किसानलाई पेन्सनको व्यवस्था गर्ने सरकारको योजना

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने योजना अघि सारेको छ ।

मंगलबार भएको पत्रकार सम्मेलनमा कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने योजना मन्त्रालयले अघि सारेका जानकारी दिइएको हो । श्रम मन्त्री रामेश्वर राय यादवले कृषकहरुलाई पेन्सनको सुनिश्चिता गर्न र विमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताउनुभयो ।
कृषि मजदुरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली बनाइएको र टोलीको प्रतिवेदन अनुसार कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

मन्त्री यादवले मध्यपूर्वमा रहेका नेपालीहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाइमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समुन्वयमा ‘रेस्क्यु’ कार्यक्रम अघि सारिएको बताउनुभयो । मध्यपूर्व लगायतका देशमा रहेका नेपाली मजदुरहरुको अवस्थाका विषयमा हरेक अपडेट लिने काम भइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा तीनवटै मन्त्रालयहरुले ‘रेस्क्यु’का लागि योजना बनाइरहेको उहाँले बताउनुभयो ।

उहाँले श्रम मन्त्रालयका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न पूर्व श्रममन्त्रीहरुसँग बुधबार बैठक बोलाइएको पनि बताउनुभयो । पूर्व श्रममन्त्रीहरुको अनुभव साटाँसाँट गर्ने र अहिलेको कार्ययोजनाका विषयमा छलफल गरेर अगाडी बढ्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

error: Content is protected !!