‘छोरो साइन्स पढ्दैछ, उखुको पैसा आएन भने पढाइ छुटाउनुपर्छ’

सर्लाहीका रौदी महत्तोलाई हिजोआज त्यति सन्चो छैन। काठमाडौको चिसोले रुघाखोकी लागेको छ।

आराम नभएपनि उनी ११ बज्दा नबज्दै माइतीघर मण्डला पुग्छन् र ‘तीन वर्ष देखिको उखुको पैसा भुक्तानी गर’ लेखिएको पर्चा छातीमा टाँसेर उभिन्छन्।

उनी रहरले राजधानी आएका हुन् न माइतीघर मण्डलमा उभिएका हुन्।

उनी आफ्नो ३ वर्ष देखिको ३ लाख पैसा नदिने अन्नपुर्ण सुगर मिलका मालिक राकेश अग्रवाललाई भेट्न आएका हुन्।

पैसा पाउनु त परै जाओस् उनले अग्रवाललाई भेट्न समेत पाएनन्।

‘सलार्हीको अफिसमा पैसा माग्न जाँदा पैसा हालेको छैन, हामीले कसरी दिनु भन्छ, यहाँ आएर साहुको घर पत्ता लगायौं तर ताल्चा मारेको रहेछ,’ महत्तोले दुखेसो पोखे।

उखु खेती थालेको कति भयो, उनलाई स्मरण छैन। सानैदेखि उखु खेतीमा लागेको उनी बताउँछन्।

यही खेतीको भरमा उनको ७ जनाको परिवार पालिएको छ।

उनको आफ्नो जग्गा छैन। चिनी मिलका साहुले उखुको पैसा नदिदां जग्गा साहुलाई उखु लगाएको जग्गाको भाडा तिर्न सकेका छैनन्।

‘महाजनको ३ विगाह जग्गा भाडामा लिएको छु, कट्ठाको वर्षमा २ हजार बुझाउनु पर्छ। महाजनलाई जग्गाको मात्र २ लाख तिर्न बाँकी छ,’ उनले भने ‘सधै आउँछ पैसा माग्छ, छैन कहाँबाट दिनु,।’

महत्तो अहिले गाउँकै चिनजानका मान्छेको सतुङ्गल स्थित कवाडी खानामा बसिरहेका छन्।

‘होटलमा बस्न पैसा छैन, त्यही भएर त्यहाँ बसेको। कपडा धेरै ल्याएको थिएनौ, शित पनि चुहिरहन्छ, काठमाडौंको सर्दीले समात्यो,’ उनले सेतोपाटीसगँ भने।

घरबाट आउँदा ल्याएको २ हजार सकिन लाग्दा समेत उनी आफ्नो पैसा नलिइ गाउँ फर्कर्ने मुडमा देखिदैनन्।

‘श्रीमतीलाई काठमाडौं गएर पैसा लिएर आउँछु भनेको छु, खाली हात कसरी फर्कनु?,’ उनले भने ‘पैसा पायो भने जान्छु, नपाउन्जेल यही बस्छु,।’

रौदी आफुले नपढेपनि छोरा–छोरीलाई अफिसर बनाउन मन छ। पढाई राम्रो भएकोले जेठो छोरो १२ कक्षामा साइन्स पढिरहेको छ।

‘छोरोले ट्युसन पढ्न पैसा मागेको छ, क्याम्पसमा पनि तिर्नुपर्छ,’ उनले भने ‘उखुको पैसा आएन भने छोरोको पढाई नै छुटाउनु पर्छ।’ -सेतोपाटी

प्रतिक्रिया दिनुहोस

Leave a Reply