किवी खेतीमा लगानीको अभाव, साना किसानको ढाड सेक्दै सहकारी

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं चार वर्ष मलेसिया बसेर आएका मेलम्चीका देवेन्द्र गुरुङले आफ्नै गाउँमा कृषि फर्म सञ्चालन गर्ने निर्णय गरे । यो निर्णयमा उनले गुरुङ गाउँका अन्य २३ जना गाउँलेलाई सहभागी गराएर हरियाली कृषक समूह गठन गरे । दुई वर्षअघि सिन्धुपाञ्चोक भोटेचौरको श्रीसिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्थाबाट ३५ लाख कर्जा लिएर उनीहरूले किवी खेती सुरु गरे ।

३९ रोपनी जग्गा सात वर्षका लागि भाडामा लिएर उनीहरूले एक हजार सात सात किवीको विरुवा रोपेका छन् । तर, खेतीमा अझै तार, पोल, थाक्रो लगाउन लगानी अपुग रहेको समूहका अध्यक्ष राजन गुरुङले बताए । किवी खेती सुरु गरेको करिब चार वर्षपछि मात्रै बजारमा बिक्री गर्न सकिन्छ । उत्पादन नभएसम्मको अवधिमा सहकारीको किस्ता र ब्याज बुझाउन धौ धौ परेको अध्यक्ष गुरुङले बताए । ‘सुरुमा हामीले १६ प्रतिशतमा कर्जा लियौँ । पछि १५ प्रतिशतमा लियौँ । चर्को ब्याजले हामीलाई किस्ता त परैको कुरा ब्याज भुक्तानी गर्न पनि गारो भएको छ । एकातिर चर्को ब्याज छ अर्कोतिर उत्पादन नै भएको छैन यस्ता अवस्थामा न त हामी ब्याज तिर्न सक्छौँ न त किस्ता नै,’ उनले भने ।

आठ वर्ष विदेशी भूमिमा मिहिनेत गरेर आएका मेलम्ची ३ खड्का छापका पुरुषोत्तम खतिवडाले विदेशको आम्दानी र सहकारीको कर्जाको जोहो गरी अजित कृषि फर्म सञ्चालन गरे । ३ सय ओटा लेयर्स कुखुरा पालेर शुरु गरेको उनको फर्ममा अहिले तीन हजार लेयर्स कुखरा छन् । त्यसका लागि उनले श्री सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारीबाट १६ प्रतिशत ब्याजदरमा एक लाख रुपैयाँ कर्जा लिए । ‘वैदेशिक रोजगारीबाट फर्कनेलाई त सरकारले सहुलियत कर्जा दिन्छ भन्ने सुनेको छु । तर, १६ प्रतिशत ब्याज भुक्तानी गर्न सहज छैन । व्यवसाय राम्रै भए पनि ब्याजको पीडा छ,’ उनले भने ।

गुरुङ र खतिवडाजस्तै सहकारीबाट कर्जा लिएर व्यवसाय गर्न चाहने अधिकांश कृषक चर्को ब्याजदरको मारमा छन् । गाउँमा बैंक पुगेका छैनन् । बैक पुगे पनि कर्जा लिने प्रक्रिया झन्झटिलो छ । त्यसमा पनि बैंकले गाउँको सम्पति धितोमा राखेर कर्जा दिदैनन् । त्यसैले मानिसहरू सहकारीमा आकर्षित छन् । सहकारीबाट छिटो र सहज प्रक्रियाबाट कर्जा पाइने भए पनि उच्च ब्याजदर व्यवसाय चलाउन गारो भएको मेलम्चीका कृषकले गुनासो गरे ।

किवी खेतीमा आकर्षित कृषक

मनग्य आम्दानी हुने देखेपछि मेचम्चीका कृषक किवी खेतीतर्फ आकर्षित भएका छन् । श्रीसिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारीले मात्रै किवी खेतीमा ७० लाख रुपैयाँ लगानी गरेको छ । कृषकले समूह नै बनाएर किवी खेती गर्न सुरु गरेको संस्थाका अध्यक्ष चौलागाईंले बताए । संस्थाले हरियाली कृषक समूह र अन्नपूर्ण अर्गानिक कृषि कम्पनीलाई किवी खेती गर्न ३५–३५ लाख रुपैयाँ कर्जा प्रदान गरेको छ ।

किवी खेतीमा लगानीको अभाव

तर, सहकारी संस्थाबाट लिएको कर्जा अपुग भएको कृषक बताउछन् । ३९ रोपनी जग्गामा १ हजार ७ सय किवी बिरुवा लगाएका हरियली कृषक समूहलाई अझै एक करोड लगानीको आवश्यकता रहेको समूहका अध्यक्ष गुरुङको भनाइ छ । तर, गाउँमा बंैकले लगानी गर्न नचाहने र सहकारीले धेरै कर्जा प्रवाह गर्न नसक्ने भए पनि व्यवसाय अप्ठ्यारोमा परेको उनले बताए । ‘अझै तारको बार लगाउनुछ । किवीको बोटका लागि थाक्रो राख्नुपर्नेछ । हामीसँग लगानी गर्ने क्षमता छैन । हामी अलमलमा छौँ,’ उनले भने ।

त्यस्तै अन्नपूर्ण अर्गानिक कृषि कम्पनीले १ सय ५९ रोपनी जग्गा भाडामा लिएर किवी खेती गरिरहेको छ । सरकारी बंैकले कर्जा दिन आनाकानी गरेपछि कम्पनीले श्रीसिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्थाबाट ३५ लाख रुपैयाँ कर्जा लिएर खेती सुरु गरेको हो । तर, किवी उत्पादन हुनका लागि केही समय पर्खनुपर्छ । उक्त अवधिसम्म खेतीका लागि थप एक करोड ५० लाख लगानीको आवश्यकता भएको कम्पनीका सञ्चालक सुन्दरप्रसाद चौलागाईंले बताए ।

‘सहकारीलाई पनि कृषि कर्जा अनुदान’

सहकारी संस्थाले बैंकबाट लिने कर्जाको ब्याजदर नै महँगो भएर चर्को ब्याजमा कर्जा प्रवाह गर्नुपरेको भोटेचौर श्रीसिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद चौलागाईं बताउँछन् । ‘सहकारी बैंकले नै हामीलाई १३ देखि १४ प्रतिशतसम्म ब्याजमा कर्जा दिन्छ,’ उनले भने । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाई भने सरकारले कृषि कर्जामा दिँदै आएको अनुदान सहकारीलाई पनि दिनुपर्ने बताउँछन् । ‘हामीले त सहकारी संस्थाबाट नै संकलन गरेको निक्षेप लगानी गर्ने हो । हामीले संकलन गर्ने पुँजीको लागत नै बढी छ,’ उनले भने । त्यसैले सरकारले कृषकका लागि घोषणा गरेको सहुलियत कर्जालगायत कार्यक्रम सहकारीमार्फत परिचालन गर्न सुझाब दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले कृषकको गुनासो उचित भएको स्विकार गरे । ‘सम्बन्धित निकायमा म यो समस्या सुनाउँछु । जतिसक्दो समस्या समाधान गर्ने प्रयास गर्नेछु,’ उनले भने । नयाँ पत्रिकाबाट


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here