प्रतिबन्धित खेसरीको दाल ठूलो परिमाणमा बरामद

बाँके, वैशाख १३ –बाँकेको कोहलपुरबाट आज ठूलो परिमाणमा अवैध खेसरीको दाल बरामद गरिएको छ ।

प्रदेश नम्बर ५ अन्तर्गतको क्षेत्रीय अनुसन्धान ब्यूरोले ठाकुरबाबा नगरपालिका–३ बर्दिया बस्ने बलबहादुर भण्डारीको ट्रकबाट दुई हजार ५०० किलो खेसरीको दाल बरामद गरेको हो । दाल बर्दियाबाट चितवन लैजाँदै गरेको अवस्थामा बरामद गरिएको अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

ट्रकसहित उक्त दाल अहिले नेपालगन्जस्थित क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ । कानूनतः खेसरीको दाल बिक्री, वितरण र उब्जाउ गर्न रोक लगाइएको छ ।