गाईवस्तुुमा लाग्ने खोरेत रोगको लक्षण तथा उपचार

  •  
  •  
  •  
  •  
  •  
  •  

-सबिना पोखरेल

                                                              खोरेत : अनुभवबाट सिकाइ

खोरेत गाई, भैसी, भेडा, बाख्रा र बंगुर लगायत खुरफट्टा जनावरहरुमा लाग्ने सरुवा रोग हो । यो रोग Apthovirus नामक विषाणुबाट लाग्ने गर्दछ ।

रोग लाग्ने कारण र सर्ने माध्यम

मुख्य गरी हिउँदमा देखिने यस रोग समयमै खोरेत बिरुद्ध भ्याक्सिन नलगाईएका गाईबस्तुहरुमा देखिने गर्दछ । कमजोर जैविक सुरक्षा नै यस रोगको कारक मानिन्छ ।

गोठमा बाह्य मानिसहरुको खुला आवागमन , अन्य संक्रमित जनावरहरुसँगको संलग्नता , र रोगी जनावरहरुको र्‍याल तथा घाऊसंग लसपस भएका भाँडाकुँडा , घाँस-पराल ,पानी , गोठका कामदारको कपडा , जुत्ता, चप्पल र हावाको माध्यमबाट यो रोग फैलिने गर्छ ।

रोगका क्रमिक लक्षणहरु :

खोरेत (Foot and Mouth Disease, FMD ) भनेर विश्वभर प्रचलित छ  ।  नाम अनुरुप रोगका मुख्य लक्ष्यण्हरु पनि मुख र खुट्टामा देखिन्छन् ।

सर्वप्रथम बिषाणु को संक्रमण भैसकेपछि गाइभैसीको दूध ५०- ६०% सम्म घट्न सक्छ र तापक्रम १०४-१०६०F सम्म बढ्छ ।गाइबस्तु घासपानी नखाने, झोक्राएर बस्ने अनि बारम्बार खुट्टा उचालिरहने जस्ता प्राथमिक लक्ष्यणहरु देखाउन थाल्छन् ।

यसलगत्तै खुरका बिचमा फोकाहरू देखिने, खुर वरिपरि सुन्निएर पशुले बारम्बार खुट्टा उचालिरहने र मुख भित जताततै र जिब्रो वरिपरि फोका उठ्ने अनि जिब्रोको छाला निस्कने समस्या देखिन्छ । यसैकारण पशुले जिब्रो बाहिर निकालिरहने,दाँत किट्ने,खुट्टा झट्कार्ने र निरन्तर र्‍याल तथा फिँज चुहाईरहन्छ ।

लगभग दुई तीन दिनपछि मुख भित्रका र खुर बिच मा फोका फुटेर घाउमा परिणत हुन्छन । निरन्तर सफा गर्न नसकेका घाउ पाक्ने , किरा बस्ने , खुर फाट्ने तथा खुट्टा टेक्न नसकी बसिरहने जस्ता सम्स्या पनि मुख्यतः गर्मी याममा देखिन्छ ।

असरहरु:

खोरेतबाट संक्रमित पशुहरुमा विभिन्न्न किसिमका नकारात्मक असरहरु देखिन्छन् । दुहुना पशुहरुमा तुरुन्तै थुनेलोको समस्या देखिनुको साथै आउने १ बेत सम्म पनि दूध उत्पदनमा ह्रास आउन सक्छ ।

ब्याउने पशुहरुमा गर्भ तुहाउने र ससाना जनावरहरुको मुटुको मांशपेशीमा नकारात्मक असर पर्न गई मृत्यु समेत हुने सम्भावना हुन्छ ।यसले गर्दा किसानहरुमा आर्थिक सम्स्या आइपर्दछ।

रोगको उपचार र रोकथामः

रोग लागिसकेपछि यसलाई नियन्त्रणमा ल्याउने मुख्य अस्त्र भनेकै जैबिक सुरक्षा अपनाउनु हो।

संक्रमित पशुहरुलाई अन्य स्वस्थ पशुहरुबाट छुट्याएर राख्नुपर्छ र तिनलाई खुवाउनका साथै अन्य हेरचाह पनि छुट्टै भाँडाकुडाँ प्रयोग गर्ने र कामदार पनि छुट्टै खटाइनु पर्छ । त्यसैगरी गोठमा काम गर्ने बाहेक अरु कसैलाई पनि गोठ भित्र छिर्न दिनुहुन्न । गोठमा सबैतिर चुन छरेर गोठलाई ओभानो राख्नुपर्छ ।

विषाणु सार्न र लागेको घाउमा किरा पार्नुमा माँखा र भुसुनाहरुको मुख्य भुमिका हुनाले यिनीहरुलाई आउन नदिन गोठमा फिनेल पानी छर्नुका साथै अन्य प्रतिरोधात्मक स्प्रेहरु पनि प्रयोग गर्नुपर्छ ।

गोठ सफा गरिसकेपछि ०.२% साइट्रिक एसिड(Citric Acid) सबैतिर छर्किनाले गोठमा विषाणुको मात्रा घटाउन र सर्न नदिन पनि मद्धत गर्छ । संक्रमित पशुहरुलाई फिटकिरी पानी अथवा 1-2 ग्राम पोटासियम परम्यागेनेट (KMNO4) १० लिटर पानीमा मिसाएर सफा टालो लिई मुख गर्नुपर्छ ।

खुट्टाको घाउमा पनि दिनहु यसैगरी सफा गर्न सकिएमा घाउ चाडो निको हुन्छ | एकपटक घाउहरु बनिसकेपछि निको हुन ८ देखि १० दिनसम्म लाग्छ ।

यति मात्र नभई बिरामी पशु कमजोर भएको बेलामा खस्रो खानेकुरा केहि खान नसक्ने हुँदा भेली र चोकर अनि साथसाथै खनिज र भिटामिनयुक्त तत्व पानीमा मिसाएर जतिसक्दो दिनाले शक्ति पनि आउने र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

त्यसैगरी यो रोग लागिसकेपछि बारम्बार ज्वरो आउन सक्ने हुनाले , ज्वरो आएको खण्डमा ज्वरो घटाउने औषधिहरु प्रयोग गरिराखिनुपर्छ।  अत्याधिक शारिरिक तापक्रम बढेको बेला जुटको बोरा पानीले भिजाएर शरिरमाथि राख्न सकिन्छ ।

रोगबाट बच्ने उपायः

सर्वप्रथम रोग लाग्न नदिनु नै प्रमुख उपाय हो । यसका लागि समयनुकुल खोरेत बिरुद्धको भ्याक्सिन लगाउनु नै हो । यो भ्याक्सिन वार्षिक दुईपटक हिउँद र बर्खा याम छुट्टिने समय अगावै सचेत भएर आ-आफ्ना वडा तथा नगरपालिकामा सम्पर्क गरी सम्पुर्ण खुरफट्टा पशुहरुमा लगाईहाल्नुपर्छ ।  यति मात्र नभई गोठको सरसफाई र जैबिक सुरक्षाका विधिहरुमा रोग लागेपछी मात्र नभई सधैं ध्यान दिनुपर्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
error: Content is protected !!