परिक्षणहरुमा उत्कृष्ट देखिएका रामपुर हाईब्रिड –८ [Pedigree:  CAH-151  (Z478-2)]   र रामपुर हाईब्रिड –१० [Pedigree: CAH-153 (Z478-5)]  सिफारिसका लागि २०७३ सालमा प्रस्ताव पेश भै २०७४ सालमा पंजिकृत (रजिष्टर्ड) भयो । यी हाईब्रिड मकै बढी तातो सहन सक्ने भनी छनौट भएकाले बसन्त यामका लागि उपयुक्त भए पनि हिउँदमा समेत उल्लेख्य उत्पादन दिन सक्ने गुण रहेको छ । सरोकारवालाहरु, बिउ उत्पादक संस्था , किसानहरु  समेत बाट बढी रुचाईएकाले रामुपर हाईब्रिड –१० को  पेरेन्ट (बुवा, आमा) VL109126/CML-451 प्रयोग गरी सफल बिउ उत्पादन परीक्षण समेत सम्पन्न गरी बिउ उत्पादन शुरु भएको छ । यस हाईब्रिडको पेरेन्ट VL109126/CML-451 को उत्पादकत्व पनि सन्तोषजनक (३.५ मे.टन/हे.) रहेको छ ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम, नेपाल बिउ तथा मल योजना, बिउ उत्पादन कम्पनीहरुको सहकार्यमा यस वर्ष देशका महारानीझोडा कृषक समुह झापामा ४, गोरखा सिड कम्पनी चितवनमा ५.८, रा.म.वा.अ.का. रामपुर चितवनमा २, लुम्बिनी सिड कम्पनी भैरहवामा ११, सियान सिड दैलेखमा ४.५ तथा यूनिक र पंचशक्ति सिड कम्पनी धनगढीमा २.७ गरी जम्मा ३० मे.टन रामुपर हाईब्रिड मकै –१० को बीउ उत्पादन भएको छ र अहिले उपलब्ध छ । वर्षेनी २५०० मे.टन भन्दा बढी हाईब्रिड मकैको बिउ खपत भैरहेको र बिउको माग अझै बढ्ने सम्भावनाका बिच ३० मे.टन बीउ उल्लेखनिय नभएता पनि आगामी वर्षदेखि क्रमिक रुपमा उत्पादन बढाउदै जाने सम्बद्ध पक्षबाट प्रतिवद्धता आएको राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमले जनाएको छ ।

लामो समयको प्रतिक्षा पछि यस वर्षदेखि केहि किसानले नेपाली हाईब्रिडको मकै बिउ पाउने छन् र आउँदा दिनमा बिउ उत्पादन बढ्दै गई बिउ आयात प्रतिस्थापन हुन सकोस भन्ने किसान समुदाय लगायत सम्बद्ध सबैको अपेक्षा रहेको छ । यस सन्दर्भमा कृषि अनुसन्धानमा वर्णशंकर जातीय विकासलाई प्राथमिकता दिइने संघीय सरकारको चालु बर्षको नीती तथा कार्यक्रमा उल्लेख भएकाले अनुसन्धान क्षेत्र थप प्रोत्साहित र जिम्मेवार हुन जरुरी छ ।

 रामुपर हाईब्रिड मकै–१० को बिउ उत्पादनको प्रारम्भिक सफलता सँगै दिगो हाईब्रिड बिउ उत्पादनका लागि बिउ उत्पादक कम्पनी तथा सँस्थाहरुले बिउ उत्पादन गुणात्मक तथा उल्लेख्य रुपले वृद्धि गर्न र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट बिउ उत्पादकलाई सहयोग पुग्ने प्राविधिक तथा पूर्वाधार विकासका प्रोत्साहानरुपि कार्यक्रम अघि बढाउन जरुरी छ ।

उत्पादकत्व ८.० मे.टन प्रति हेक्टर भएको, घोगा सम्म र बोटको उचाई अनुपात ०.४ भएको, बाली पाकेपछि पनि हरियो रहने, ठूला (१००० सिड ताैल ४०० ग्राम) र सेमि ल्फिन्ट गेडा तथा गेडाको रंग सुन्तले पहेंलो हुने, समुन्दी सतह देखि ७०० मि. माथी तराई– भित्रि मधेश र पहाडका बेसीमा लगाउन सकिने, लगाउने समय र स्थान अनुसार १२० देखि १६० दिनमा बाली तयार हुने जस्ता राम्रा गुण रामुपर हाईब्रिड मकै –१० मा बिद्यमान छन् ।

रामुपर हाईब्रिड –१०  मकैका वोट

हिउँद तथा बसन्त याममा रामुपर हाईब्रिड मकै –१० लगायत अरु हाईब्रिड मकै खेती गर्दा कृषक बर्गले ध्यान दिनपर्ने मुख्य बुँदाहरु

१. सुनिश्चित सिँचाई सुबिधा हुन पर्ने र माटोमा रहेको चिस्यान अनुसार पटक पटक सिँचाई गर्न पर्ने ।

२. पानी नजम्ने प्राङ्गारिक पदार्थयुक्त हलुका दुमट माटो भएको जग्गा खेतीका लागि छनौट गर्ने ।

३.  मकै लगाउदा ६० से.मि. दुरीमा लाईन बनाई बोट बोटको दुरी २५ सेन्टिमिटरमा लगाउने ।

४.सन्तुलित मल ना.फ.पो. १६०:६०:४० के.जी. प्रति हेक्टर वा डी.ए.पी. ४.४, युरिया १०.० र म्यूरेट अफ पोटास २.२ के.जी. प्रति कठ्ठा प्रयोग गर्ने ।  डी.ए.पी. पोटास र डी.ए.पी. बराबर युरिया लगाउने समय र बाँकी युरियाको आधा मकै घुँडा घँडा अग्लो हुँदा र आधा मकै पसाउने समयमा टपड्रेस गर्ने ।

५. झारनाशक बिषादी मेट्रिबुजिन १ ग्राम प्रति लिटर पानीमा राखी मकै लगाएको ३ दिन भित्र र १५ देखि २० दिनमा वा कार्फेन्ट्राजोन ०.३ ग्राम प्रति लिटर पानीमा राखी मकै लगाएको २०–२५ दिनमा  प्रयोग गरी वा यान्त्रिकरणको प्रयोग वा मानिस श्रमबाट २५–३० दिनमा गोडमेल गरी झार नियन्त्रण गर्ने ।

६. समय समयमा अनुगमन गरी रोग किरा नियन्त्रण गर्ने । विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन  (पी‍. पी. इ. सेट) लगाउने  ।

लेखक केसी सेवा निबृत्त कृषि बैज्ञानिक एवं पूर्ब राष्ट्रिय मकैबाली अनुसन्धान संयोजक हुनुहुन्छ ।


  • 392
  •  
  •  
  •  
  •  
  •  
    392
    Shares
error: Content is protected !!