समितिको सुझाव : कालिमाटीमा किसानलाई पनि स्टल राख्न दिउ

काठमाडौं – व्यापारीका मात्रै स्टल रहने कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानको पनि स्टल रहने भएको छ। व्यापारिका मात्र स्टल हुँदा उपभोक्तालाई बढी मूल्य पर्ने र किसानले पनि उचित मूल्य नपाउने समस्या भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका लागि स्टल राख्ने व्यवस्था गर्न लागेको हो।

कालिमाटीमा रहेको बेथिति हटाउन र सुधार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमा किसानका लागि केही स्टल छुट्याउने उल्लेख गरिएको छ।

सोही प्रतिवेदनमा उल्लेख भए अनुसार समितिले अहिले किसानलाई स्टल राख्न दिनेगरी गृहकार्य अगाडी बढाएको छ। समितिका अनुसार कुन ठाउँमा किसानलाई स्टल दिने भनेर अध्ययन भइरहेको छ।

‘किसानले पनि उपयुक्त मूल्य पाउन्, उपभोक्ता पनि नठगिउन् भन्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागिएको समितिको भनाई छ।

किसानले नै कालिमाटीमा स्टल राखेपछि व्यापारीसँग प्रतिस्पर्धा बढ्न गई तरकारीको मूल्य सन्तुलन हुने सरकारी अनुमान छ।

हाल किसानबाट उपभोक्तासम्म तरकारी आउँदा कम्तीमा तीन बिचौलियाले ढुवानी तथा आफ्नो नाफा राखेर बेच्ने भएकाले उपभोक्तालाई बढी मूल्य पर्ने गरेको छ।

किसानबाट सङ्कलन केन्द्रमा आउँदा एउटा, संकलन केन्द्रबाट थोकमा आउँदा दोस्रो र थोकबाट खुद्रामा जाँदा तेस्रो व्यापारीले आफ्नो नाफा जोडेपछि मात्रै उपभोक्तालाई मूल्य पर्ने गरेको छ।

Leave a Reply